सुदूरपश्चिम प्रदेशमा बर्सेनि ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्रिने गरेको तथ्यांकले देखाएको छ । कैलाली भन्सार कार्यालयका अनुसार वार्षिक हजारौँ टन चिनी अवैध रूपमा भित्रिइरहेको छ । सामान्यतयाः एक जनाले एक वर्षमा छ किलो चिनी उपभोग गर्छन् । यस आधारमा सुदूरपश्चिम प्रदेशमा वार्षिक २० हजार मेट्रिकटनभन्दा बढी चिनीको आवश्यकता पर्छ ।
कैलाली भन्सार कार्यालयका अनुसार कानुनी रुपमा विगत दुई वर्षयता चिनी नाकाबाट आयात भएको छैन । भन्सारबाट चिनी आयात नभए पनि बजारमा छ्यापछ्याप्ती चिनी पाइरहेको छ । तर, सरकारद्वारा सञ्चालन भएको सुपथ मूल्य पसलमा भने चिनी छैन ।
सुदूरपश्चिममा रहेका दुईवटा चिनी मिलबाट वार्षिक ५ हजार टन चिनी उत्पादन भइरहेको छ । आन्तरिक आपूर्ति तथा आयातबाट आपूर्ति हुने चिनीको परिमाण र मागको तुलना गर्दा वार्षिक झण्डै आठदेखि नौ हजार मेट्रिकटन चिनी अवैध रूपमा पैठारी भइरहेको भन्सारको तथ्यांक छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी वितरण शाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मागको ठूलो हिस्सा अवैध रूपमा भित्रिने चिनीले धान्ने गरेको छ । वैध रूपमा आयातित चिनीको मूल्य अहिलेको बजारमूल्यभन्दा बढी हुने बताइन्छ । स्रोतका अनुसार धनगढीका सात/आठवटा व्यापारिक फर्मले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्र्याउने गरेका छन् ।
धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ छ । भारतको गौरीफन्टा बजारबाट भरियामार्फत अवैध रूपमा भित्र्याइने चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ पर्छ । सो मूल्यमा खरिद गरेर ल्याइएको चिनी होलसेल पसललाई ८५ रुपैयाँका दरले तथा होलसेल पसलले खुद्रा पसललाई प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ । खुद्रा पसलले ग्राहकलाई प्रतिकिलो ९५ रुपैयाँका दरले बिक्री गरिरहेका छन् ।
अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिनाले कैलालीमा सरकारको राजस्व संकलनमा पनि प्रभाव परेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार अहिलेसम्म सरकारले चिनी आयात नगर्दा सुपथ मूल्य पसलमा चिनीको अभाव छ ।
दसैँ–तिहार तथा छठजस्ता ठूला पर्वमा मानिसले चिनी, नुन, खाद्यान्नलगायत प्रयोग गर्छन् । तर, सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा चिनी नपाउँदा उपभोक्ताहरू निजी पसल तथा भारतीय बजारमा खरिद गर्न जान बाध्य भएका छन् । धनगढीमा रहेका सुपर मार्केट चौलानी, भाटभटेनीलगायतले सरकारले भन्दा सहुलियत दरमा चिनी दिने गरेका कारण सोप्रति स्थानीयको आकर्षण रहे पनि अहिले भारतीय बजार नै सर्वसाधारणको प्राथमिकतामा परेका छन् ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदा पनि चिनी नपाउँदा त्यसको आकर्षण घटेको छ । धनगढी १ की मेनुका जागरी शुक्रबार चिनी किन्न धनगढीको सहुलियत पसल गएको भए पनि चिनी नपाएको बताउँछिन् ।
सुपत मूल्य पसलमा चिनी नपाउँदा निजी पसलमा महँगोमा खरिद गर्नुपरेको धनगढी– ५ की राधिका ओलीले बताइन् । उनले चाडपर्वका समयमा चिनी धेरै चाहिने भए पनि सुपत मूल्य पसलमा नराख्दा बाहिरबाट खरिद गर्नुपरेको बताइन् । अरु खाद्यान्न पाइन्छ तर चिनी पाइँदैन । यसले सुपथ पसल नाम मात्रैको भएको छ,’ उनले भनिन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले सुपत मूल्य पसलमा अन्य खाद्यान्न सामग्री भए पनि चिनी नआएको बताए । विगत ३ वर्षदेखि केन्द्रबाट नै चिनी नपठाएको उनले बताए ।
‘अहिले हामीसँग चिनी छैन । यसरी भन्नुुपर्दा सुदूरपश्चिम र तराईका जिल्लामा चिनी नै आएको छैन,’ उनले भने, ‘हाम्रो यता यो वर्ष गरेर तेस्रोपटक हो । चिनी आयात नै भएको छैन ।’ उनले अहिले काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा चिनी नआएको बताए ।
कुँवरले भने, ‘टेन्डर प्रक्रिया आयातका लागि केन्द्रले नै गर्ने हो । तर, त्यो अहिले प्रक्रियामै छ । केन्द्रले नै नपठाएपछि भने यहाँ समस्या छ ।’ उनले केन्द्रले नपठाएसम्म कहिले आउँछ भन्न नसकिने बताए । ठूला पर्वमा माग स्वत: बढ्ने गरे पनि आयात नै हुन नसक्दा ग्राहकलाई वितरण गर्न नसकिएको उनको भनाइ छ ।
