केही वर्षयता संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको अवस्था सामान्य छ । एक दशकअघिको जस्तो व्यवसायी अपहरण, हत्या तथा फिरौतीजस्ता घटना शून्यप्राय: छ ।
तर, चार दिनअघि काठमाडौंकै मध्यभाग कपनमा भएको एक बीभत्स हत्या घटनाले भने काठमाडौंको शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठाएको छ । ८ वैशाखमा कपनस्थित सरस्वतीनगरको ब्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया निरा आचार्यको हत्या भयो । उनले सरस्वती नगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् ।
बिहीबार मध्यदिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएकी भाँडापसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो । कपनमै श्रीमान् योगेन्द्र आचार्य र एक नाबालिग छोरीसँग बस्दै आएकी निराको अज्ञात समूह/व्यक्तिबाट हत्या भएको थियो । निराका श्रीमान्ले पनि त्यहीँनजिकै घरायसी इलेक्ट्रोनिक सामानहरूको पसल सञ्चालन गर्दै आएका छन् ।
निरालाई पसलमै किन र कसले चक्कु प्रहार गरेर बीभत्स हत्या गर्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हत्या भएको करिब एक हप्ता बित्न लाग्दा पनि प्रहरीले कुनै भरपर्दो ‘क्लु’ भने फेला पार्न सकेको छैन । प्रहरीले हत्या योजनाबद्ध र नियोजित देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गर्न टोली नै बनाएर अनुसन्धान थालेको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीबाहेक जिल्ला प्रहरी परिसर काठमाडौंले समेत अनुसन्धान तीव्र पारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार हत्याबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको बताए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले निराहत्याको अनुसन्धान गर्न सोही कार्यालयका एसएसपी हिमालय श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
‘हत्या बीभत्स र योजनाबद्ध नै देखिन्छ । अहिले नै भरपर्दो क्लु फेला परेको छैन । तर, हामीले अनुसन्धान गरेको विभिन्न पाटोमध्ये केहीकेही पाटोबाट अनुसन्धान फराकिलो हुने संकेत मिलेको छ । हामी नियमित अनुसन्धानमै छौँ,’ एसएसपी केसीले भने ।
प्रहरी स्रोतका अनुसार हालसम्म प्रहरीले निराका नजिकका करिब २० जनाभन्दा बढी व्यक्तिमाथि सोधपुछ गरिसकेको छ । निराको परिवारिक सम्बन्धबारेसमेत विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको प्रहरीको दाबी छ ।
‘हामीले अनुसन्धानको दायरालाई बढाएका छौँ । अनुसन्धानको घेरामा विभिन्न व्यक्तिलाई राखेका छौँ । निराका श्रीमान् र निराबीचको सम्बन्धबारेमा पनि केलाएका छौँ । थप अनुसन्धानकै क्रममा छौँ,’ प्रहरी स्रोतले भन्यो ।
काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले पनि विभिन्न कोणबाट अनुसन्धान जारी नै राखिएकाले अहिले नै केही भन्ने अवस्था नरहेको बताए । निराले सञ्चानल गरेको पसल र आसपासको सडकछेउका सीसीटीभी फुटेजसमेत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।
प्रहरीले चाबाहिलदेखि निराले सञ्चालन गरेको पसलसम्म जाने बाटोको सीसीटीभी फुटेज संकलन गरेर हत्या गरिएको समयसँग शंकास्पद व्यक्तिमाथि विश्लेषण थालेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १३:३५