शुभद्रा मदन (शुभम) फाउन्डेसनले चलाएको सामुदायिक स्कुल जनजागृति माध्यमिक विद्यालयमा चरम बालश्रम शोषण भइरहेको एक अध्ययनले देखाएको छ । दिक्तेल रुपाकोट मझुवागढी- २ मा रहेको उक्त विद्यालयमा अध्ययनरत बालबालिकामाथि अन्य विभिन्न जोखिमसमेत रहेको चेतावनी अध्ययनले दिएको छ ।
बालयौन दुराचारको आरोपमा समातिएका मदन राई संस्थापक रहेको शुभमले सिकाइको नाममा स्कुले केटाकेटीलाई ज्यानै जान सक्ने–अङ्गभङ्ग हुन सक्ने काम लगाउने, वयष्कको दिसापिसाब सोहोराउने, दुर्व्यवहार गर्नेजस्ता शोषण गरिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), सिविन नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र इन्सेकका प्रतिनिधिले स्थलगत अनुमगन गरी तयार पारेको प्रतिवेदन विभिन्न २९ वटा तथ्यसहित आइतबार सार्वजनिक गरिएको छ ।
२९ असोजमा पक्राउ परेका शुभम संस्थापक राई हिरासतमा छन् । उनीमाथि जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान गरिरहेको छ ।
शुभमले चलाइरहेको विद्यालयमा १ सय १ जना बालबालिका अध्ययनरत रहेको बालअधिकारवादी संस्थाहरूको प्रतिवेदनमा उल्लेख छ । ‘विद्यालय हाताभित्रै जोसुकै व्यक्ति जुनसुकै बेला प्रवेश गर्न, डुल्न बालबालिकासँंग घुलमिल हुन सक्ने भएकाले त्यहाँका बालबालिका अन्य कुराहरूबाट समेत अत्यन्तै जोखिममा छन्,' प्रतिवेदनमा भनिएको छ ।

होमस्टे तथा क्याफेमा किशोरीहरूले पकाउने तथा ग्राहकसम्म पुर्याउने, टाढाटाढा एकान्तमा रहेका घर (होमस्टे) मा समेत सेवा दिनुपर्ने अवस्था छ । ‘यस्तो अवस्थामा बालबालिकाहरूमा मदन राईबाट मात्र होइन, अन्य नचिनेका मानिसहरूबाट समेत यौन दुर्व्यवहारमा पर्न सक्ने जोखिम देखिन्छ । विगतमा घटेका बाल यौन दुर्व्यवहारका घटनाहरूसमेत गुपचुप पारिएको छ,' सिजपका अध्यक्ष राजेश शर्माले भने ।

विद्यालयमा रहेका सबै चौपायाका लागि घाँस काट्ने, गोबर सोहोर्नेलगायतका श्रम बालबालिकाले गर्नुपर्ने, यीमध्ये धेरैजसो काम अत्यन्तै जोखिमपूर्ण रहेको तथा नियमित बालबालिकालाई चोटपटक लाग्ने गरेको देखिएको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनालले बताए । ‘रुख चढ्नेजस्तो जोखिम कार्यसमेत बालबालिकाले नै गर्ने हुँदा उनीहरू अत्यन्तै जोखिममा छन् । जोखिम मापन गर्ने काम पनि गरिएको पाइएन,' उनले भने ।
'वयष्कको मलमूत्र बालबालिकालाई सोहोराइन्छ'

प्रतिवेदनअनुसार, विद्यालय तथा होमस्टे र क्याफेमा रहेको शौचालयमा शौच संकलन गर्ने विधि अपनाइएको छ । शौचालयमा जम्मा भएको दिसा, पिसाब बालबालिकालाई नै बोकाएर खेतीपातीसम्म ओसार्न लगाउने गरेको समेत प्रतिवेदनले खुलासा गरेको छ । काठमाडौंदेखि नेता, मन्त्री, सांसद, व्यापारी अनि देशका विभिन्न ठाउँका पाहुना खोटाङ जाँदा सोही विद्यालयमा बस्ने गरेका छन् । उनीहरूलाई खाना पकाएर दिनेदेखि शौचालयको दिशापिसाब सोहोर्नेसम्मका काममा बालबालिकालाई लगाइने गरेको छ ।
हेर्नुहोस् विस्तृत रिपोर्टः
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १४:४२