नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङको आह्वान अनुसार बहुमतको सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेस गरेपछि सर्वोच्च अदालतले उल्ट्याएको थियो ।
यो पटक भने गौतमले सभामुखबाट राजीनामा दिएर माओवादी संसदीय दलको सदस्य कायम रहेकाले गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले पदबाट राजीनामा दिएका थिए ।
यसअघि सभामुख गौतमले कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा हस्ताक्षर गरेपछि विवाद भएको थियो । सभामुखले कानुनी रूपमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा समर्थन गर्न नमिल्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले ११ साउनमा मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख खापुङका नाममा परमादेश जारी गरेको थियो । त्यसपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १६:५२