झापाका पाँचैवटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । झापाबाट योपटकको निर्वाचनमा ७ जना केन्द्रीय नेताको उम्मेदवारी थियो ।
झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् । उनीहरू तीनै जना केन्द्रीय राजनीतिका प्रभावशाली नेता हुन् । लिङ्देनसँग पराजय भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि प्रभावशाली नेता हुन् ।
यस्तै, भापा–१ बाट कांग्रेस महामन्त्री शर्मासँग पराजय भएका एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल पनि केन्द्रीय नेता हुन् । साथै, झापा–१ बाट विजयी भएका एमालेका देवराज घिमिरे पनि केन्द्रीय नेता हुन् । उनले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पराजय गराउँदै पहिलोपटक संसद्को यात्रा तय गरेका छन् । घिमिरेसँगै कांग्रेसका महामन्त्री पनि पहिलोपटक सांसद बनेका छन् ।
झापा– ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट छैटौँपटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौँपटक विजयी भएका हुन् ।
ओलीले ५२ हजार ३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मत मात्र पाए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरेका थिए ।
ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापा– ६ बाट निर्वाचित भएका थिए । ओली २०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।
ओली २०६४ को संविधानसभा निर्वाचनमा झापा–७ बाट पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट ओली निर्वाचित भएका थिए ।
झापा–१ : झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ घाेषणा भएकाे मतपरिणामअनुसार शर्माले ३९ हजार ६२४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।
शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई हराउँदै तेस्रो प्रयासमा सांसद बन्ने मौका पाएका छन् । विद्यार्थी राजनीतिबाट आएका शर्मा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो संसदीय प्रतिस्पर्धामा उत्रिएका थिए । झापा–१ मा एमालेका रविन कोइरालासँग उनी मात्र ६ सय मतान्तरले हारेका थिए ।
२०७४ सालको निर्वाचनमा फेरि उम्मेदवार भए, तर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता राम कार्कीसँग २ हजार ८६३ मतान्तरले हारे । योपटकको निर्वाचनमा शर्माले पपुलर मत ल्याएर संसद्को यात्रा तय गरेका छन् ।
झापा–३ : झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा दोस्रोपटक सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रोपटक प्रतिनिधिसभाको बाटो तय गरे । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट लिङ्देन उम्मेदवार बनेका थिए ।
लिङ्देनले ४० हजार ६६२ मत ल्याए भने सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत ल्याएका थिए ।
२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो ।
२०७० सालको दोस्रो सविधानसभाको निर्वाचनमा सिटौलाले लिङ्देनलाई नै हराएका थिए । २०४८ सालको संसदीय चुनावयता सिटौला झापा–३ बाट उठ्दै आएका छन् ।
झापा–४ बाट एमालेको केन्द्रीय सदस्य एलपी साँवा दोस्रोपटक निवर्चित भएका छन् । उनले नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेबेलाई दोस्रोपटक हराएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:४६