सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा उनले उत्कृष्ट बलिङ गरेपछि नेपाली समर्थकको मन मस्तिष्कमा गुन्जिएको थियो- सोमपाल कामी क्या दामी ।
सोमपाल नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी हुन् । उनी अलराउण्डरको रूपमा नेपाली टिमलाई सम्हाल्दै आइरहेका छन् । उनी ब्याटिङ बलिङ दुवैमा पोख्त छन् । ओपनर बलर सोमपाल नेपाली टिमको फिनिसर ब्याटर पनि हुन् । हारिसकेको खेल उनले थुप्रै पटक जिताएका पनि छन् ।
जिम्बाब्वेमा ३ असारदेखि २४ गतेसम्म विश्वकप छनोट प्रतियोगिता हुँदैछ । समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वेसँगै नेपाल, विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् ।
३ असारमा जिम्बाब्वेसँग खेल्दै विश्वकप छनोटको उद्घाटन गर्ने नेपालले त्यसपछि ५ असारमा अमेरिकासँग खेल्नेछ । असार ७ गते विश्वविजेता वेष्ट इन्डिजसँग खेल्ने नेपालले समूह चरणततर्फ आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ । विश्वकप छनोटकै लागि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको छ । दक्षिण अफ्रिकामै नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल पनि खेल्नेछ । विश्वकप छनोटमा सोमपालले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिततर्फ लाने प्रयास गर्नेछन् ।
२७ वर्षीय सोमपाल २०१४ देखि नेपाली टिमबाट खेल्दै आइरहेका छन् । तीव्र गतिका बलर सोमपालले अहिलेसम्म पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
टीयू क्रिकेट मैदानमा एसीसी प्रिमियर कपमा ओमानविरुद्ध उनले कुशल मल्लसँग मिलेर नेपालको पालीलाई सम्हालेका थिए । त्यो खेलमा उनले कुशलसँग ४९, सन्दीप लामिछानेसँग २८ र करण केसीसँग ६१ रनको साझेदारी गर्दै नेपाली टिमलाई बलियो स्थितिमा पुर्याएका थिए । ओमानविरुद्ध सोमपाल ६३ रनमा अविजित रहे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि सोमपालले नेदरल्यान्ड्सँविरुद्ध ६१ रन बनाएका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले डेब्यू गर्दा सोमपाल महत्वपूर्ण खेलाडी थिए । सन् २०१८ अगस्ट १ तारिख नेपालको लागि ऐतिहासिक दिन थियो । तर, त्यो खेलमा नेपाल ५५ रनले पराजित भयो । सोमपाल कामीले भने आफ्नो ओडीआई डेब्यूमै तीन विकेट लिए ।
४६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालले ६२ विकेट लिएका छन् । जसमा सबैभन्दा उत्कृष्ट बलिङ उनले यूएईविरुद्ध सन् २०१९ मा गरेका थिए । जुन खेलमा उनले ६.३ ओभरमा एक मेडन ओभर राख्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए । त्यो खेलमा नेपालले यूएईलाई १४५ रनले पराजित गरेको थियो ।
ब्याटिङतर्फ उनले ४६ खेलमध्ये ३५ खेलमा ब्याटिङ गर्न पाएका छन् । जसमा उनले ४७८ रन बनाएका छन् । जसमा दुई अर्धशतक सामेल छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १९:०८