आगामी पाँच वर्षका आफ्ना जनप्रतिनिधि छान्न ४ मंसिरमा भएको चुनावको मतगणना चलिरहेका बेला हरेक ४-४ वर्षमा हुने विश्वकप फुटवलको ट्रफीका लागि विश्वका ३२ राष्ट्रबीच प्रतिस्पर्धा भइरहेको छ ।
फुटबलको बादशाह मानिने ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेनलगायतका राष्ट्रले पहिलो खेल खेलिसकेका छन् । यी राष्ट्रमध्ये बिहीबार राति ब्राजिल र सर्वियाको खेलमा ब्राजिल २-० ले विजयी भएको थियो ।
ब्राजिल र सर्बियाको खेलमा एकपक्षीय मात्रै गोल भए पनि अन्य केही खेलमा भने पालैपालो गोल भएको थियो । यता गुल्मी १ मा चुनावी मतपरिणाम यसैगरी आएको थियो । मतगणना जारी रहेकै समयमा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीको हँसिलो फोटो सामाजिक सञ्जालमार्फत बाहिरियो । चुनावको प्रतिस्पर्धा यस्तो पो होस्, फोटोमा यस्तै खालका धेरै कमेन्ट आए ।

अन्तिम नतिजा सार्वजनिक नभएसम्म निर्वाचन आयोगले अध्यावधिक गरेको तथ्यांकमा पालैपालो तीनपटक प्रदीप ज्ञवाली र चारपटक चन्द्र भण्डारीको अग्रता देखियो ।


मतगणना सकियो । एमालेका प्रदीपले आफ्नै पार्टीको उम्मेदवार विजयी भएजस्तै गरी खुसी देखिएरै चन्द्रलाई शुभकामना दिए । र, भने- हाम्रो फुटबल चलिरहेको छ । २-२ गोलको बराबरी भयो । प्रदीपले चन्द्रलाई दाइ भन्दारहेछन् । 'दाइले जित्नुभएको छ, म खुसी छु,' प्रदीपले शुभकामना दिँदै भनेका थिए ।
चुनावी प्रचारमा होस् वा अन्य समयमा चन्द्रले पनि प्रदीपलाई उस्तै सम्मान गर्ने गरेको बताउँछन् । त्यही समयमा उनले भने, 'जनताले भोट हालेर जिताउने हो । हामी किन झगडा गर्ने ?'
प्रदीपले भनेको २-२ गोलको बराबरीको प्रसंगचाहिँ संसदीय चुनावको नतिजासँग जोडिएको छ । पछिल्लो १५ वर्षको चुनावी प्रतिस्पर्धामा चन्द्र र प्रदीपले २-२ पटक संसदीय चुनाव जितेका छन् । यही नतिजालाई लिएर प्रदीपले चन्द्रलाई २-२ गोलको बराबरी भयो भनेका हुन् ।
२०६४ सालयताका सबै चुनावमा चन्द्र भण्डारी र प्रदीप ज्ञवाली एकआपसमा चुनावी प्रतिद्वन्द्वी रहेका छन् । २०५६ सालको चुनामा तत्कालीन गुल्मी क्षेत्र नम्बर २ बाट प्रदीप ज्ञवालीले कांग्रेस उम्मेदवार चन्द्र केसीलाई पराजित गरेका थिए । त्यसयताका २०६४, २०७०, २०७४ र २०७९ मा एमालेको तर्फबाट ज्ञवाली र कांग्रेसको तर्फबाट भण्डारी उम्मेदवार बने ।
ज्ञवाली लगातार पाँचौँपटक एउटै क्षेत्रबाट निर्वाचन लड्दै गर्दा भण्डारी लगातार चौथोपटक सोही क्षेत्रमा निर्वाचन लडे । भौगोलिक हिसाबले वल्लोपल्लो गाउँको प्रतिनिधित्व गर्ने यी दुई नेता एकआपसमा कटु आलोचना गरेको भने सुनिएको छैन । एकले चुनाव जित्दा अर्कोले खादा ओढाएर सम्मान गर्ने परिपाटीसमेत यो क्षेत्रमा देखिएको छ ।
२०७० को निर्वाचनमा ज्ञवालीले हार्दा भण्डारीलाई खादा ओढाएर शुभकामना दिएका थिए । २०७४ को निर्वाचनमा भण्डारीले हार्दा ज्ञवालीलाई अबिर र खादाले सम्मान गरेका थिए । यस हिसाबले पनि यो निर्वाचन क्षेत्र उदाहरणीय निर्वाचन क्षेत्र हो ।
अर्को चाखलाग्दो विषय के छ भने यो क्षेत्रमा मतदाताले यी दुई नेतालाई पालैपालो जिताएका छन् । २०६४ सालमा ज्ञवालीले चुनाव जिते, भण्डारीले हारे । २०७० मा भण्डारीले चुनाव जित्दा ज्ञवालीले पराजय भोगे । २०७४ मा फेरि ज्ञवाली विजेता हुँदा भण्डारी उपविजेता भए । योपटक फेरि कांग्रेसका भण्डारीले चुनाव जित्दा एमालेका ज्ञवाली पराजित हुन पुगेका छन् ।
२०७४ मा ज्ञवालीले वाम गठबन्धनको बलमा चुनाव जितेका थिए । त्यसबेला एमाले र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए भने कांग्रेस एक्लै चुनाव लडेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ ०९:५८