गण्डकी प्रदेशसभामा थ्रेसहोल्ड कटाएका चारवटा दलले समानुपातिकबाट निर्धारित २४ सांसद पाएका छन् । तर, थ्रेसहोल्ड कटाए पनि तीनवटा दलले सांसद पाएनन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ । प्रदेशसभामा समानुपातिकबाट सांसद पाउन १.५ प्रतिशत मत ल्याउनुपर्छ । गत ४ मंसिरको चुनावमा गण्डकीमा ९ लाख ८५ हजार ८०२ मत सदर भएको थियो । त्यसको १.५ प्रतिशत १४ हजार ४८७ हुन्छ ।
गण्डकी प्रदेशसभाको समानुपातिक निर्वाचण प्रणालीमा ३१ दलले भाग लिएका थिए । तीमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी (लौरो अभियान), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाएका थिए । तर, हाम्रो नेपाली पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सांसद पाउन सकेनन् ।
समानुपातिकबाट २ सांसद ल्याएर राप्रपाले गण्डकी प्रदेशसभामा पहिलोपटक प्रतिनिधित्व गर्दैछ ।
किन पाएनन् सांसद ?
समानुपातिकबाट सांसद पाउन थ्रेसहोल्ड अनिवार्य कट्नुपर्छ । त्यसपछि थ्रेसहोल्ड कटाएका दलले पाएको मत निर्वाचन आयोगले ‘सेन्ट लग प्रणाली’अनुसार गुणा गर्छ । यो प्रणालीमा सबै दलले पाएको मत १, ३, ५, ७, ९, ११ जस्ता अंकले भाग गरिन्छ ।
भाग गरेपछि सबै दलले पाएको अंक तालिकामा उतारिन्छ । त्यसपछि त्यो तालिकाभर २४ नम्बरसम्मको ठूलो संख्या पाएका दलले सांसद पाउँछन् । गण्डकी प्रदेशसभामा २४ समानुपातिक सिट भएकाले सेन्ट लग प्रणालीअनुसार मत गुणा गर्दा २४ नम्बरसम्मको ठूलो अंक भएका दलले सांसद पाउने हुन् । समानुपातिक सिट संख्या सबै प्रदेशमा फरक–फरक भएकाले जति सांसद छन् त्यहीअनुसार सिट विभाजन हुन्छ ।

माथिको तालिकामा रातो रङले अंकित गरिएको नम्बर पार्टीले पाएको सांसद संख्या जनाउँछ । समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले पाएको छ भने दोस्रोमा कांग्रेसको छ । त्यसपछि ठूलो अंक एमालेकै छ । तेस्रो सांसद पनि एमालेले पाउँदा माओवादीले चौथो सांसद पाएको छ । उसले कांग्रेसले भन्दा ४ सय मत बढी पाएकाले चौथो सांसद पाएको हो ।
प्रदेशमा त्यो प्रणालीअन्तर्गत एमालेले अन्तिम २४औँ सांसद पाएको छ । उसले १९ हजार ३३७ मत पाएको छ । त्यसपछि हाम्रो नेपाली पार्टीले १८ हजार ७३७ मत पाएको छ । अर्थात् ६ सय मत कम हुँदा हाम्रो नेपाली पार्टीले गण्डकीमा सांसद पाउन सकेन ।
संगठन नै नभएको यो पार्टीले संगठन भएका एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाभन्दा बढी मत पाएको छ । समानुपातिकमा छैटौँ भएको समाजवादीभन्दा हाम्रो नेपाली पार्टीले ३ हजार मत बढी ल्याएको छ ।
कसलाई कति सांसद ?
गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक सांसद निर्वाचित हुन्छ ।
गण्डकीमा समानुपातिकबाट नेकपा एमालेले १०, नेपाली कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सांसद पाएका छन् । ६० सदस्यीय प्रदेशसभामा दलहरूको शक्ति कांग्रेसको २७, एमालेको २२, माओवादीको ८ र राप्रपाको दुई भएको छ । मनाङ २ बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी प्रवेश गरेका छन् । कानुनी प्रक्रिया पूरा गरेपछि प्रदेशमा समाजवादीको पनि एक जना सांसद हुनेछन् ।
प्रदेशमा ३१ सांसद भए बहुमत पुग्छ । गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादीसहितको गठबन्धनका ३६ सांसद भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ १७:२६