उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका अम्बरबहादुर रायमाझीले नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई ३५ सय ५८ मतले पराजित गरे । उदयपुरको हकमा ‘हेभिवेट’ मानिएका खतिवडालाई हराउने रायमाझी एमालेको प्रदेश १ सचिवालय सदस्य हुन् । २०४३ सालदेखि राजनीतिमा सक्रिय भएको बताउने रायमाझी १५ हजार २ सय ५१ मत पाएर विजयी हुँदा खतिवडा १२ हजार ८ सय ९३ मतमै सीमित भए । गठबन्धन गरी प्रतिस्पर्धामा उत्रिएका खतिवडालाई पराजित गरेका रायमाझी को हुन् ? उनको राजनीतिक पृष्ठभूमि के हो ? यसबारे रायमाझीसँग गरिएको संक्षिप्त कुराकानी ?
नेकपा एसका उपमहासचिव एवं प्रवक्तालाई चुनावमा हराइदिनुभयाे, धेरैलाई चासो छ तपाईं को हो भनेर.. काे हाे तपाईं ?
म नेकपा एमाले प्रदेश १ काे सचिवालय सदस्य हुँ । रौतामाई गाउँपालिका पुवारेमा मेरो घर छ । किसानको छोरो हुँ । पछिल्ला केही वर्षयता व्यापार/व्यवसायमा पनि संलग्न छु । श्रीमती, एक छोरा र छोरी छन् । छोरा अमेरिका बसेर पढ्दैछ । छोरीले डाक्टरी पढिसकिन् । मैले इतिहासमा स्नातकोत्तर गरेको छु । मेरा बाआमाका हामी तीन दाजुभाइ र एक बहिनी हुन् । मेरा दाइ मुर्कुचीस्थित बलबरी पुवारे स्कुलका प्रधानाध्यापक हुनुहुन्छ । म माइलो हुँ । मेरो भाइ उदयपुर सिमेन्टमा जागिर गर्छ ।
राजनीतिक पृष्ठभूमिको कुरा गर्नुहुन्छ भने म २०४३ सालमा सप्तरीको राजविराजस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सदस्य भएर राजनीतिमा लागेको हुँ । त्यसपछि पनि म भुइँतहमै बसेर काम गरेँ । तर राजनीतिमा निस्कृय भइनँ । यसै क्रममा बारम्बार गरी मैले ६ महिनाजति जेल जीवनसमेत गुजारेँ, किसानको छोरा जो परेँ । पछि साविकको रौतामाई गाउँपालिकाको गाउँ कमिटी सदस्य, अध्यक्षहुँदै प्रदेश १ एमालेको प्रदेश कमिटि सचिवालय सदस्य छु । म शैक्षिक क्षेत्रको विकासमा पनि क्रियाशील व्यक्ति हुँ । मुर्कुचीमा रहेको क्याम्पसको अध्यक्ष हुँ । मेरो पहलमा जिल्लामा शिक्षा सुधारका केही महत्त्वपूर्ण कामहरू भएका छन् ।
सत्ता गठबन्धनभित्रैको लफडाले तपाईंलाई फाइदा पुग्यो र जित्नुभयो भन्ने छ, के भन्नुहुन्छ ?
यो विल्कुल गलत हो । मैले आफ्नो काम र क्षमताले जितेको हुँ । मलाई जनताले जिताएका हुन् । तपाईंलाई थाहै छ, हारेपछि विपक्षीले जे पनि प्रचार गर्न सक्छन् । त्यसको पछाडि नलागौँ ।
यसअघि तपाईं राजनीतिक रूपमा खासै सक्रिय हुनुहुन्नथ्यो । तपाईंले जनाधार कसरी निर्माण गर्नुभयो ? जित्नुभयो चाहिँ कसरी ?
कसले भन्यो म राजनीतिक रूपमा सक्रिय थिइनँ भनेर ? मैले अघि पनि भनेँ कि २०४३ सालदेखि म विद्यार्थी राजनीतिमा सक्रिय भएको मान्छे हुँ । यसबीचमा मैले राजनीतिक आन्दोलनमै लाग्दा जेलनेलसमेत भोगेको छु । किसानको छोरा हुँ, ग्राउण्डमै रमाएँ । चर्चामा छैन भनेर म राजनीतिमा सक्रिय नै थिइनँ भन्न त मिल्दैन होला नि ?

तपाईं ठेकेदारी पृष्ठभूमिको मान्छे, जनतालाई कसरी रिझाउनुभयो त ?
म नेकपा एमालेको एक इमानदार नेता वा कार्यकर्ता, तपाईं जे मान्नुहोस् । पार्टीको सिद्धान्त र विचारअनुसार जनतामाझ रहेर काम गरेको मान्छे हुँ । तपाईंले भनेअनुसार मेरो व्यावसायिक पृष्ठभूमि निर्माण व्यवसाय हो । यसबाहेक अन्य व्यापार/व्यवसाय गर्नु मेरो जीवन चलाउने आधार हो । यसो भन्दैगर्दा मसँग विचार नै छैन भन्ने हुँदैन । मैले मेरो पार्टीको विचार, कार्यदिशालाई जनतामाझ राखेँ । उदयपुर- २ का तमाम मुद्दालाई सम्बोधन गर्ने बाचा गरेँ । अरु उम्मेदवारभन्दा मेरा योजना र भिजन मतदातालाई कार्यान्वयनमूखी लाग्यो, त्यसैले मलाई जिताउनुभयो ।
के हुन् त उदयपुर- २ को हकमा तपाईंका मुद्दा ?
