सिन्धुपाल्चोक इन्द्रावती– ८, अड्चलेकी सञ्जिता गोतामे (६ महिनाअघि) असारमा वैदेशिक रोजगारीका लागि क्रोएसिया गएकी थिइन् । उनले क्रोएसियामा भनेजस्तो पैसा कमाउन नसकेपछि रोजगारीकै खोजीमा अवैध बाटोहुँदै पोर्चुगल छिर्ने क्रममा स्लोभानियाको जंगलमा मृत्यु भएको छ ।
मंगलबार वैदेशिक रोजगारका लागि युरोपेली मुलुक प्रवेश गर्ने प्रयासमा रहेकी एक नेपाली युवतीको स्लोभानियाको जंगलमा मृत्यु भएको खबर वासुदेवलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्रोएसियाले जानकारी गराएको थियो । यी मृतक युवती वासुदेवकै जेठी छोरी सञ्जिता थिइन् ।
क्रोएसिया गएकी छोरी युरोपेली मुलुक पोर्चुगल छिर्ने क्रममा जंगलमै मृत्यु भएको खबर सुन्दा उनका बुबा वासुदेवलाई अहिले पनि विश्वास लागेको छैन । छोरी त क्रोएसिया गएकी हो तर स्लोभानियाको जंगलमा कसरी पुगी त भन्ने उनमा प्रश्न उब्जिएको छ ।
सञ्जितासँग परिवारको मंसिर – ३ गतेसम्म फोनमा कुराकानी भएको थियो । 'सञ्जिताले मसँग कुरा गर्दा अर्को देश जाने कुरा नै थिएन । एक्कासी मृत्युको खबर आएपछि मात्र अर्को देश गएको थाहा भएको वासुदेवले जानकारी दिए ।
छोरीको मृत्यु भएको खबर पाएपछि अहिले वासुदेव राम्रोसँग बोल्न पनि सक्दैनन् । सिन्धुपाल्चोकको अड्चले गाउँबाट छोरा–छोरी पढाउन सात वर्षअघि गोतामेको परिवार काठमाडौं आएको थियो ।
काठमाडौंको नारायरणटारमा किराना पसल गरेर गोतामेले चार जना छोरा–छोरी पढाउँदै थिए । कक्षा १२ सम्म पढेकी उनकी जेठी छोरी सञ्जिता वैदेशिक रोजगारीका लागि युरोप जाने भइन् । उनले जसोतसो १३ लाख रुपैयाँ खर्च गरेर छोरीलाई क्रोएसिया पठाएका थिए ।
नेपालबाट श्रम स्वीकृति लिएर क्रोएसिया गएकी सञ्जिताले राहदानी नै फ्याँकेर पोर्चुगल छिर्न खोजेको खबर उनको मृत्युपछि पाएको उनका बाबु वासुदेवले जानकारी दिए । अर्को देश जान खोज्दा छोरीले कति बिपत् भोगी होला, अनि कति कष्टका साथ मृत्यु भयो होला ? अहिले यही पिरले मन पोल्ने गरेको वासुदेव बताउँछन् । गरिबीकै कारण विदेशिएकी छोरीको कुकुर मराई भएको गुनासो उनले गरे ।
हाँस्दै 'चाँडै आउँछु' भनेर गएको अहिलेजस्तो लाग्ने गरेको उनले बताए । ‘स्लोभानियाको जंगलमा मरेको खबर आयो । क्रोएसिया जाँदा लागेको ऋण तिर्नै बाँकी थियो । ऋण पछि कमाएर तिर्न सकिन्थ्यो । छोरी जिउँदै आएको भए हुन्थ्यो,’ आँखाभरि आँसु पार्दै वासुदेवले भने, ‘पैसा कमाएर परिवार र भाइसँगै दुई जना बहिनीलाई पढाउने भनेर क्रोएसिया गएकी छोरीको लास पो ल्याउनुपर्ने भयो । देशभित्र कति काम खोजी, कतै नपाएपछि वैदेशिक रोजगारीमा गएकी थिई ।’
स्लोभानियाको जंगलमा चाहिँ छोरी कसरी पुगी या कसैले पुर्यायो भन्ने वासुदेवलाई थाहा छैन । सञ्जिता सोचविचार गरेर मात्र निर्णय गरेर हिँड्ने गर्थी । तर, एक देशबाट अर्को देशमा कसरी गई भनेर आफूलाई चिन्ता भएको उनले बताए ।
सञ्जिताको शवलाई नेपाल पठाउने तयारी भइरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्रोएसियाले जनाएको छ ।
पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगललगायत युरोपियन मुलुकहरूमा जाने क्रम बढेको र अधिकांश नेपालीहरू राहदानी फ्याँकेर र बिचौलियालाई बुझाएर अवैधानिक बाटोहुँदै पोर्चुगललगायतका मुलुकहरूमा छिर्ने गरेका छन् ।
फ्रान्सस्थित नेपाली दूतावासले राहदानी त्यागेर जिउज्यान नै जोखिममा राखेर अवैधानिक रूपमा युराेपका देश नजान नेपालीहरूमा आग्रह गर्दै आएको छ । रोजगारीका लागि युरोप पुगेका नेपालीहरू राम्रो कमाउने प्रलोभनमा युरोपकै अर्को देश छिर्न खोज्दा समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ ।
युरोप आएका धेरै नेपाली अवैध बाटो भएर अर्को देश छिर्न खोज्दा समस्यामा पर्ने गरेको फ्रान्सस्थित नेपाली दूतावासका राजदूत दीपक अधिकारीले जानकारी दिए । दूतावासले युरोपमा रहेका नेपालीहरूलाई बारम्बार सचेत गराउँदै आएको उनको भनाइ छ । युरोपमा राम्रो कमाउने प्रलोभनमा परी अरुको लहैलहैमा लागेर धेरै नेपाली फस्ने गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ २१:४१