१२ असारदेखि आफूलाई ‘शिवसुतक गौरीभक्त’ भनेर चिनाउने दोलखाका पुरुषोत्तम काफ्ले प्रहरीको थुनामा छन् । धर्मगुरुको नाममा यौन शोषण र ठगीधन्दा चलाएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भारतको हरिद्वारबाट पक्राउ गरेको हो ।
काफ्लेले काठमाडौंको गौशालामा आश्रम बनाएर यौन शोषण र ठगी धन्दा चलाउँदै आएका थिए । प्रहरीमा ठगीको उजुरी पर्न थालेपछि भने उनी भारतमा गएर लुकेका थिए । प्रहरीका अनुसार उनले आश्रममा आउने महिलाहरूलाई प्रभावमा पारेर यौन शोषण तथा विभिन्न कम्पनीमा लगानी गर्ने भन्दै रकम उठाएर ठगी गर्ने गरेका थिए । उनले सयौँ महिलाबाट करिब ५ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।
आश्रममा आउने महिलालाई घरबाट विद्रोह गर्नुपर्छ भन्दै उनी प्रवचन दिने गर्थे । काफ्लेबाट ठगिएकी एक महिलाले भनिन्, ‘आत्मनिर्भर बन्नुपर्छ । नारी उत्थानका लागि मसँग धेरै योजनाहरू छन् । त्यसमा लगानी गर्ने हो । घरमा श्रीमान्को भर मात्रै पर्ने होइन ।’
काफ्लेकै भरमा परेर आफ्नो करिब २ करोड रुपैयाँ गुमेको र घरबारसमेत बिग्रिएको दु:खेसो उनले सुनाइन् । प्रहरीका अनुसार काफ्लेले ठगीधन्दा सञ्चालनकै लागि लक्ष्मी न्यौपाने, निशा तिवारी र कान्छी लामालाई प्रयोग गर्ने गरेको खुलेको छ ।
हाल न्यौपानेसमेत सीआईबीको थुनामा छिन् । अन्य दुई जना फरार छन् । काफ्लेले ठगी गरेको रकमबाट तनहुँको बन्दीपुरमा ५ रोपनी जग्गा किनेको खुलेको छ । काफ्लेको भक्तपुरमा आफ्नै घरसमेत छ ।
बालिकालाई समेत यौन शोषण
आश्रममा आउने महिलालाई प्रभावमा पारेर यौन शोषण र ठगीधन्दा चलाएका काफ्लेले आफ्नै आश्रममा आउने एक महिलाभक्तकी १३ वर्षीया छोरीलाई समेत यौन शोषण गरेको तथ्य खुलेको छ ।
काफ्लेविरुद्ध हाल सीआईबीमा २१ महिलाले उजुरी दिएका छन् । त्योबाहेक १३ वर्षीया बालिकालाई २ वर्षसम्म यौनशोषण गरेकोबारे पनि उजुरी दिन सीआईबी पुगेका छन् ।
ती बालिकालाई विभिन्न उपचारको बहानामा आश्रममै पटक–पटक बलात्कार गर्ने गरेको पीडितको आरोप छ । प्रहरीका अनुसार काफ्लेका कारण सयौँ महिला घरबारविहीन भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १४:०३