२०४५ सालमा सेक्टर काण्डपछि पार्टीकाे नेतृत्वमा आएका पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमाथि पार्टीभित्र प्रश्न कसैले गरेन । ३५ वर्षपछि व्यवस्था मात्र फेरिएन अवस्था पनि फेरिएकाे छ । माओवादी केन्द्रकाे जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्वकाे कार्यशैलीमा मात्र प्रश्न उठेकाे छैन, पुस्तान्तरणकै बहस सुरु भएकाे छ । नेपालकाे प्रमुख पार्टी नेपाली कांग्रेसभित्र पुस्तान्तरणकाे बहस चर्काे रूपमा चलिरहेका बेला माओवादी केन्द्रमा पनि पुस्तान्तरणकाे बहस सुरु भएकाे हाे ।
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने अधिकांश नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । प्रज्ञा भवनमा जारी बैठकमा बोल्ने अधिकांश नेताहरूले पहिलो र दोस्रो तहका नेताहरूको चर्को आलोचना गरेका हुन् ।
केन्द्रीय सदस्य लक्ष्मी पुनले अब जनतासँग भिज्न सक्नेलाई पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब पुस्तान्तरण आवश्यक छ ।’
नेताहरूको विचार र व्यवहारमा भिन्नता आउँदा माओवादीको ओरालो यात्रा जारी रहेको उनीहरूकाे तर्क छ । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारवाद हावी हुँदा कार्यकर्तामा निराशा आएको बताए । बैठकमा बोल्ने क्रममा नेताहरूले गुटका आधारमा कार्यकर्ताको मूल्याङ्कन हुने परिपाटीले अन्याय भएको समेत बताएका छन् ।
पहिलो र दोस्रो तहका नेताहरू परिवारवादमा रमाउँदा पनि पार्टीमा समस्या आएको भन्दै अधिकांश बोल्ने नेताहरूले आक्रोश पोखेका छन् ।
'नेताहरूको गुटमा भएका र गुटमा नलागेका बीच भिन्नता छ । पार्टीमा मूल्याङ्कन विधि नहुँदा कार्यकर्ताहरूमा निराशा आएको छ । पार्टीमा संस्थागत प्रक्रिया र पद्धति नहुँदा स्वार्थी समूह जन्मिए,' नेता ओमप्रकाश पुनले भने । निगाहमा माओवादीमा पद पाउनुपर्ने अवस्था आउँदा कार्यकर्ताहरूले काम गर्न छोड्नु स्वाभाविक भएको भन्दै नेताको व्यवहारप्रति बोल्ने नेताहरूले असन्तुष्टि पोखेका छन् । माओवादीमा नयाँ वर्ग जन्मेको पनि आरोप लागेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उदारताका कारण पार्टीमा समस्या आएको नेताहरूले धारणा राखेका छन् । जिम्मेवारी बाँडफाँटले कार्यसम्पादनमा समस्या आएको छ । माओवादीको सांगठननिक संरचना नयाँ बनाउनुपर्ने कुरा बैठकमा उठेको छ ।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार लथालिङ्ग अवस्थामा रहेको बताए । शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेकाले नेतृत्व तहदेखि सच्चिनुको विकल्प नभएको न्यौपानेको भनाइ थियो । न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट समाजवाद ल्याउने सपना पूरा नहुने बताएका छन् ।
उनले भने, ‘विश्व कम्युनिस्ट आन्दोलनमा आएको विचलनजसरी माओवादीमा विचलन आउने क्रम जारी छ । विचार र व्यवस्थाबीचको भिन्नताले ओरालोको यात्रा जारी छ । यो रोक्ने विधि पद्धति हामीसँग छैन ।’
माओवादीले चुनाव जित्नलाई पैसा भए पुग्छ भन्ने चिन्तन राख्दा समस्या आएको नेताहरूकाे भनाइ छ । उनीहरूले नेताहरूलाई पार्टी, संगठन, कार्यकर्ता होइन, पैसा भए हुन्छ भन्ने पुँजीवादी चिन्तन हाबी भएको भन्दै त्याे माओवादी विचारभन्दा कोसौँ टाढा पुगेको आरोप लगाए ।
