बाणिज्य बैंकमा लगानी गर्नेहरुका लागि राम्रो खबर छैन । बैंकका सेयरधनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे ४ प्रतिशत कम लाभांश पाउने भएका छन् ।
बैंकहरुको नाफा घटेका कारण लाभांश कम हुने देखिएको हो । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकले नाफा बढी लिएर उद्योग व्यवसायको वातावरण विगारे भनेर उद्योगी व्यवसायीबाट आरोप लागिरहेको बेलामा बैंकहरुको नाफा घटेको तथ्यांक सार्वजनिक भएको हो ।
बैंकहरुले आर्थिक वर्ष २०७४/७५ (अघिल्लो आर्थिक वर्ष) ४९ अर्ब ९४ करोड ८५ लाख ८७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेका थिए । वितरणयोग्य नाफा भनेको बैंकहरुले गरेको नाफाबाट सेयरधनीलाई दिन मिल्ने नाफा हो ।
तर, आर्थिक वर्ष २०७५/७६ (गत आर्थिक वर्ष) बैंकहरुको वितरणयोग्य नाफा ४७ अर्ब ६७ करोड ८४ लाख ४५ हजार रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बाणिज्य बैंकहरुले २ अर्ब २७ करोड १ लाख ४३ हजार रुपैयाँ वितरणयोग्य नाफा घटाएका छन् ।

अघिकांश बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको तथ्यांकले देखाएको छ । समग्रमा बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा ४.५४ प्रतिशतले घटेको छ ।
तर, केही बैंकहरुले भने अघिल्लो वर्षको तुलनामा नाफा बढाएका पनि छन् । नेपाल बैंकले अघिल्लो वर्षको तुलनामा ४६ करोड, ग्लोबल आइएमइ बैंकले २७ करोड, एभरेष्ट बैंकले १४ करोड, एनआइसी एशिया बैंकले १ अर्ब २३ करोड, प्रभु बैंकले ६० करोड, सिद्धार्थ बैंकले १७ करोड र सानिमा बैंकले २६ करोड रुपैयाँ वितरणयोग्य नाफा बढाएका छन् ।
यस्तै नेपाल एसबीआई बैंकले २५ करोड, माछापुच्छ्रे बैंकले १२ करोड, सिटिजन्स बैंकले ६१ करोड र जनता बैंकले ३ करोड रुपैयाँ नाफा बढाएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६ २२:१७