स्थानीय तह चुनाव भएको वर्ष दिन पूरा भएको छ । २०७९ सालमा वैशाख ३० गते आजकै दिन स्थानीय तह चुनावमा मतदान भएको थियो ।
उक्त चुनावबाटै नेपालमा स्वतन्त्र उम्मेदवारहरूको माहोल बनेकाे थियाे । सोही वर्ष मंसिरमा भएको प्रतिनिधिसभा चुनावसम्म पुग्दा यो माहोलले थुप्रै स्वतन्त्र उम्मेदवारहरू मात्रै खडा गरेन, ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल नै जन्मायो । अहिले सो पार्टी संसद्को चौथो ठूलो शक्तिका रूपमा छ । पार्टीका महामन्त्री मुकुल ढकालले एक अन्तर्वार्तामा भनेका थिए, ‘दल जन्माउनेबारे सभापति रवि लामिछानेसँग छलफल त भइरहेको थियो तर स्थानीय तह चुनावमा स्वतन्त्रहरूको लहरसँगै यो छलफलले पार्टी जन्माइहाल्ने गरी निकास पायो ।’
गत वर्षको स्थानीय चुनावमार्फत नै मतदाताले ठूला एवं पुराना दललाई सच्चिन खबरदारी गरेका थिए । तैपनि सत्ताकै लागि गठबन्धन गरेपछि चुनावमा मतदाताले मूलतः राष्ट्रिय स्वतन्त्र पार्टीलाई विकल्प मानेर भोट दिए । यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीलगायतले पनि राम्रो सिट हात पारे ।
२०७९ सालको चुनाव खासगरी काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेका कारण खास बन्न पुगेको थियो । काठमाडौंंमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले स्वतन्त्र उठेर ठूला दलका उम्मेदवारलाई हराइदिएका थिए । पुराना दलबाट असन्तुष्ट बनेर स्वतन्त्र लडेका कतिपय युवाले पनि विभिन्न स्थानीय चुनावमा बाजी मारेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ०६:१६