सधैँ एक जनाले लाभको पदमा बसिरहँदा अर्को दु:ख गरेको नेता कार्यकर्ताले अवसर नपाउने प्रवृत्तिमा जबसम्म सुधार आउँदैन, तबसम्म माओवादीमा परिवर्तन नआउने अधिकांश नेताहरूकाे भनाइ छ । जनतामा जाँदा आशा लाग्ने तर माथि आउँदा निराशा मात्र देखिने समस्या नेतृत्वका कारण आएको उनीहरूले बताएका छन् ।
'प्रचण्ड राजनीतिक रूपमा निपूण तर सांगठनिक रूपमा उदार हुँदा पार्टीमा कुनै परिवर्तन नदेखिएको' केन्द्रीय सदस्यहरूले बताएका छन् । नेताहरूकाे भनाइ छ, 'माओवादी नेताहरू जे बोल्छन्, त्यो काम गर्दैनन् । जे बोल्दैनन्, त्यही काम गरेर पार्टी सकिएको हो ।' केन्द्रीय सदस्य प्रकाश पोखरेलले भनाइ र गराइबीच भिन्नता रहेको उल्लेख गर्दै भने, ‘पार्टीमा अन्तर्विरोध छ । समाजवादी क्रान्तिको आधार तयार गर्ने काम गर्नुपर्छ ।’
भीम बुढामगरले पार्टी, दलाल, ठेकेदार र बुर्जुवाको घेरामा रहेको बताउँदै शहीद परिवारको अवस्थाबारे पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए । 'जनयुद्ध' लडेका घाइते अपाङ्ग शहीद परिवारको बिजोक हुँदा पनि पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै केन्द्रीय सदस्यहरूले आक्रोश पोखेका छन् ।
यो बैठकबाट माओवादीमा पुस्तान्तरण, निर्वाचनबाट नेतृत्व छान्नुपर्ने र विचार र व्यवहारबीच नेताहरूमा तालमेल नभएको भन्दै चर्को आलोचना भएको छ । जबकि योभन्दा पहिला माओवादीमा एकल नेतृत्वले जे भन्यो, त्यही हुन्थ्यो । बैठक भेलामा नेतृत्वको आलोचना यति हुँदैनथ्यो । यो पटकबाट प्रमुख नेतृत्वको नै आलोचना सुरु भएको सहभागी एक नेताले बताए । ती नेताले भने, ‘माओवादीले अब सकिन्छौँ भनेर पनि नेतृत्वको आलोचना भएको छ । योभन्दा पहिला नेतृत्वले जे गरे पनि समर्थन गर्थे । अहिले भने आलोचना भएको छ । विचार, सिद्धान्त, व्यवहार सुर्धानुपर्ने र पुस्तान्तरण हुनुपर्ने माग उठेको छ ।’
माओवादीमा दोस्रो तहका नेताहरूले बिचौलियासँग सम्बन्ध राख्दा पार्टी ध्वस्त भएको नेताहरूले बताएका छन् ।
बैठकमा सुन तस्करी प्रवेश
बैठकमा विभिन्न समयमा भएका सुन तस्करीमा माओवादी नेताहरूको नाम जोडिएका समाचार बाहिर आउँदा त्यसले पार्टीप्रति जनताको धारणा नकारात्मक सन्देश गएको नेताहरूले बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार सुन तस्करी प्रकरणमा पार्टीकै शीर्ष नेताहरूको नाम मुछिएको विषयले प्रवेश पाएको हो । उनका अनुसार सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष ढंगले गर्नुपर्ने र संलग्न भएको पाइएमा कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
'साथीहरूले सुन तस्करी प्रकरणबारे छानबिन हुनुपर्छ र संलग्न जोसुकै भए पनि उनीहरूलाई छोड्न हुँदैन भन्ने कुरा राख्नुभएको छ,’ ती नेताले भने । माओवादीबाट संसदमा ३२ जना सांसद भए पनि माओवादीको पक्षमा बोल्ने नेताहरू नभएको गुनासो नेताहरूले गरेका छन् ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले संसदमा बोल्ने माओवादी सांसदहरू नै नभएको गुनासो गरेका छन् । 'संसदमा बोल्ने माओवादीका सांसदहरू नै भएनन् । संसदमा माओवादी केन्द्रको उपस्थिति राम्रो देखिएको छैन,’ बैठकमा नेताहरूले भनेका छन् । बैठकमा अहिलेसम्म ६० भन्दा बढी नेताहरूले आफ्नो धारणा राखिसकेका छन् ।
कसले के भने ?