कार्यालयले चाडपर्वलाई लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा २ रुपैयाँदेखि ७ रुपैयाँसम्म छुट दिएर बिक्री गर्दै आएको कार्यालयका सहायक प्रबन्धक कुवँरले बताए । उनले सुदूरपश्चिममा कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटीको दिपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए ।
‘यस वर्ष धनगढी र अत्तरियामा नुन, चिउरा, तेल, पिठो, मैदा र दाल बिक्री गर्दै छौँ,’ उनले भने, ‘बाँकी ठाउँमा नुन मात्र बिक्री गर्दै छौँ ।’
व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले डोटी र बैतडीबाहेक सुदूरपश्चिमका सात जिल्लामा सुपथ मूल्य पसल असोज २१ गते आइतबारदेखि सञ्चालनमा आएको बताइन् । बजार मूल्यभन्दा यहाँ खाद्यान्नमा सबै खाने कुरामा छुुट रहेको उनले बताइन् ।
‘चाडपर्वलाई लक्षित गरी चामल प्रतिक्विन्टल ५ सय रुपैयाँ छुटमा पसलबाट बिक्री गरिँदै छ,’ उनले भनिन, ‘आगामी मंसिर ३ गतेसम्म ती सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।’
उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यहाँ सुपथ मूल्य पसल सञ्चालन गरिँदै आएको छ । यहाँका पहाडी जिल्लाका लागि चालु आर्थिक वर्षको सुरुवातमा ४० हजार क्वीन्टल चामल कोटा निर्धारण गरिएको छ ।
सरकारले उखु उत्पादनमा ध्यान दिन सकेन : व्यवसायी
कञ्चनपुरमा भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिज सञ्चालन गरिरहेका उद्योगी शंकर बोगटीले उखु उत्पादनमा ह्रास आउँदा देशभर नै चिनीको मागअनुसार पूर्ति हुन नसकेको बताए । उनले वार्षिक १३ लाख मेट्रिकटन चिनी उत्पादन गर्न सक्ने क्षमता भए पनि उखु नपाउँदा सोअनुसार काम हुन नसकेको बताए ।
उनले भने, ‘हामीले किसानलाई बिउ वितरण, उखु खरिद गरिरहेको भए पनि सिँचाइ, विद्युत् लगायतमा सरकारले उखु कृषकलाई सहुलियत दिन सकेको छैन । उखु उत्पादनमा सरकारको जोड नहुँदा चिनी मागअनुसार पूर्ति हुन सकेको छैन ।’
उनले सुदूरपश्चिम प्रदेशमा दुईवटा चिनी मिल भए पनि भारतीय बजारका चिनीले बजार पाइरहेको बताए । उनले भने, ‘हामीले उत्पादन गरेको चिनी यहाँका व्यवसायी तथा उपभोक्ताहरूले नलैजाँदा अन्यत्र पठाउनुपरेको छ । सरकारले हामीले उत्पादन गरेको चिनी खरिदमा पनि ध्यान दिँदैन ।’
सुपथ मूल्य पसलमा डेढ लाखको कारोबार
सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा आएका सुपथ मूल्य पसलमा डेढ लाखको कारोबार भएको छ । गत असोज मसान्तसम्ममा सुपथ मूल्य पसलमा मात्र १ लाख ६२ हजार छ सय १८ रुपैयाँबराबरको कारोबार भएको छ ।
गत वर्ष सो अवधिमा ३ लाख ४५ हजार ७ सय १६ रुपैयाँबराबरको कारोबार सुपथ मूल्य पसलमा भएको थियो । त्यसमध्ये पनि सबैभन्दा बढी २ लाख ८१ हजार ७ सय रुपैयाँबराबरको नुन मात्र बिक्री भएको थियो । तर, यो वर्ष भने १ लाख ४३ हजार ४ सय ७८ रुपैयाँबराबरको नुन बिक्री भएको साल्ट ट्रेडिङले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीमा ४ हजार ४ सय ५५ किलोग्राम नुन बिक्री भएको छ ।
छैन चिउरा, तेल
साल्ट ट्रेडिङ कर्पोरेसनले सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि पाँचवटा पसलमा नुनबाहेक अन्य कुरा पाइँदैन । कार्यालयका अनुसार महेन्द्रनगर, दिपायल, बैतडी, डडेल्धुरामा नुनबाहेक केही नपाउने गरेको जनाइएको छ ।
कैलालीको टीकापुरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा नुनसमेत नपाउने गरेको जनाइएको छ । टीकापुरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा नुन, चिउरा र तेल नपाउँदा बिक्री शून्य रहेको जनाइएको छ । सरकारले यसै वर्षदेखि टीकापुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो तर, नुनसमेत नपाउँदा सो क्षेत्रका मानिसले अन्यत्र गएर खरिद गर्नुपर्ने बाध्यता छ ।
कार्यालयका अनुसार महेन्द्रनगरमा ३ सय ८, अत्तरियामा १ सय ३१, दिपायलमा ३ सय ५१, बैतडीमा ८ सय २६, डडेल्धुरामा १ हजार ९ सय र धनगढीमा ४ हजार ४ सय ५५ किलो नुन बिक्री भएको छ भने चिउरा अत्तरियामा ५ किलो, धनगढीमा ३९ र तेल अत्तरियामा १५ तथा धनगढीमा ४९ किलोग्राम बिक्री भएको तथ्यांक छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८० १०:३६