माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका गतिविधि र कार्यशैलीलाई लिएर सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस अहिले बिच्किएको मात्र छैन, सरकारबारे पुनर्विचार गर्ने तहमा पुग्न लागेकाे संकेत देखिएकाे छ । अहिलेकै स्थितिमा अघि बढ्न कठिन हुने नेताहरूले भन्न थालेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण पुर्पक्षका लागि थुनामा जाँदा मुख नखोलेको कांग्रेस पछिल्लोपटक सांसद सुनिल शर्मा पक्राउ परेपछि भने तीव्र असन्तुष्ट बनेको छ । प्रचण्ड सरकार छाड्ने तहमा नपुगे पनि कांग्रेस दबाब बढाउनुपर्ने आवाज शुक्रबार र आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उठेका छन् । कांग्रेसका प्रभावशाली नेताहरूले नै प्रचण्ड सरकारको तीव्र आलोचना गरेका छन् । सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेतृ डा. आरजु राणा देउवाले त प्रस्टैसँग सरकारका गतिविधि पाकिस्तानी शैलीका भएको र अब सोच्नुपर्ने बेला आएको समेत बताइसकेकी छन् ।
आरजुभन्दा एक कदमअगाडि बढेर नेता प्रदीप पौडेलले सुन तस्करी प्रकरणलगायत सबै काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यो नगरे प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव नै संसदीय दलको बैठकमा राखेका छन् । ‘यत्रो दिनसम्म सुन प्रकरणमा भरियाबाहेक कोही पक्राउ परेको छैन । भरिया बनाउनेलाई पक्राउ गरिएको छैन । राजनीतिक नेतृत्वको संलग्नता छ त भन्दिनँ तर भन्सारमा सबैको मिलेमतो नभई यो पास हुन सक्दैन,' उनले बैठकमा आफूले बोलेको विषयबारे शिलापत्रसँग भने, 'त्यसैले यो सुन प्रकरण मात्र होइन, अन्य सबै प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने निर्णय संसदीय दलले गर्नुपर्छ । यदि प्रचण्ड सरकारले समिति बनाएन भने समर्थन फिर्ता लिनुपर्छ ।’
कांग्रेस प्रचण्डसँग यसरी बिच्किनुको कारक बनेका छन्, सांसद सुनिल शर्मा । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीको सीआईबीले घरबाटै पक्राउ गर्यो । पक्राउ पुर्जीसमेत नदिएर आफूलाई पक्राउ गरिएको शर्माले बताएका छन् । पक्राउ गरेकाे २३ घण्टापछि मात्र पक्राउ पुर्जी दिइएको र आफूमाथि हिरासतभित्र हातपातसमेत भएको उनकाे दाबी छ ।
आफ्नै पार्टीको सरकारमा आफ्नै पार्टीका सांसदलाई पक्राउ गर्दाको शैलीले कांग्रेस नराम्ररी झस्किएकाे छ । नेतृ आरजु राणाले कांग्रेसलाई मात्र छानीछानी पक्राउ गरिएको यसै कारण भनेकी हुन् । हुन पनि प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै कांग्रेस र एमालेका नेताहरूलाई धमाधम पक्राउ गरिरहे पनि ९ किलो सुन प्रकरणका चिनियाँ तस्करसँग जाेडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराबारे कुनै अनुसन्धान भएकाे छैन । सीआईबीले उनीहरूकाे कल डिटेलसहित प्रतिवेदन बुझाए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरा बाबुछाेराकाे संरक्षण गरे । उनीहरूलाई सोधपुछसमेत गरिएन । आफ्नालाई बचाउने र अरु पार्टीका नेताहरूलाई पक्राउ गरेको भन्दै कांग्रेस प्रचण्डप्रति असन्तुष्ट देखिएको हो ।
त्यसैले पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेकै लाइनमा कांग्रेस नेताहरू उभिन थालेका छन् । प्रदीप पौडेल मात्र नभई अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि सुन तस्करीबारे उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् । उनले नेपाल तस्करको अखडा बनेको भन्दै उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताएका छन् । उनले एमालेले किन यो माग गरेको हो भन्नेबारे पनि नेतृत्वले सोच्नुपर्ने बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतमले सुनकाण्डमा अन्य पार्टीका नेताहरूको नाम आए पनि सरकार चुप लागेको भन्दै आक्रोश पोखिन् । उनले सांसद शर्मालाई पक्राउ गरेकोमा पनि आपत्ति जनाइन् । अर्थमन्त्री प्रकाशशरण महतले सरकार पूर्वाग्रही नहुनेभन्दै सरकारको बचाउ गरेका थिए ।
प्रचण्ड सरकारसँग असन्तुष्ट देखिए पनि कांग्रेसले तत्काल समर्थन फिर्ता लिने सम्भावना भने नरहेको आइतबारको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भनेको कुराले संकेत गर्छ । उनले दलको बैठकमा सरकार ढाल्ने र बनाउने विषयमा छलफल नै नभएको बताएका छन् । उनले आइतबारसम्म ५० जना सांसदले आफ्नो धारणा राखेको भन्दै सोमबार बाँकी सांसदको धारणा आउने बताए । उनले सांसदहरूको धारणालाई समेटेर केही निर्णय हुने जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १८:४१