राजपरिवारका सदस्य पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा आउँदा फेवाताल किनारको रत्न मन्दिरमा बस्थे । २०६२/०६३ को जनआन्दोलनले राजतन्त्र ढालेर गणतन्त्र स्थापना गरेपछि यो दरबारका ढोका सधैँ बन्द रहे ।
गणतन्त्र स्थापना भएको १५ वर्षपछि दरबार परिसर छिर्ने गेट सोमबारदेखि खुलेको छ । तर, दरबारको ढोका बन्द नै छ । कान्छी रानी रत्नको नाममा राजा महेन्द्रले २०१३ सालमा बनाउन सुरु गरेको दरबार दुई वर्षपछि बनेको थियो । माहिला भाइ हिमालय वीरविक्रम शाहको नाममा बनेको ‘हिमागृह’ रत्न मन्दिरभन्दा ५ सय मिटर पूर्वमा छ ।

राजा महेन्द्रको अवसानपछि दरबारको अधिकार राजा वीरेन्द्रको भयो । उनको वंशनाशपछि भने दरबारमा कोही बसेनन् । राजपरिवारका सदस्य आउँदा हिमागृहमा बास बस्थे । २०६२-६३ को आन्दोलनबाट गणतन्त्र स्थापना भएपछि राजपरिवारको सबै सम्पत्ति सरकारीकरण भयो । २०६७ साल मंसिर २० गतेदेखि रत्न मन्दिर र हिमागृह नेपाल ट्रस्टको कार्यालयको स्वामित्वमा छ ।
रहस्य राखेर खुलेको ढोका
पोखरा आउने सबै जसो पर्यटनमन्त्रीको उद्घोष हुन्थ्यो- रत्न मन्दिर जनताका लागि खुल्ला गरिन्छ । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश पर्यटनमन्त्रीले पनि पटक-पटक रत्न मन्दिर खुलाउने आश्वासन पर्यटन व्यवसायीलाई दिइरहन्थे । पर्यटन व्यवसायीको माग पनि रत्न मन्दिर खोल्नुपर्छ भन्ने नै रहन्थ्यो ।

प्रदेश सरकारले २०७६ सालमा रत्न मन्दिर र हिमागृहको जग्गा संरक्षण र सञ्चालनसम्बन्धी अवधारणा बनाउन नीति तथा योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलको संयोजकत्वमा ६ सदस्यीय अध्ययन दल बनाएको थियो । त्यो अध्ययन दलले रत्न मन्दिर र परिसरका संरचनालाई शाहकालीन कलाकृति झल्किने संग्रहालय बनाउन सुझाव दिएको थियो । त्यस्तै, हिमागृहलाई जैविक विविधता बगैँचा पार्क बनाउन प्रस्ताव गरिएको थियो ।
६५ वर्ष पुरानो इतिहास बोको यो दरबारको ढोका लामो चर्चापछि खुलेको छ । तर, दरबारभित्र के छ भन्ने कौतुहलता अझै पनि उत्तिकै छ । ‘हिजो राजाले प्रयोग गरेका महत्त्वपूर्ण चीज देख्न पाइएला भन्ने लागेको थियो,’ लेकसाइडकै स्थानीय तुलसी दाहालले सोमबार दरबार परिसर घुमेपछि भने, ‘बाहिर मात्रै हेर्दा सोचेको जस्तो रैन्छ ।’
नेपाली सेनाले पहरा दिइरहने रत्न मन्दिर बाहिरबाट पनि देखिँदैनथ्यो । अग्ला पर्खाल र बोटबिरुवाले छोप्ने भएकाले बाहिरबाट हेर्न मिल्दैनथ्यो । दरबार परिसर खुलेपछि एउटा कौतुहलता भने मेटिएको छ । ‘रत्न मन्दिर परिसरमा कस्ता संरचना होलान् भन्ने कौतुहलता रहिरहेको थियो । भित्र छिरेपछि त्यो देख्न पाइयो,’ पोखरा-८ सिर्जनाचोक बस्ने पवित्रा केसीले सुनाइन्, ‘साँघुरो ठाउँमा होला भन्ने लागेको थियो । भित्र आएपछि धेरै फराकिलो रहेछ । छिट्टै रत्न मन्दिरभित्र के छ भन्ने हेर्न पाउने अपेक्षा राखेका छौँ ।’

