नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा पूर्वकेन्द्रीय उपाध्यक्ष भीम रावलका उम्मेदवार भरत साउँदलाई पराजित गर्न केन्द्रीय नेताहरू एकजुट भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका नाममा साउँदलाई पराजित गर्नेगरी केन्द्रीय एकजुट भएका हुन् ।
प्रदेशकाे नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेपछि सर्वसम्मत चयन गर्ने प्रयास थालिएको भए पनि यहाँ दुई प्यानलबीच भिडन्त हुने देखिएको छ । समाचार तयार पारुन्जेल नेताहरूबीच सहमति हुन नसकेको जनाइएको छ ।
नेताहरू कर्णबहादुर थापा, लेखराज भट्ट र दामोदर भण्डारीबीच माेटामाेटी सहमति भइसकेकाे छ । उनीहरूले कृष्णप्रसाद जैशीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उनीहरूको सहमतिकाे खाकामा सचिवमा रणबहादुर चन्दकाे नामा छ ।
चार दिनसम्म लम्बिएको प्रदेश अधिवेशनमा केन्द्रीय नेताको प्रभाव देखिएको छ । अध्यक्ष केपी शर्मा ओली पनि जैशीलाई अध्यक्ष बनाउन सहमत भएका छन् । तर, नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलको समर्थनमा उम्मेदवारी दर्ता गरेका भरत साउँद पछि हट्ने मनस्थितिमा छैनन् ।
एमाले सुदूरपश्चिम इन्चार्ज हरिलाल विश्वकर्माले सहमतिको प्रयास जारी रहेको बताए । उनले भने, ‘अन्तिम उम्मेदवारीको नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्यसैअनुसार पदाधिकारीको निर्वाचन हुने वा नहुने थाहा हुन्छ ।’
साउँद पछि नहटेपछि भट्टको समर्थनमा रहेका बचनबहादुर सिंह र दामोदर भण्डारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका कमलबहादुर तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गर्न लगाउने र जैशीलाई बहुमतका साथ विजयी गराउने रणनीतिमा नेताहरू छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी र सचिवमा कैलालीका रणबहादुर चन्दलाई सर्वसम्मत बनाउनेगरी प्रारम्भिक खाका तयार छ । जैशी र चन्द फरक टिमबाट चुनावमा होमिने तयारीमा थिए ।
जैशीलाई स्थायी कमिटी सदस्य कर्ण थापाको समर्थन रहेको छ भने चन्दलाई प्रदेश अध्यक्ष दामोदर भण्डारीको समर्थन रहेको छ । प्रदेशको सचिवमा चन्दसहित राजेश खाती, रतनराज रेग्मी र जीवनकुमार बमले उम्मेदवारी दिएका थिए । बमले फिर्ता लिइसकेका छन् ।
प्रदेशको नेतृत्वका लागि भीम रावल समर्थित नेताहरूलाई अलग राखेर सहमतिकाे प्रयास भएपछि रावल पक्षधर अध्यक्ष पदका उम्मेदवार भरत साउँद प्यानलसहित निर्वाचनमा जाने तयारीमा छन् । उनको प्यानलबाट उपाध्यक्षमा हजारी साउँद, सचिवमा रतन रेग्मी, उपसचीवमा नरबहादुर विश्वकर्मा र अर्चना गहतराज छन् ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० ०८:३९