भविष्य तिनीहरूकै पक्षमा हुन्छ, जसले आफ्नो सपनाको सुन्दर पक्ष देख्छन् र त्यसैलाई विश्वास गर्छन् ।’
अमृतराज गिरीले देखेको सपना र सपना पूरा गर्न गरेको संघर्ष अनि सफलताले यही भन्छ ।
उनी काभ्रेको कात्तिके देउरालीका हुन् । उनले देखेको सपनालाई पूरा गर्न गरेको प्रयास र अन्ततः पूरा भएको सपनामिश्रित सफलताको संघर्षपूर्ण कथा भने निकै रोचक र प्रेरक छ ।
०००
एसएलसी पासपछि अमृत काठमाडौं छिरे। सुरुका दिन त उनका लागि दुःखदायी भयो । कामका लागि महिनौँसम्म भौँतारिनु भौतारिए। तर, खोजेजस्तो काम अहँ ! कतै भेटेनन् ।

अन्तमा एउटा रेस्टुरेन्टमा काम पाए। जुन काम खासमा उनले चाहेकै होइन । काठमाडौंमा टिक्न अमृत नचाहेकै काम गर्न बाध्य भए । रेस्टुरेन्टमा काम गर्दा उनले १० हजार तलब पाउँथे । त्यसबेला उनले तीता अनुभव बटुले । अनि, सपना देखे– आफैँ रेस्टुरेन्ट चलाउने ।
त्यहीबेला एक जना साथीले कोरियन भाषा पढेर कोरिया जान सकिने कुरा सुनाए । उनलाई ठीकै लाग्यो । काम गर्दै कोरियन भाषा पढ्न थाले । अन्ततः कोरियन भाषा परीक्षा पनि पास गरे । अनि, पुगे कोरिया ।
कोरिया पुगेपछि उनमा जीवनलाई हेर्ने दृष्टिकोण नै बद्लियो । नेपालमा हुँदा उनमा भएको दुःख र मिहिनेतप्रतिको बुझाईमा परिवर्तन आयो ।
कोरियामा राम्रो कमाइ गरिरहेका अमृतले नेपालको रेस्टुरेन्टमा काम गर्ने क्रममा देखेको सपना भने सम्हालिरहेकै थिए ।
साथीहरूलाई भन्ने गर्थे– ‘म त नेपाल फर्किएर रेस्टुरेन्ट खोल्ने हो ।’
नभन्दै कोरोना महामारीको पहिलो लहर सकिनेबित्तिकै नेपाल फर्के ।
कोरियाबाट फर्केर आफ्नै रेस्टुरेन्ट खोल्ने सुरसारमा रहेका अमृतको आफ्नैले कुरा काटे । बुद्धि बिगार्यो, विदेशबाट कमाएर ल्याएँको पैसा डुबाउने भयो भने ।
यतिसम्म कि कुनै समय रेस्टुरेन्ट व्यवसायमा लगानी डुबाएका बुबाले समेत उनलाई रोके ।
२०६० सालतिर अमृतका बुबाले पनि कालोपुलमा रेस्टुरेन्ट व्यवसाय गरेका थिए ।
अमृत पहिलोपल्ट काभ्रेबाट काठमाडाैं बुबाको कालोपुलस्थित रेस्टुरेन्ट हेर्न भनेर आएका थिए । बुबाको रेस्टुरेन्ट देख्दा उनि मख्ख परे ।

तर व्यापार नभएपछि बुबाको रेस्टुरेन्ट धेरै समय टिकेन । अन्ततः अमृतका बुबाले कालोपुलको रेस्टुरेन्टबाट हात धुनुपर्यो।
त्यही कारणले पनि उनलाई छोरोले आफू असफल भएको व्यवसायमा हात नहालोस् भन्ने थियो ।
तर आफूले देखेको सपनाबाहेक अमृतले अरु कसैको सुनेनन् । कोरोना महामारीको दोस्रो लहर साम्य भएसँगै काठमाण्डौं मध्य भागभन्दा बाहिर अर्थात काँडाघारीको कागेश्वरी मनोहरामा रेस्टुरेन्ट निमार्णको काम थाले ।
उसो त ठमेलमा धेरैले बिक्रीमा रहेका होटल र रेस्टुरेन्ट उनलाई देखाए । अमृतलाई ठमेलभन्दा काँडाघारीको कागेश्वरी मनोहराको लोकेसन नै सबैभन्दा ठीक लाग्यो ।
रेस्टुरेन्ट निर्माणको काम सकियो । ‘हाइडआउट’ नाम दिए । रेस्टुरेन्ट उद्घाटन गरे । सुरुदेखि नै ग्राहकको चाप राम्रो हुन थाल्यो ।
काँडाघारीको कागेश्वरी मनोहराक्षेत्र वरिपरि ‘हाइडआउट’को नाम राम्रैसँग चल्न थाल्यो । अमृत एक्लैले ‘हाइडआउट’ धान्न नसक्ने भएपछि जापानमा रहेको भाइलाई पनि बोलाए । भाइ पनि उनलाई साथ दिन आए । अमृतले ‘हाइडआउट’लाई अगाडि बढाउन भाइको समेत साथ पाए।
०००
‘हाइडआउट’ मार्फत अमृतले नेपाली, कोरियन, चाइनिज लगायत परिकार ग्राहकका लागि पस्किरहेका छन् ।
जसमध्य ‘हाइडआउट’को टाइगर चिकेन अर्थात टिमुर चिकेन धेरैले रुचाउँने गरेको उनि बताउँछन् ।
सुरुवाती दिनमा खासै ग्राहकले नरुचाउँने कोरियन परिकार हालभने धेरै स्थानबाट तिनै कोरियन परिकार चाख्नकै लागि ग्राहकहरू आउँने गरेको अमृत बताउँछन् ।
सबैभन्दा रमाइलो कुरा त, हिजो अरुको रेस्टुरेन्टमा अपमानित भएर काम गर्दैगर्दा आफ्नै रेस्टुरेन्ट खोल्ने सपना बुनेका अमृतले अहिले ‘हाइडआउट’ मार्फत १२ जनालाई रोजगार दिएका छन् ।
‘धेरै जनाले ‘हाइडआउट’को शाखा विस्तारको प्रस्ताव गरिरहनुभएको छ । उहाँहरूलाई केही समय पर्खिनु भनेको छु। तर अब छिटै बानेश्वर र चाबहेलमा शाखा विस्तार गर्ने सोचमा छु’, अमृतले सुनाए ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० ०६:१८