लमजुङको क्व्होलासोथर गाउँपालिका– ४, मा रहेको पर्यटकीय गाउँ भुजुङ समुद्री सतहदेखि १६५० मिटरको उचाइमा छ । यस गाउँलाई कुमारी गाउँसमेत भनेर चिनिन्छ । स्थानीयहरूका अनुसार भुजुङ १ हजार वर्ष पुरानो सभ्यता बोकेको गाउँ हो । यो गाउँ निकै मनमोहक पनि छ ।
भुजुङलाई अन्य ठाउँबाट देख्न गाह्रो हुन्छ । त्यही भएर यो गाउँ हेर्न गाउँमै पुग्नुपर्छ । अचम्म त के छ भने भुजुङ गाउँलाई गाउँकै कुनै विन्दुबाट सिङ्गो रूपमा देखिँदैन ।

यहाँका घरहरू धेरैपहिले काठले छाउने गरेको स्थानीय बताउँछन् । तर, अहिले भने यहाँका अधिकांश घरहरूको छानो ढुङ्गा र जस्तापाताका छन् । घरहरूको आँगन जोडिएको छ र गाउँ गुजुमुज्ज देखिएको छ । उच्च पहाडी क्षेत्र भएकाले हिउँदयाममा गाउँमा हिउँ पर्छ ।
यहाँको ‘घिम्चे खेत’ यस्तो खेत हो, जहाँ नेपालकै सबैभन्दा छिटो धान फल्ने पत्रकार आश गुरुङ बताउँछन् । करिब ४ सय घर रहेको गाउँ सिङ्गो परिवारजस्तै देखिन्छ । गाउँलेहरूमा एकता छ ।

भुजुङ गाउँको आफ्नै नियम/कानुन छ । मूल्य मान्यता छ । भदौको अन्तिमतिर यहाँ ‘भदौसभा’ गरिन्छ, जुन सभाले गाउँको कानुन बनाउँछ र जसअनुसार सिङ्गो गाउँ चल्ने गुरुङले बताए ।
उनका अनुसार तीनदेखि पाँच दिनसम्म हुने सभामा गाउँलेहरू सहभागी हुन्छन् । सभामा मानापाथीको मूल्य तोक्ने मात्र होइन, नापतौलसँगै स्थानीय हस्तकलाको मूल्य पनि तोकिन्छ ।
गाउँमा के गर्न पाइने र के गर्न नपाइने ? पाहुना आउँदा कसरी स्वागत गर्ने ? कसरी राख्ने ? भन्नेसम्मको निर्णय भदौसभामै हुने गर्छ । ‘अतिथि देवः भवः’ लाई यहाँका स्थानीयले चरितार्थ पारेका छन् । बाहिरका जोकोही गाउँमा आउँदा सिङ्गो गाउँ एक ढिक्का भएर स्वागत सत्कार गर्नु यहाँको संस्कार हो ।

भुजुङवासीहरू आफूहरूलाई प्रकृतिको पुजारी ठान्छन् । त्यसैले यहाँ वर्षौंदेखिको ‘गाउँ बार्ने’ चलन यथावत् छ । जसअनुसार यहाँ प्रकृतिको पूजा गरिन्छ, जतिबेला कुनै पनि काम गर्न पाइँदैन । यदि गाउँलेले कुनै काम गरे भने असिना पर्ने र गाउँमा अनिष्ट हुने मान्यता छ ।
भुजुङको पर्यटन प्रवर्द्धन गर्न अन्नपूर्ण संरक्षण आयोजनाको भूमिका रहँदै आएको छ । पर्यटन प्रवर्द्धनकै लागि दुई दशकअघि ‘गुरुङ मार्ग’ गाउँकै बीचबाट खोलिएको छ । त्यसअघि भने बेँसीशहरदेखि खुदी भएर सिम्पानी–घलेगाउँ गनपोखरा हुँदै भुजुङ पुग्ने गरिन्थ्यो ।

सडक बनेपछि भने बेँसीशहरबाट बाग्लुङ पानी, कपुर गाउँ, घले गाउँ हुँदै स्वदेशी तथा विदेशी पर्यटकहरू भुजुङ गाउँसम्म पुग्ने गर्छन् । भुजुङदेखि क्व्होलासोथर गाउँपालिकाकै– ६, मा पर्ने पसगाउँ हुँदै कास्कीको गोर्जे, थुम्सीकोट हुँदै बेगनास भएर पोखरा पनि पुग्न सकिन्छ ।
चक्रीय अन्नपूर्ण पदमार्ग बन्नुअघि यहाँ सयौँको संख्यामा पर्यटकको ताँती देख्ने गरिन्थ्यो । तर, पदमार्ग बनेपछि मनाङ–मुस्ताङ जाने पर्यटकको संख्या एकातिर बढ्दा अर्कातिर भुजुङ आउने पर्यटकको संख्यामा कमी आउन थालेको गुरुङ बताउँछन् ।

भुजुङ आउनेहरू पयर्टकहरूले खासगरी यहाँको प्रकृतिसँगै रहनसहन र संस्कृति हेर्न सक्छन् । यो गाउँलाई भिरमौरीको राजधानीसमेत भनेर चिनिन्छ । यहाँका धेरै भिरमा भिरमौरी पाइन्छ । स्थानीयहरू निगालोको चोयाबाट बनाइएको भर्याङ आकारको डोरीमा झुन्डिएर भिरमौरीको मह काढ्ने गर्छन् । मह काढ्दै गरेको दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १८:१४