अनलाइन सर्वेक्षणमार्फत 'शिलापत्र वर्षव्यक्ति २०८०' मा प्रस्तावित उद्यमी विनोद कुँवर 'प्रमुख समाचार निर्माता २०८०’ का रूपमा चुनिएका छन् ।
वर्षव्यक्तिमा प्रस्तावित सूचीमा रहेका पाँच जनाबाट सबैभन्दा बढी मत प्राप्त गरी महिला फुटबलर सावित्रा भण्डारी साम्बा ‘वर्षव्यक्ति २०८०’ बन्दा कुँवर समाजमा आशाको सञ्चार गरेकोमा ‘प्रमुख समाचार निर्माता’ बनेका हुन् । नेपालमा केही छैन भनेर दिनहुँ युवाहरू विदेश पलायन भइरहेको समयमा अस्ट्रेलिया बसेर कमाएको ४० करोडभन्दा ठूलो लगानी उनले रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनमा लगाउँदै छन् । करिब १२ करोड खर्च भइसकेको रंगशालामा खेलसमेत हुन थालिसकेको छ ।
वर्षव्यक्ति घोषित भण्डारीले ३८ दशमलव ६ प्रतिशत मत पाउँदा कुँवरले २४ दशमलव ६ प्रतिशत मत पाए । यही सूचीमा रहेका वैज्ञानिक महावीर पुनलाई २६ दशमलव १ प्रतिशतले मत हाले । यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरेका एसएसपीद्वय दानबहादुर कार्की र मनोजकुमार केसीले ९ दशमलव ४ प्रतिशत मत प्राप्त गरे । वर्षव्यक्तिको मनोनयन, छनौट प्रक्रिया र विस्तृत नतिजा शिलापत्रले केही दिनपछि सार्वजनिक गर्ने छ ।
आउनोस् पढौं, शिलापत्र प्रमुख समाचार निर्माता २०८० बनेका विनोद कुँवरलाई, जो ४० करोडको आफ्नो लगानीलाई सानो भन्दै नेपालमा अर्बौं खर्चेर विदेशी लगानीकर्ताहरू निकट भविष्यमै क्रिकेट रंगशाला बनाउन आउने विश्वास गर्छन् ।
०००
‘राजाले रानीको सम्झनामा रानीमहल बनाए, म पनि रानीको नाममा स्टेडियम बनाइदिऊँला,’ केही समयअघि पाल्पाको रानीमहलमा आफ्नी श्रीमतीसँग खिचिएको फोटो फेसबुकमा पोस्ट गर्दै उद्यमी विनोद कुँवरले क्याप्सन लेखे । उनको त्यो पोस्ट भइरल पनि भयो । कतिले मजाक सम्झिए भने कतिले गम्भीरतापूर्वक लिए ।
तर, कुँवरले यत्तिकै हचुवाको भरमा क्याप्सन राखेका थिएनन् । उनका अनुसार मैदानको तयारी र रिसर्चको काम सबै सकिएपछि बल्ल खुलासा गरेका थिए । उनले शिलापत्रसँग भने, ‘मैले हचुवाको भरमा घोषणा गरेको थिइनँ । रिसर्च सकेर ग्राउन्ड सबै हेरिसकेपछि त्यो लेखेको थिएँ । हाम्रोमा चाहिँ पहिला बोल्ने अनि बल्ल रिसर्च गर्ने चलन छ, तर हामीले सबै सकेर निर्माणको काम सुरु हुनुअघि घोषणा गरेको हो । त्यसैले यति छिट्टै नतिजा देखिन थालेको हो ।’
घोषणालगत्तै रंगशाला निर्माणको काम पनि थालिहाले– एक्स्ट्राटेक ओभल मैदान । करिब १० महिनाअघि रुपन्देहीको तिलोत्तमामा बनाउन सुरु गरिएको क्रिकेट रंगशाला अहिले खेल्नयोग्य बनिसकेको छ । केही समयअघि मात्रै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले ब्याटिङ गर्दै मैदानको उद्घाटन गरेका थिए ।
अहिले रंगशाला हप्ताको चार दिन व्यस्त हुने कुँवरले बताए । ‘हप्तामा चार दिन त खेल नै चलिरहेको छ । लिजमा रंगशालामा खेलहरू सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘तर मैदान खेल्नयोग्य भए पनि भवन, प्यारापिट, चेन्जिङ रुम, फ्लड लाइट हाल्नेलगायतका निर्माणका काम चलिरहेका छन् । एक वर्षभित्र ५ हजार सिट क्षमतासहित यी कामहरू सक्ने योजनामा छौँ ।’
कुँवरका अनुसार हालसम्म पहिलो चरणमा लगभग ६ करोड रुपैयाँ खर्च भइसकेको छ भने दोस्रो चरणमा १५ देखि १८ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यता सरकारी तवरमा सुरु गरिएको मूलपानी क्रिकेट रंगशालालगायत अलपत्र अवस्थामा रहिरहँदा एउटा व्यक्तिको पहलमा सुरु भएको सो रंगशाला सुरु भएको ९ महिनामै खेल्नयोग्य हुनुु प्रसंशनीय काम हो ।
हुन त उद्घाटनकै समयमा यसले क्रिकेटप्रेमीहरूको उत्साहजनक समर्थन पाएको थियो । विनोदकी श्रीमतीले पनि भरपूर सहयोग पुर्याइरहेकी छिन् । दम्पती विनोद कुँवर र सुदीक्षा गौतमले ४० करोड रुपैयाँको लगानीमा बनाइरहेको सो मैदानमा पूर्वक्रिकेटर शक्ति गौचनको पनि संलग्नता छ ।
