नेपाली कांग्रेस रूपान्तरण हुनुपर्ने र त्यसकाे सुरुवात नेतृत्वबाट हुनुपर्ने विषयमा सार्वजनिक मञ्चमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच घोचपेच हुनु सामान्य हुन थालेको छ । निर्वाचित सभापति शेरबहादुर देउवालाई किन हटाउने भन्ने संस्थापन र नहटाएसम्म कांग्रेस बदलिँदैन भन्ने संस्थापनइतरका नेताहरूबीचको द्वन्द्वमा पार्टी फस्दा ११ महिनादेखि केन्द्रीय समिति बैठक हुन सकेकाे छैन । त्यति मात्र हाेइन भ्रातृ संगठनलाई चलायमान बनाउने र विभागहरूलाई पूर्णता दिने विषयमा छलफल रोकिएको छ । नीति महाधिवेशनकाे कुरा त प्रवेशै गरेकाे छैन ।
यतिबेला स्वास्थोपचारका लागि सभापति शेरबहादुर देउवा सिंगापुरमा छन् । कार्यवाहक सभापतिको भूमिका पाएका उपसभापति पूर्णबहादुर खड्का मञ्च पाउने बितिक्कै नेतृत्व परिवर्तनको वकालत गरिरहेका महामन्त्री गगन थापासँग वाकयुद्धमा उत्रिन्छन् ।
ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन उद्घाटन कार्यक्रममा महामन्त्री थापाले बदलिएको कांग्रेसले देश बदल्ने भन्दै कांग्रेस पार्टी सञ्चालन गर्ने तरिका बदल्नुपर्ने बताए । ‘कांग्रेसले पार्टी सञ्चालन गर्ने तरिका बदल्नुपर्छ । बदलिएको कांग्रेसले मात्र देश बदल्छ । कांग्रेस बदलिनुपर्छ । कांग्रेस नबदलिए संकटमा पर्छ । कहिले हामीले झ्याल बदल्नुपर्छ । कहिले ढोका बदल्नुपर्छ । कहिले धुरी पनि बदल्नुपर्छ,’ उनले भनेका थिए ।
थापाले पछिल्लो समय नेतृत्व बदल्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका छन् । उनलाई काउन्टर दिने संस्थापन पक्षका नेताहरू मन्त्री छन् । खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री छन् । मन्त्रीहरूलाई पार्टीभित्रका कुरामा टिप्पणी गरेर बस्ने समय हुँदैन । महामन्त्री थापाको भूमिकाप्रति सरकार बाहिर रहँदा पार्टी प्रवक्ता डा प्रकाशशरण महत असन्तुष्ट थिए ।
महामन्त्री थापाको भनाइप्रति लक्षित गर्दै ट्रेड युनियन कांग्रेसकाे कार्यक्रममा कार्यवाहक सभापति खड्काले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको बताए । आफू रुपान्तरण भए मात्र अन्य कुरा रुपान्तरण हुने भन्दै महामन्त्री थापालाई उनले जवाफ फर्काए ।
‘हामी सबैले म म भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर, सपारेर त्यसलाई अत्यन्त तीव्र गतिमा समयसापेक्ष दिशातर्फ जान सकिन्छ, औँला ठड्याएर होइन,’ उनले भनेका थिए, ‘आफूलाई निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ ।’
विशेष महाधिवेशनको वकालत गर्दै आएको इतर समूहका नेताहरूलाई लाग्छ कांग्रेसको मूल सफा छैन । ‘कांग्रेसको मूल सफा छैन । मूल संलिएमा अरु संगिल्छ । रुखको हाँगा छिमोल्दा पार्टी सुध्रन्छ भने छिमोल्नुपर्छ । छिमोल्ने बेला आएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने ।
कांग्रेस नेता मीनेन्द्र रिजाल विशेष महाधिवेशन बोलाउँदा पार्टी विभाजन हुन सक्ने खतरा रहेको बताउँछन् । सभापतिले पार्टीलाई चलायमान बनाउनुपर्ने उनले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । विशेष महाधिवेशनले पार्टीलाई क्षति हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।
‘विशेष महाधिवेशन माग्दा कांग्रेस दुईवटा पार्टी भयो । अघिल्लो महाधिवेशनअगाडि पनि यस्तै कुरा आउँदा विशेष महाधिवेशन गर्न सक्ने अवस्था छैन भनेको थिएँ । बोल्दाबोल्दै खेल्दाखेल्दै हिँड्दाहिँड्दै पार्टी फुटेको देखेको छु,’ उनले भनेका छन्, ‘पार्टी चलेन भन्ने आभाष सानो होइन । चलेन भन्ने शैली कसरी हो त्यसले पार्टी कता जाने भन्ने तय गर्छ ।’ आफू पार्टी फुटतर्फ जाने खतरातर्फ सचेत रहेको उनले बताए ।
संस्थापनइतर समूहमा बेमेल रहेको र नेता शेखर कोइराला सभापति देउवा निकट हुन थालेको आरोप पनि लागेको छ । त्यसमा सत्यता नभएको कोइरालाले बताउने गरेका छन् । १५औँ महाधिवेशनमा सभापतिको लागि लड्ने उनले बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, ‘आगामी महाधिवेशनमा लड्छु । गगनसँग कुराकानी भइरहेको छ । उहाँलाई सोध्नुस् । संसदीय दलको चुनावमा उहाँले १५औँ महाधिवेशनमा सभापतिका लागि प्रतिबद्धता जनाएका छन् ।’
उनले देउवा–कोइराला मिलेको भन्ने भाष्य संस्थापन पक्ष र इतर पक्षका केही नेताहरूले बनाएको बताएका छन् । ‘देउवासँग शेखर कोइराला मिल्यो भनेर न्यारेटिभ बनाइदिएको छ । कसैले बनाइदिएको हो । मैले त चुनाव लडेको हो नि उहाँसँग । हामी एकै नाउमा छौँ । डुब्यौँ भने हामी सबै डुब्छाैँ,’ उनले भनेका छन् ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कांग्रेसको विशेष महाधिवेशन सम्भव नहुने बताउँछन् । उनी संस्थापन पक्षका नेता मानिन्छन् । ‘१३औँ महाधिवेशनपछि पनि यस्तै कुरा उठेको थियो । हामी नियमित रूपमा १४औँ महाधिवेशनमा गयौँ । अब नियमित रूपमा १५औँ महाधिवेशनमा जान्छौँ,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० ०६:४६