दसैँ भन्ने बित्तिकै खानेकुरा खाने चाडको रूपमा लिइन्छ । दसैँमा लामो समय बिदा हुन्छ । यो बेलामा परिवारजनसँग भेटघाट पनि हुन्छ ।
टाढाटाढामा आफन्तहरू भेटघाटका लागि आउने जाने भइरहेको हुन्छ । यो पर्वमा भेटघाट जमघट छुट्टी सबै कुरा मिलेको हुनाले यही बेला रमाइलो गर्छन् । र, रमाइलोमा खानपिन नै बढी हुने गर्छ ।
तर, मुटुको रोगको एउटा प्रमुख कारण खानपानलाई लिने गरेका छन्, मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले । ‘यदि खानपान अस्वस्थकर भयो भने रोग लाग्छ । र, रोग छ भने अझ बढ्छ । जसले गर्दा मानिसको मृत्यु समेत हुन सक्छ’, उनी भन्छन्, ‘चाडपर्वको बेला हामीले स्वास्थ्यमा धेरै जटिलताहरू उत्पन्न हुने गरेको पाएका छौँ । र, धेरैको मृत्यु हुनेको गरेको पनि पाएका छौँ ।’
खानपान कसरी मिल्दैन ?
चाडपर्वका बेला आवश्यकताभन्दा बढी रातो मासु खाने गरिन्छ । मुटुका लागि रातो मासु राम्रो मानिँदैन । यो मुटुका लागि मात्र नभएर सम्पूर्ण स्वास्थ्यका लागि खराब मानिन्छ ।
डा. रेग्मीका अनुसार थोरै मात्रामा रातो मासु खाँदा फरक पर्दैन । थोरै मात्रामा मानिसले जे खाए पनि पच्छ । त्यसैले हरेक व्यक्तिले आफूले पचाउन सक्ने मात्रा खानेकुरा खानुपर्छ । तर, दसैँमा मानिसहरू धेरै मात्रा चिल्लो, रातो मासु खाने गर्छन् । अझ योसँगै जंकफुडको सेवन पनि धेरै गर्छन् ।
उनी भन्छन्, ‘मासु मात्र नभएर मासुको साथमा अरु थुप्रै दालमोट, चिप्सलगायत प्याकेटका खानेकुराहरू खान्छन् । र, फेरि कोकाकोला, फ्यान्टा, पेप्सीलगायतका पेय पदार्थको सेवन गरिरहेका हुन्छन् । यी सबै कुरा स्वास्थ्यका लागि अति नै हानिकारक मानिन्छन् ।’
पछिल्लो समय मासुसँग बियर, रक्सीको सेवन पनि बढ्दै गएको छ । सबै कुरा यसरी खाँदा अस्वस्थकर खानेकुराको ‘ओभर इटिङ’ हुन्छ । यस्ता खानेकुराले शरीरमा नुनको मात्रा बढ्छ । चिल्लोको मात्रा बढ्छ । युरिक एसिडको मात्रा बढ्छ । मधुमेह बढ्छ । र, उच्च रक्तचापको समस्या पनि बढ्छ ।
‘यस्ता खानपिनले उच्च रक्तचाप ठाउँको ठाउँ बढ्छ । र, यसले तुरुन्तै असर पुर्याउन सक्छ । त्यसैले दसैँको समयमा खानपानमा एकदमै विचार पुर्याउनु जरुरी हुन्छ’, डा. रेग्मी भन्छन् ।
बाँच्नका लागि खाना खानुपर्छ । तर, त्यो जरुरतभन्दा बढी भने हुनु हुँदैन । मासु खाँदा सलाद प्रशस्त मात्रामा खानु पर्छ । फलफुलहरू खानुपर्छ । दसैँको बेला शरीरलाई आराम धेरै हुन्छ । लामो समयसम्म मानिसहरू एक ठाउँमा बसेर खानेकुरा खाने अनि तास खेल्ने गरिरहेका हुन्छन् ।
त्यसैले व्यायम गर्न कुनै बेलामा पनि छोड्नु हुँदैन । कोठाभित्र बस्नुभन्दा परिवारसँग मिलेर बाहिर घुम्न जानु पर्छ । डा. रेग्मीका अनुसार खानेकुरा रातको समयमा धेरै खानु हुँदैन । बिहान, दिउँसो खाने गर्नुपर्छ । रातिको समयमा जतिसक्यो त्यति कम खानुपर्छ । र, अर्को महत्त्वपूर्ण कुरा मासु पकाउँदा चिल्लो कम प्रयोग गर्नुपर्छ ।
उनी भन्छन्, ‘मासु पकाउने धेरै तरिका छन् । थोरै चिल्लोमा पकाउन सकिन्छ । उसिनेर, साँधेर पनि खान सकिन्छ । त्यसमा पनि मुटुको रोग वा कोलेस्ट्रोल धेरै भएका व्यक्तिहरूले रातो मासुको सेवन गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।’
त्यसैगरी रातिसम्म बसेर तास खेल्नु हुँदैन । यो समयमा धेरै मानिसकाको सुत्ने वा उठ्ने समय नमिल्दा पनि स्वास्थ्यमा समस्या उत्पन्न हुने गर्छ ।
रक्सी सेवन गर्न मिल्छ ?
डा. रेग्मीका अनुसार रक्सी सेवन गर्नु हुँदैन भनेर भन्न कठिन छ । नेपाली समाजमा यसको चलन चल्ती एकदमै धेरै छ । उनी भन्छन्, ‘रक्सीको सेवन मेडिकल साइन्सले फाइदा छैन भन्छ । थोरै पनि रक्सी सेवन गर्नुमा पनि कुनै फाइदा छैन नै भन्निछ । त्यसैले रक्सीको सेवन गर्दै नगरेको राम्रो । तर, यदि कसैले रक्सीको सेवन गर्ने गर्नुभएको भने त्यसलाई नियन्त्रित रूपमा गर्नुपर्छ ।’
रक्सीको सेवन गर्नैपर्ने अवस्थामा थोरै मात्रामा गुर्नुपर्छ । र, पेगको हिसाब गर्ने हो भने दुई पेगभन्दा बढी रक्सीको सेवन गर्नै नहुने डा. रेग्मी बताउँछन् । उनी भन्छन्, ‘भरसक रक्सीको सेवन गर्नु नै हुँदैन । तर, जसले सेवन गर्ने गर्नुभएको छ उहाँहरूले कडा रक्सी ६० एमएल भन्दा बढी सेवन गर्नु हुँदैन । बियर सेवन गर्दा एक बोतलभन्दा बढी गर्नु हुँदैन । र, वाइनको सेवन गर्दा एक गिलासभन्दा बढी गर्नु हुँदैन ।’
त्यस्तै बिरामी व्यक्तिका लागि भने रक्सीको सेवन कत्तिको उचित वा हानिकारक छ यो थाहा पाउन जरुरी हुन्छ । यसका लागि उनीहरूले चिकित्सकका सल्लाह अनुसार मात्र सेवन गर्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८० १९:००