प्रहरी संगठनभित्रको गुटबन्दी भुसको आगोजस्तै सल्किएको छ । यो निभ्ने संकेत छैन । जब-जब प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रसंग आउँछ, त्यो सतहमा छताछुल्ल हुन्छ ।
पूर्वडीआईजी जयबहादुर चन्द र नवराज सिलवालबीचको विवाद होस् वा पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्वडीआईजी रमेश खरेल, पूर्वआईजीपी अच्युत कृष्ण खरेल र पूर्वआईजीपी ध्रुवहादुर प्रधान, हालका आईजीपी धीरजप्रताप सिंह र तत्कालीन एआईजी विश्वराज पोखरेलबीचको विवाद नै किन नहोस्, सबै विवाद छताछुल्ल मात्रै भएन अदालतसम्मै पुग्यो ।
त्यसैको निरन्तरता फेरि अहिले देखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सोही प्रक्रियाको विवादका कारण ८ महिनादेखि बढुवा हुन सकेको छैन । ५ चैत २०५१ र भदौ २०५२ का दुई ब्याचका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीचका १७ जना डीआईजी प्रतिस्पर्धामा छन् ।
एआईजी पूजा सिंहले आइतबारदेखि एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएपछि गृह मन्त्रालयले बढुवा थालेको थियो । यसअघि उमेरहदकै कारण ४ जना एआईजी विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी र रवीन्द्र धानुकले अवकाश पाएका थिए ।
प्रहरीमा ८ एआईजीको दरबन्दी रहेकोमा ३ एआईजी मात्रै बाँकी छन् । उनीहरू सबै आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन् । उनीहरूले ११ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । पाँच एआईजीको दरबन्दीमा अशोक सिंहलाई एआईजीमा बढुवा गर्दै ११ चैतपछि आईजीपी बनाउने संकेत पाएपछि उनै ब्याचीहरू बढुवा रोक्ने चलखेलमा लागेका थिए ।
त्यसपछि सिंहले प्रहरी निरीक्षकमा भर्ना हुँदा बुझाएका कागजात नै बाहिरिए । प्रहरी कर्मचारीको अभिलेखमा उल्लेख भएका अधिकांश प्रहरी कर्मचारीको नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममितिमा भिन्नता थियो । त्यसमध्ये सिंहको अन्तर सबैभन्दा बढी छ ।
प्रहरीको अभिलेखको जन्ममिति र नागरिकताको जन्ममितिमा फरक पर्नेहरूमा एआईजी दिवेश लोहनीसहित सात जना डीआईजी छन् । लोहनीको जन्ममिति प्रहरीको सिटरोल र शैक्षिक प्रमाणपत्रमा १९ असोज २०२४ उल्लेख छ । तर, उनको नागरिकतामा भने १५ वैशाख २०२५ उल्लेख गरिएको छ ।
शैक्षिक प्रमाणपत्र र लोहनीको नागरिकताको जन्ममितिको अन्तर ६ महिना २६ दिनको छ । हाल उनी उपत्यका प्रहरी कार्यालय प्रमुख छन् । त्यस्तै, एआईजीको बढुवाको प्रतिस्पर्धामा रहेका डीआईजीहरू नलप्रसाद उपाध्याय, मसाद आलम खाँ, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण वज्राचार्य, भीम ढकाल र किरण राणाको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक–फरक उल्लेख गरिएको छ ।
जसमध्ये अशोक सिंह र भीम ढकालको जन्ममितिको अन्तर अन्यको भन्दा बढी छ । सिंहको एक वर्ष ६ महिना २४ दिनको अन्तर छ भने ढकालको एक वर्षको अन्तर छ ।
हेर्नुहोस् क-कसको छ जन्ममिति फरक ?

यी हुन् एआईजीका प्रतिस्पर्धी
एआईजीको बढुवामा ५ चैतमा २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली मुख्य प्रतिस्पर्धामा छन् । उनीहरूकै ब्याची सन्दीप भण्डारी, किरण वज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, दुर्गा सिंह र किरण राणा पनि प्रतिस्पर्धामा छन् । त्यस्तै, भदौ २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका दिपक थापा, भीम ढकाल र टेक तामाङ पनि प्रतिस्पर्धामा छन् ।
एआईजी बढुवामा प्रहरी नियमावली अनुसार एआईजी बढुवामा गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य-सचिव रहने व्यवस्था छ ।
एक वर्षभन्दा बढीको अन्तर हुँदा सिंहको राजीनामा
जन्ममितिबारे प्रहरी नियमावली २०७१ मा प्रस्ट रूपमा उल्लेख गरिएको छ । निमायवलीको परिच्छेद ११ मा अवकाश, उपदान र निवृत्तिभरणबारे उल्लेख गरिएको छ ।
यही परिच्छेदमा जन्ममितिबारेमा समेत प्रस्ट पारिएको हो । सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख गरिएकाले नागरिकता जारी भएको जन्ममिति तथा महिना र गते मान्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । जसअनुसार उनको जन्ममिति २०२४ जेठ २२ गते हुन्छ । कुनै प्रमाणपत्रमा वर्ष मात्रै उल्लेख भएको तर अर्को प्रमाणपत्रमा पूरा जन्ममिति भएको अवस्थामा कुन मान्य हुने भन्नेबारे पनि नियमावलीमा खुलाइएको छ ।

यस्तो अवस्थामा जन्ममितिको अन्तर एक वर्षभित्रको भएमा पूरा जन्ममिति उल्लेख भएको प्रमाणपत्रलाई आधिकारिक मानिने उल्लेख गरिएको छ। तर, जन्ममितिको अन्तर एक वर्षभन्दा बढीको देखिएमा वर्ष मात्रै उल्लेख भएको प्रमाणपत्र अनुसार उमेर गणना हुने उल्लेख गरिएको छ ।
सोही आधारमा सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रको अन्तर एक वर्षभन्दा बढी हुन आएकाले उनले पदबाट राजीनामा नदिँदा पनि उमेरहदको कारण अवकाश पाउनेछन् । तर, शैक्षिक प्रमाणपत्र र जन्ममिति फरक परेकाले अन्य प्रहरी अधिकारीको अन्तर एक वर्षभन्दा कम भएकाले उनीहरूको हकमा भने केही गर्नुपर्ने अवस्था छैन । यो विवाद यसअघि भने सतहमा आएको थिएन । तर, एआईजी बढुवाको प्रक्रिया सुरु भएपछि भने सो प्रकरण बाहिरिएको हो ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १२:४६