प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष जब आलोचकको तारो बन्छन्, त्यसबाट बच्न उनी भावुकताको साहारा लिन्छन् । यस्तो तरिका उनले पटकपटक अपनाइसकेका छन् । आइतबार माओवादी केन्द्रको बैठकमा पनि उनले यही तरिका अपनाए । उनी र उनको सचिवालयलाई लिएर बैठकमा तीव्र आलोचना भएको थियो । जवाफ दिनेक्रममा आइतबार प्रचण्डले भावुक मन्तव्य दिएको एक केन्द्रीय सदस्यले बताए ।
नेकपा माओवादी केन्द्रले पार्टीमा गुटबन्दी गुर्न भनेको पार्टीको मृत्यु घोषणा गर्नु भएको निष्कर्ष निकालेको छ ।
पार्टीको बैठककाे अन्तिम दिन आइतबार जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुटबन्दी गर्नु भनेको पार्टी मृत्युको घोषणा गर्नु जस्तो भएको बताएकाे एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने, ‘पार्टीमा गुटबन्दी गर्नु भनेको पार्टीको मृत्यु घोषणा गर्नु हो । अहिले पार्टीको समस्या लिडरसिपले विचार नबुझेर भएको होइन । समय र परिस्थितिले ल्याएको परिवर्तन हो । माओवाद र संसदवाद एउटै होइन तर अवस्था अहिले योभन्दा पर जानसक्ने छैन ।’
संगठन विस्तार तथा शुद्धीकरणका लागि नेताहरू सातवटा प्रदेशका सबै वडामा जाने भएका छन् । तीनमहिने अभियानको सिलसिलामा माओवादीका पदाधिकारी पनि सबै प्रदेश, जिल्लामा र सातवटा वडामा पुग्ने भएका छन् ।
यही साउन १७ गते सुरु भएको केन्द्रीय कमिटी बैठक आज सकिएको छ ।
माओवादीको केन्द्रीय कमिटीको बैठक पार्टीलाई नयाँ बनाउने प्रतिबद्धतासहित आज सकिएकाे छ । माओवादीले पार्टीलाई फेरिएको समय परिस्थितिअनुसार पार्टीलाई नयाँ बनाएर जाने प्रतिबद्धता जाहेर गरेकाे माओवादीका नेताहरूले बताए ।
प्रचण्डले बैठकमा भने, ‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सातवटा वडाको जिम्मा लिन्छु भनेको छु । ती वडामा जनताको स्थिति, पार्टीको स्थिति र शहीद परिवारको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु । सातै प्रदेशको सातवटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजी जानुहुन्छ ।’ नेतृत्वहरूले फिल्डमा नखट्दा पार्टी हरेक निर्वाचनमा कमजोर हुँदै गएको भन्दै बैठकमा कुरा उठेका थिए ।
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा प्रचण्ड करिब एक घण्टा बोलेका थिए । उनले सबै नेताहरूलाई पार्टीलाई पुन नयाँ बनाउन आफैँ वडासम्म खट्ने प्रतिबद्धता जाहेर गरेका छन् । आफूहरू नै जाने भए पनि केन्द्रीय सदस्यले भने जिल्ला जान्न भन्न नमिल्ने उनले बताए । उनले नेताहरूलाई प्रश्न गदै भने, ‘अब तपाईंहरू नगएर सक्नुहुन्छ ?’
वैचारीक र राजनीतिक विषयमा रहेका अन्याेल आशंका, नेतृत्वको बीचमा रहेका अन्तरहरूको खुलेर बहस भएको प्रचण्ड बताएका थिए । बैठकले नयाँ अभियानसहित जनतामा जाने निष्कर्ष पुगेकाे भन्दै जनतासँग माओवादी विशेष रुपान्तरण भनेर सबै पार्टी नेताहरू जनतासँग जोडिने जाने प्रचण्डले बताए ।
माओवादीका सबै केन्द्रीय नेताहरू वडामा पुग्ने अभियान चलाउने, माओवादीदेखि सबै राजनीति आस्थासँग जोडिएका जनतासँग जाने उद्घोष गरेको छ । जनताका गुनासा आलोचना सुन्ने गरी नेताहरू सबै जनताको घर आगनमा जाने निर्णय गरेको छ ।
माओवादीले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ जनतासँग माओवादी अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।
प्रचण्डले तीन महिना एकताबद्ध भएर अभियान चलाएपछि नयाँ पार्टी बन्ने अवस्था देखेको भन्दै नेताहरूलाई उत्साहसाथ लाग्न निर्देशन पनि दिएका छन् ।