थुप्रै छन् । मूलतः शिक्षा र स्वास्थ्यक्षेत्रको सुधार र रोजगारी सिर्जनाका लागि संसदमा रहेर खेल्नुपर्ने भूमिका म निर्वाह गर्ने छु । मूल कुरा के हो भने, पार्टीको एजेण्डा मेरो एजेण्डा हो । म एमाले पार्टीमा छु, यसको मार्गनिर्देशनअनुसार म अघि बढ्ने छु । एमालेले उदयपुर- २ लाई पछि पारौँ त कहिले पो भनेको छ र ?
उदयपुरमा एमाले पार्टीका लागि खटेका अरु थुप्रै नेता थिए तर तपाईंले टिकट पाउनुभयो । एकाएक एमाले नेतृत्वलाई रिझाएर टिकट लिनुभयो भनिन्छ, खास कुरा के हो ?
तपाईंले भनेजस्तो हुन्थ्यो भने मलाई एमालेकै साथीहरूले हराइदिनुहुन्थ्यो नि ! सबै मिलेर मलाई जिताइसक्नुभयो । अब मैले यस क्षेत्रका लागि जेजस्ता बाचा गरेको छु, त्यो पूरा गर्न लाग्ने हो । यत्रो गठबन्धन गरेर आएका उम्मेदवारलाई मैले हराएको छु ।
त्यो त गठबन्धनभित्र लफडा भयो, कांग्रेसका रामकुमार राईले बागी दिएर होला नि !
यो क्षेत्रमा म आफ्ना सामाजिक कामकै कारण जित्नेमा ढुक्क थिएँ । कोही कसैका कारण हो भने, त्यो यहाँका मतदाताको कारणले मैले जितेको हुँ । अरुबारे खासै टिप्पणी गर्दिनँ ।
जगन्नाथ खतिवडालाई हराउनुभएको छ, उहाँबारे तपाईंलाई केही भन्नु छ ?
विगतमा हामी सँगै काम गरेका थियौँ । उहाँ एमालेमै हुनुहुन्थ्यो । राजनीतिक उचाइका हिसाबले उहाँ सम्मान गर्नुपर्ने नेता हुनुहुन्छ । विगतमा उहाँलाई मैले नसघाएको पनि होइन । अघिल्लो चुनावमा नै मैले उहाँलाई भनेको थिएँ, अब हाम्रो पालो आउनुपर्छ भनेर । सधैँ पछि लागेर हिँड्दिनँ भनेर । कालान्तरमा उहाँ छुट्टै पार्टी बनाएर लाग्नुभयो । म एमालेमै बसेर यसका लागि खटेँ । अहिले मैले जितेँ, उहाँले हार्नुभयो । यहाँभन्दा अरु के भन्नु ?
जगन्नाथले जितेका भए उदयपुरले २ ले मन्त्री पाउन सक्छ भनिन्थ्यो, तपाईंलाई जिताएर के पाउँछ ?
मचाहिँ मन्त्री हुन सक्दिनँ भनेर कहाँ लेखेको छ ? मलाई भोट माग्दा कतिपय साथीहरूले आगामी मन्त्रीकै रूपमा प्रस्तुत गर्नुभएको छ । पार्टीले जिम्मेवारी दिएको अवस्थामा मैले त्यसलाई नाइँ भन्न मिल्दैन । मेरो क्षमता हेरेर पार्टीले गर्ने निर्णयको कुरा हो । तर अहिल्यै मैले यो र त्यो भन्न मिल्दैन । हेरौँ के हुन्छ !
संसदमा तपाईंको भूमिका कस्तो रहन्छ ?
जनताका मुद्दा प्रखररूपमा उठाउने छु । पार्टीका नीति, कार्यदिशाप्रति निष्ठावान भएर अघि बढ्ने छु ।
तपाईंको राजनीतिक सपना के छ ?
राजनीतिक रूपमा माथि पुगौँ भन्ने सपना त हरेक राजनीतिज्ञमा हुन्छ । मेरो पनि आफ्नै होला । तर मूलतः पार्टीका नीति र योजनालाई सफल पारौँ अनि पार्टीसँगै माथि जाऔँ भन्ने नै मेरो सपना हो । हाम्रो पार्टीले लिएका नीति, कार्ययोजना सफल भएमा देश समृद्ध हुन्छ, जनता सुखी हुन्छन् । एउटा राजनीतिक कार्यकर्ताका लागि योभन्दा ठूलो सपना अरु के हुन सक्ला ?
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २३:४५