उनै गौचनले बुबाको सम्झनामा सोही रंगशालाबाट ‘छैटौँ खड्कप्रसाद गौचन मेमोरियल यू– १९ राष्ट्रिय क्रिकेट’ प्रतियोगिता पनि सम्पन्न गरे । त्यस्तै, ‘तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड कप’ पनि सोही रंगशालाबाट सम्पन्न भइसकेको छ । विनोदका अनुसार यो खेलमा सन् १९९६ देखि २०१४ सम्म विश्वकपदेखि क्वालिफायर खेलेका खेलाडी समावेश थिए ।
यसरी बनेको रंगशालाबारे गाउँलेले भने ट्रकका ट्रक माटोले बनेका साना डाँडा डोजरले सम्याउन थालेपछि मात्र थाहा पाएका थिए । विनोदका अनुसार देशले एसिया कप खेल्ने तय हुँदासम्म एउटा पनि रंगशाला नभएको सुन्दा उनलाई खुसी लागेन । फुटबल रंगशाला धेरै बने पनि क्रिकेटका लागि गतिलो रंगशाला नबनेको कुरा क्रिकेटप्रेमी कुँवरले देखेपछि उनमा यस्तो जोस जागेको थियो ।
हुन पनि मूलपानीको कुरा हामीले माथि नै गरिसक्यौँ । यता त्रिवि क्रिकेट मैदानमा पनि समर्थकले भुईंमै बसेर क्रिकेट हेर्नुपर्छ । फ्लड लाइट जडान गर्ने कुरा पनि चर्चामा आउँदै सेलाइरह्यो । धुर्मुस–सुन्तलीले सुरु गरेको मैदान ऋणमा चुर्लुम्म डुब्यो । यी सबै नकारात्मक समाचारका बाबजुद तनहुँबाट ८०० ट्रक माटो ल्याएर १० दिनमा रुपन्देहीमा भने मैदान सम्याइएको समाचारले सबैको ध्यान तान्यो । यसरी गुल्मीमा जन्मिएका विनोद यस वर्ष सर्वाधिक चर्चामा रहे ।
अस्ट्रेलियामा बसोबास गर्ने उनले त्यहाँ सुरुवाती दिनमा पनि खुब दु:ख पाएको बताउँछन् । महिनौँसम्म ट्रेन स्टेसनमै सुत्न बाध्य भएको अनुभव उनीसँग छ । तर, मिहिनेतले नै अस्ट्रेलियामा आईटी कम्पनी (एक्स्ट्राटेक) खोल्न सफल बने । त्यही कम्पनीको निरन्तरताले उनमा आफ्नै देशमा केही गर्ने हुटहुटी चल्यो ।
देशलाई चिनाइरहेको क्रिकेट खेलका लागि आफूले पनि एउटा क्रिकेट रंगशाला बनाउनुपर्छ भन्ने सोच दिमागमा आएपछि उनी नेपाल हानिएर सुरु गरेका थिए– एक्स्ट्राटेक रंगशाला । जसको ‘फलोअप’का लागि हरेक २–३ महिनामा नेपाल आइरहने उनी बताउँछन् ।
के हो वर्षव्यक्ति र समाचार निर्माता ?
बितेको वर्ष भएका घटना, परिघटना अनि कारक पात्रहरूको समीक्षाले आउने वर्ष सुझबुझपूर्ण निर्णय गर्न देशलाई सघाउ पुर्याओस् भन्ने ध्येयका साथ २०७७ सालयता शिलापत्रले वर्षको अन्तिममा 'वर्षव्यक्ति' घोषणा गर्दै आएको छ ।
गत वर्ष गतवर्ष वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत 'शिलापत्र वर्षव्यक्ति' घोषित भएका थिए ।
यसपल्ट १५ चैतदेखि १० दिनको समय राखेर विभिन्न विधामा भर्चुअल्ली मत हाल्न पाउने गरी फारम राखिएको थियो । २५ चैत राति १२ बजेदेखि भोटिङ बन्द गरियो ।
पाठकले वर्षपुस्तकका साथै एक/एक वर्षव्यक्ति, वर्षकलाकार, वर्षखेलाडी, वर्षकार्टुनिस्ट, वर्षसिनेमा र वर्षनाटकका साथै १५ समाचार निर्मातालाई मत दिन पाउने व्यवस्था मिलाइएको थियो । पाठक मतकै आधारमा वर्षनाटकसँगै वर्षखेलाडी क्रिकेटर दीपेन्द्रसिंह ऐरी, वर्षकार्टुनिस्ट रवि मिश्र, वर्षकलाकार दयाहाङ राई, वर्षसिनेमा 'जारी' र वर्षनाटक 'दमिनी भीर' घोषणा गरिसकिएको छ । वर्षव्यक्ति २०८० फुटबलर सावित्रा भण्डारी (साम्बा) बनेकी छन् । वर्षव्यक्तिको सूचीमा विनोद र सावित्रासँगै वैज्ञानिक महावीर पुन तथा संयुक्त रूपमा एसएसपीद्वय दानबहादुर कार्की र मनोजकुमार केसीलाई राखिएको थियो ।
वर्षव्यक्तिमा नचुनिएका बाँकी यस वर्षको प्रमुख समाचार निर्माता भए । शिलापत्र वर्षव्यक्ति, समाचार निर्माता र अन्य विधाको मनोनयन, छनौट र नतिजाको विस्तृत विवरण केही दिनमा सार्वजनिक गरिने छ ।
शिलापत्र वर्षान्त अभियान के हो ? वर्षव्यक्ति वा यसअन्तर्गत विभिन्न विधाका सूची कसरी तयार गरिन्छ, केलाई आधार मानिन्छलगायत जिज्ञासा भए यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० २०:४२