बैठकलाई सम्बोधन गदै प्रचण्डले क्रान्तिका उपलब्धिको रक्षा गर्न नसकेमा प्रतिक्रान्तितिरै फर्किने खतरा रहेको कुरामा जोड दिएका छन् ।
अहिले पनि पार्टीमा शान्ति प्रक्रिमा आउनु सही हो कि गलत हो भनेर बहस भइरहेको र त्यो बहस निकै लामो समयसम्म चल्ने प्रचण्डले बताए ।
उनले अहिले पनि माओवादीलाई विभिन्न आरोपमा हेप्ने, कतै अझै सक्न सकिन्छ कि भनेर चिहाउने काम भइरहेको भन्दै सचेत रहन आह्वान गरे ।
बैठकको अन्तिम दिन प्रचण्डले आफ्नो र सचिवालयका विषयमा उठेका प्रश्नको जवाफ माओवादी आन्दोलनसँग जोडेर दिए । उनले आफ्नो विरोधमा उठेका प्रश्नको उत्तर माओवादी युद्धसँग जोडेर दिँदा सबैलाई भावुक बनाए । उनले अलिकति वैचारिक र अलिकति भावनात्मक रुपमा उत्तर दिएर आफू र सचिवालयमाथि लागेका आरोपहरू मत्थर मात्र पारेनन् कि पार्टीलाई पुन: नयाँ बनाउने प्रतिबद्धता जनाएर नेताहरूलाई उत्साहित पारेका छन् । प्रचण्डले यो बैठक आत्मालोचनाको बैठक रहेको भन्दै सबै नेताहरूलाई ढाढस दिए ।
'माओवादीमा 'जनयुद्ध' लडेका मात्र माओवादी हौँ भन्ने कुरा मात्र गर्न नहुने अहिले 'जनयुद्ध' लडेका, जनआन्दोलन र वाम पृष्ठभूमिका सबै रहेको भन्दै 'जनयुद्ध' लडेका मात्र माओवादी हौँ भन्ने कुरा त्याग्नुपर्ने' बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
आफूमाथि प्रश्न गर्ने नेताहरूलाई उनले मुख्य डिरसिप नै जोखिम उठाएर सुशासनको, भ्रष्टाचारविरुद्धको लडाईंमा होमिएको समयमा पार्टी एकताबद्ध भएर जानुपर्ने बताएका छन् । उनले ललितानिवास जस्ता थुप्रै प्रकरणका फाइल खोलिएको उल्लेख गर्दै भ्रष्टारविरुद्ध खुलेका सबै फाइल एउटा निचोडमा नपुगेसम्म बन्द नहुने जनाए ।
उनले बैठकमा आफूविरुद्ध उठेका प्रश्नमाथि जवाफ दिँद अहिले आफ्नो नेतृत्वको सरकारले सुशासन र समृद्धिको कुरा उठाएपछि आफूविरुद्ध मुद्दा चलाइएको भनेर सेन्टिमेन्ट कुरा गरे । उनले भने, ‘हामीले सुशासन र समृद्धिको कुरा उठाएपछि हाम्रो पार्टीको नेतृत्वविरूद्ध दुई–दुईपटक गिरफ्तार र जेल हाल्नुपर्छ भनेर मुद्दा हालियो, एकपटक हत्याराका रुपमा र अर्काेपटक बाल सिपाही प्रयोग गरेको भनेर ।’ बाहिरका मानिसहरू नेतृत्वविरुद्ध एकताबद्ध भएको समयमा पार्टीभित्रबाट पनि मुख्य नेतृत्वविरुद्ध लागेको भन्दै घुमाउरो तरिकाले असन्तुष्टि पोखे ।
‘अहिले हाम्रो नेतृत्वमा सरकार भएर सामाजिक न्यायको पक्षमा काम गर्ने संकल्प भएपछि ठूलो प्रहार भयो ।’ उनले बैठकमा आफूमाथि लागेका सबै आरोपहरूको जवाफ नदिएर सरकारले गरेका राम्रा कामको बढी चर्चा गरे ।
माओवादी केन्द्रले अब आईटी फोरम नेपालको माध्यमबाट पार्टीका कामहरू गर्ने भएको छ । जसमा मोबाइल एप्स बनाउने, पार्टीका सदस्यता अलनाइबाट हुने बनाउने, हरेक पार्टी सदस्यहरूको सूची, नेतृत्वको सूचि व्यवस्थित वेवसाइट निमार्ण गरेर गर्ने भएको छ ।
आईटीबाट सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने भएको छ ।
यो बैठकमा माओवादीका नेताहरूले आफ्नो पार्टी अध्यक्ष र पदाधिकारीको आलोचना गरेका थिए । रिपोर्टिङ गर्ने क्रममा अधिकांश नेताहरूले अध्यक्ष नातावाद, परिवारवादमा फसेको, छोरी ज्वाईंलाई अवसर दिएको भन्दै आलोचना गरेका थिए ।
माओवादीमा यो बैठकबाट पुस्तान्तरण, नेतृत्वको अत्तराधिकारी, दोस्रो पुस्ताले गुटबन्दी गरेको लगायतका बहस उठे । माओवादीमा विचार र व्यवहार नमिल्दा पार्टी कमजोर भएको भन्दै सुधार्नलाई नेतृत्व नै पहिला सुर्धनु पर्ने धारणा आए ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० २०:३०