नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले उपाध्यक्ष सुवास नेम्वाङको निधनले इलामले एक असल अभिभावक गुमाएको बताएका छन् । ‘नेम्वाङको निधनले इलामका जनताले नेता मात्रै गुमाएका छैनन्, सुखदुःखको अभिभावक पनि गुमाए,’ शिलापत्रसँग उनले भने ।
शिलापत्रसँगको भिडियो अन्तर्वार्तामा उनले भने, ‘मेरो त पारिवारिक सम्बन्ध पनि भएका कारण उहाँको निधनले असाध्यै दुखित छु । उहाँको अभावबाट इलामले पाउने अवसर पनि गुम्ने हो कि भन्ने चिन्ता पनि छ ।’
'विद्यार्थी राजनीतिदेखि नै समन्वयकारी तथा शालीन स्वभावका कारण उहाँमा अहंकार र दम्भ कहिल्यै देखिएन । सधैँ समन्वयकारी भूमिकामा हुनुहुन्थ्यो । मैले कहिल्यै पनि उहाँमा पूर्वाग्रह र आक्रोश देखिनँ,' नेम्वाङलाई सम्झिँदै नेता बस्नेतले भने ।

इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बस्नेतले नेम्वाङको स्वभाव अरुलाई पिर पार्ने नभई बरु आफैँ पिर लिने भएको बताए । 'उहाँको स्वभाव नै बरु आफैँ पिर लिने तर अरुलाई पिराउने थिएन । त्यसैले त आज नेम्वाङलाई सबैले मिस गरिरहेका छन्,' उनले भने ।
पछिल्लो समय पार्टी मिलाउने काममा नेम्वाङले निकै मेहनत गरिरहेको उनले स्मरण गरे । 'उहाँले देखेको सपना अब हामीले पूरा गर्नुपर्छ । पार्टी विभाजित गरेर कसैलाई फाइदा पुगेको छैन,’ बस्नेतले भने ।
हेर्नुस् बस्नेतसँग गरिएको भिडियो कुराकानी:
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १३:०६