भोलि मंगलबार सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका छन् । बैठकका एजेन्डाबारे छलफल गर्न सोमबार देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका थिए ।
बैठकपछि बोल्दै कांग्रेस नेता शशांक कोइरालाले भोलिको बैठक लाइभ गर्ने कि भन्ने प्रस्ताव आएको बताए । उनका अनुसार सभापति देउवाले नै बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गरेका थिए । पदाधिकारी बैठकमा बैठक कसरी प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको उनले बताए । बैठक प्रत्यक्ष प्रसारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको थियो ।
एजेन्डा तय गर्न भनी बैठक बोलाए पनि एजेन्डा भने फाइनल भएनन् । कोइरालाले भोलि पनि एजेन्डामा छलफल हुने बताए । बैठक सुरु हुनु अघिल्लो दिनसम्म कांग्रेसले एजेन्डा तय गर्न सकेको छैन ।
एक वर्षपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १७:२४