ढोका खुले पनि दरबारभित्र के-के छ, पूर्वाधार कस्ता छन् भन्ने कुरा रहस्यमै छ । त्यो खोल्ने–नखोल्ने निर्णय नेपाल ट्रस्टले गरिसकेको छैन । ट्रस्टकी बोर्ड सदस्य योङ्जोम शेर्पाका अनुसार दरबार साँघुरो भएको र भित्र-बाहिर गर्ने प्रवेशद्वार नभएकाले तत्काल नखोलिएको हो । निस्कने छुट्टै द्वार बनाएर भित्र अवलोकन गर्न सक्ने गरेर खोल्ने योजना पनि ट्रस्टको छ । तर, त्यहाँभित्र भएका ऐतिहासिक सामग्रीमा कुनै क्षति पुग्न नदिन, चोरी हुन नदिन सुरक्षा कसरी गर्ने भन्ने अर्को समस्या छ । नभए भित्र कस्तो छ भन्ने खिचेर दरबार परिसरमा देखाउने व्यवस्था गर्ने अर्को विकल्पमा छलफल भइरहेको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य महत्त्वपूर्ण दिन (गणतन्त्र दिवस) पारेर परिसर खोलिएको र भित्री भाग पनि खोलिने बताउँछन् । ‘महत्त्वपूर्ण दिन पारेर रत्न मन्दिर परिसरका अधिकांश भाग खुलेका छन्,’ उनले भने, ‘धेरै कुरा जीर्ण छन् । त्यसलाई बनाउनुपर्नेछ । भित्री भाग खोल्न केही समय लाग्ने नै छ ।’ रत्न मन्दिरको भित्री भाग र हिमागृह खोल्नेबारे छलफल भइरहेको मेयर आचार्यले बताए ।

२०७३ सालपछि यती होल्डिङ्सलाई हिमागृह भाडामा दिने चर्चा चलेको थियो । त्यतिबेला पोखरेली पर्यटन व्यवसायी र नागरिक समाजको विरोधपछि ट्रस्ट पछि हटेको थियो ।
के छ दरबारभित्र र बाहिर ?
रत्न मन्दिर र हिमागृह १ सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । रत्न मन्दिर दरबार क्षेत्रमा साना-ठूला १० वटा भवन छन् । त्यसमा फेवाताल छेउमा बस्न बनाइएको ताल घर, बगैँचा, गाडी राख्ने पार्किङ, हेलिप्याडलगायत संरचना छन् ।
दरबारभित्र राजारानीको सयन कक्ष, पाहुना सयन कक्ष, डाइनिङ कक्ष, बैठक कक्ष छन् । दरबार परिसर खोल्ने तयारी भएपछि दुई दिनअघि ट्रस्टका बोर्ड सदस्य, प्रमुख जिल्ला अधिकारीले दरबारभित्र पसेका थिए । ‘टेलिभिजन, बेड, पुस्तक, गलैँचा, सोफा, टेबुल सुरक्षित छन्,’ उनीहरूसँगै गएका पत्रकार विनोद ढुंगानाले सुनाए, ‘लामो समयदेखि बन्द भएजस्तो पनि देखिँदैन । सामान जहाँको त्यहीँ छन्जस्तो देखिन्छ । कतै कुनै सामान छोइन्छ कि भनेर कडाइ गरिएको थियो ।’ बेलाबखत दरबारमा विशिष्ट व्यक्ति दरबार हेर्न गइरहन्छन् । तर, तस्वीर लिन निषेध छ, त्यही कारण पनि दरबारभित्र के–कस्तो छ भन्ने ६५ वर्षदेखि रहस्यमयी छ ।

तीन तलाको दरबारमा ११ वटा कोठा छन् । तेस्रो तलामा गोप्य कोठा छ । त्यहाँ भने कोही छिर्न पाउँदैन । दरबार परिसरमा धुपी, चाँप, वर–पीपल, आँप, चम्पा, लिची, चिउरी, चाइनिज दुबो, गुलाफलगायत बोटबिरुवा छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ११:२०