सुरेश आलेमगर : विचारसहितको समृद्धि चाहिन्छ । यसले मात्र जनताको हितमा काम गर्न सक्छ । कोशी प्रदेशबारे पार्टीको धारणा के हो ? प्रस्ट आएको छैन ।
हरिराज अधिकारी : ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ?’ भन्दै नेतृत्वलाई प्रश्न गरे । पार्टीबाट पोलिटब्युरो हटाउनुको कारण के हो भन्दै उनले नेतृत्वले जवाफ दिनुपर्ने बताए ।
दिलीप प्रजापति : पार्टीमा अराजकता हाबी हुँदै गएको बताउँदै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै भएको आरोप लगाए ।
हितबहादुर तामाङ : विगतलाई निर्मम ढंगले समीक्षा गर्दै पार्टीलाई अघि बढाइनुपर्छ । पार्टी बनाउन कार्यकर्ताको मूल्यांकन हुनुपर्छ ।
माधव सापकोटा : यथास्थितिमा पार्टी निर्माण हुन सक्दैन । पार्टीमा गति दिनेगरी कार्यक्रम बनाउनुपर्छ । नयाँ तरिकाले सोच्नुपर्ने समय अझै बाँकी छ । उनले सबै कमिटीमा निर्वाचन गरिनुपर्ने उल्लेख गरे । एकै व्यक्ति पटक-पटक मन्त्री भइराख्ने प्रवृत्तिको सापकोटाले विरोध गरे ।
दीपेन्द्र पुन : पार्टीले जनसम्बन्ध गुमाएकाले सुधार गर्नु अत्यावश्यक रहेकाे बताए ।
दिलीप शाह : जम्बो कमिटीले कार्यकर्तामा निराशा मात्र बढायो । पार्टी कमिटी छिटोछरितो बनाउनुपर्छ ।
जगत सिंखडा : माओवादीमा अराजकता बढेको छ । त्यसलाई नियन्त्रण गर्न नेतृत्व गम्भीर हुनुपर्छ ।
शिवराज यादव : नेतृत्वले पार्टीलाई सही ढंगले चलाउनुपर्छ । पार्टी कमिटीमा बढीभन्दा बढी मधेसीलाई समेटिनुपर्छ ।
हरिनारायण चौधरी : माओवादीको मधेश प्रदेशमा कुनै कमिटी छैन । जसका कारण बैठक बस्न सकेको छैन । सांगठनिक अभियान पनि सञ्चालन हुन सकेन । पहिला कमिटी बनाउनुपर्छ । नेताहरूकाे लडाइँले कमिटी नै बनेन ।
कृष्णबहादुर महरा : पार्टी बनाउने अथवा विघटन गर्ने अवस्थामा पुगेका छौँ । जनतामा परेको राम्रो असरको पुँजीकरण गर्न सकिएन । पार्टी बनाउनुपर्छ । हामीहरू शहरमुखी भएकाले बिग्रेका हौँ । गाउँ जानुपर्छ । त्यसका लागि तयार छौँ कि छैनौँ ? जनतामा गएर सच्चिनुपर्छ ।
भीम कुमाखी : शहीद परिवारको बिजोक भएको छ । हामी अझै संघर्षका लागि तयार छौँ । तर, दोस्रो तहका नेताहरू सच्चिन तयार छन् कि छैनन् ।
रामदीप आचार्य : बदलिएको समाज र पुरानो पार्टी ढाँचा मूल समस्या हो । पिरामिड वेब आकारको पार्टी संगठन चाहिन्छ । सामूहिकतावादमा जानुपर्छ ।
नीलकण्ठ तिवारी : प्रचण्डको प्रतिवेदनमा माओवादीको प्रश्न हराएको छैन ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० २०:०३