अन्य प्रदेशको तुलनामा गण्डकीमा नेकपा (एकीकृत समाजवादी) कमजोर मानिन्छ । नेपालनिकट मानिए पनि उनले नयाँ पार्टी खोल्दा कास्कीकी सीता गिरी ओली, मुस्ताङकी श्रीमाया थकाली र नवलपुरका रवीन्द्र अधिकारीले साथ दिएनन् ।
केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, चुडामणि जंगली, प्रतापलाल श्रेष्ठ, धनराज आचार्यलगायत नेताकै आडभरोसामा गण्डकीमा नेकपा एसकाे उपस्थिति छ । यिनै नेताहरूलाई फर्काउन एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कसरत गरिरहेका छन् ।
उनले गण्डकी प्रदेशमा एकीकृत समाजवादी र अध्यक्ष नेपालका ‘खम्बा’ मानिने नेताहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ, हालका अध्यक्ष श्रीराम कार्की फर्कने गरी छलफलमा रहेको स्रोतको दाबी छ ।
आगामी १० वैशाखमा तनहुँ-१ मा हुने उपनिर्वाचनमा प्रतापलाल र शंकरनारायण दुवै उठ्न चाहन्छन् । एकीकृत समाजवादी तनहुँका नेताहरूले तीन दिनअघि अध्यक्ष नेपाललाई भेटेर जुनसुकै हालतमा आफ्नो पार्टीको उपस्थिति हुनुपर्ने भन्दै दबाब दिएका थिए । तर, अध्यक्ष नेपालका पछिल्ला गतिविधि हेर्दा कांग्रेसकै उम्मेदवारलाई साथ दिने देखेपछि तनहुँ, लमजुङ र कास्कीका एकीकृत समाजवादीका नेता पार्टी नै छोड्ने मनासयमा पुगेका हुन् ।
कांग्रेसले गठबन्धनबाट टिकट पाउने भएपछि तनहुँका नेताहरू एमाले फर्किएर चुनावको टिकट लिने र लड्ने योजनामा छन् । तीन दिनअघि शिलापत्रसँगको कुराकानीमा एमाले तनहुँ उपाध्यक्ष हरिराज कँडेलले अन्य पार्टीबाट भित्र्याएर टिकट दिने सम्भावना रहेको संकेत गरेका थिए । ‘त्यस्तो सुनिएको छ । उम्मेदवारी दिने बेलासम्म केही आउला,’ उनले भनेका थिए ।
पृथ्वीसुब्बाले एकीकृत समाजवादीका तनहुँका नेताहरूसँग भेटेको तस्वीर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायत उक्त तस्वीरमा देखिन्छन् । पृथ्वीसुब्बा र समाजवादीका नेताहरूबीच यही हप्ता धादिङको सिक्रेखोलामा भेट भएको थियो ।
एमालेबाट तनहुँ-१ मा स्थायी कमिटी सदस्य किरण गुरुङ र पूर्वआईजीपी रहेका सर्वेन्द्र खनालको चर्चा छ । एकीकृत समाजवादीका नेता-कार्यकर्ता चुनावअघि प्रवेश नगरेको अवस्थामा किरणले टिकट पाउने सम्भावना धेरै छ । हालै पृथ्वीसुब्बा र किरणबीच गोरखा र तनहुँको सीमानामा पर्ने च्याङ्ग्ली म्याङ्गो रिसोर्टमा चुनाव केन्द्रीत छलफल भएको थियो । किरणले आफू तनहुँ-१ मा चुनाव लड्न तयार रहेको पृथ्वीसुब्बालाई सुनाएका छन् । एमाले स्रोतले भन्यो, ‘किरण कमरेड चुनाव लड्न तयार हुनुहुन्छ । तर, पार्टीलाई गण्डकीमा अझै बलियो बनाउन एकीकृत समाजवादीका नेता-कार्यकर्ता ल्याउँदा ठीक होला भन्ने छ ।’
एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपाने, केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगली एमाले फर्कन तयार छन् । केदार र चुडामणिको राजीनामा स्वीकृत पनि भइसकेको छ । मुकुन्द पनि पार्टी छोड्न छलफलमै छन् ।
स्रोतकाअनुसार एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले अध्यक्ष माधवकुमार नेपाललाई फागुन दोस्रो हप्ता नै राजीनामा बुझाएका थिए । तर, अध्यक्ष नेपालले उनलाई रोकेका छन् । ‘उहाँले पहिल्यै राजीनामा दिनुभएको हो । पार्टी केन्द्रीय सचिवालयमा बस्न खोजिरहनुभएको छ । तर, त्यहाँ धेरै टिक्नुहुन्न,’ स्रोतले भन्यो । हामीले यसबारे बुझ्न केशवलालसँग सम्पर्क गरेका थियौं । तर, उनले तत्काल बोल्न चाहेनन् ।
हालै एकीकृत समाजवादी छोडेका कास्कीका चुडामणि जंगलीले पनि एकीकृत समाजवादीलाई गण्डकीमा धक्का लाग्नेतर्फ संकेत गरेका छन् । एमाले फर्कने मनसायमा रहेका उनले मंगलबार शिलापत्रसँगको कुराकानीमा अरुले पनि पार्टी छोड्ने बताएका छन् । ‘मैले एकीकृत समाजवादी छोडेको एक महिना भइसक्यो । एमाले गइसकेको पनि छैन । साथीहरू छलफलमै छौँ,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १४:१०