नयाँ राष्ट्रपति चुन्न व्यवस्थापिका संसद्मा आज मनोनय दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएकाे छ । भाेलि उम्मेदवारीविरूद्ध उजुरी दिन सकिनेछ । फागुन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म नयाँ राष्ट्रपति चुन्न मतदान हुने छ ।
आयोगले राष्ट्रपति चुनावकै लागि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाे छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।
राष्ट्रपति चुनावमा संघीय संसद्का ३ सय ३३ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८३ जना मतदाता हुनेछन् । प्रदेशसभाका सदस्यको ४८ र संघीय संसद् सदस्यको ७९ मतभार हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशसभा र संघीय संसद्को मतभार अलग-अलग भएकाले निर्वाचनमा संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्र रहनेछ ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ ०६:००