प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल दसैँअघि नै राजीनामा दिने मुडमा थिए । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणअघि राजीनामा दिने मुडमा रहेका गजुरेल दुई महिना पर सरे । अनि, २० मंसिरमा राजीनामा बुझाउन प्रधानमन्त्री प्रचण्डसमक्ष पुगे । गजुरेलले राजीनामा पत्र बुझाएपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘त्यसो भए पार्टीमा भूमिका हेरौँला न त ।’
त्यसपछि प्रचण्डसँग बिदा भएका गजुरेल २० मंसिरपछि सिंहदरबार छिरेका छैनन् । प्रधानमन्त्री प्रचण्डले गजुरेलको राजीनामा स्वीकृत भने गरिसकेका छैनन् । मौखिक रूपमा प्रधानमन्त्री प्रचण्डले राजीनामा स्वीकृत गरेको आशय व्यक्त गरेपछि लिखित रूपमा स्वीकृत नगरे पनि गजुरेल सिंहदरबार प्रवेश गरेका छैनन् ।
गजुरेलले मुख्य राजनीतिक सल्लाहकारबाट किन राजीनामा दिए भन्ने अहिलेसम्म खुलेको छैन । औपचारिक रूपमा गजुरेलले कारण बताएका छैनन् । उनको सम्पर्कमा पुग्ने सञ्चारकर्मीलाई राजीनामाको कारण लिखित पत्रमै भनेको मात्रै बताउने गरेका छन् । त्यसबाहेक गजुरेलले प्रधानमन्त्री प्रचण्डसँग नीतिगत असहमति रहेको बताउँछन् ।
शिलापत्रसँगको कुराकानीमा गजुरेलले प्रधानमन्त्री प्रचण्डसँग नीतिगत कुरामा बेमेल भएपछि राजीनामा दिएको बताए । गजुरेलले भने, ‘मैले राजीनामा दिएको छु । यसमा कुनै व्यक्तिगत कुरा छैन । सरकारको काम गर्ने तौरतरिकामा फरक आयो । पहिला कस्तो थियो, अहिले कस्तो छ ? नीतिगत कुरामा असहमति हो । बाहिर अहिले भनेको छैन ।’
तर, पछिल्लो समयमा उनी पार्टी र सरकार दुवैसँग असन्तुष्ट रहेको बुझिन्छ । उनले नीतिगत असहमति के हो ? भन्नेमा पनि प्रस्ट पारेका छैनन् । रुष्ट भएकै कारण गजुरेललाई ९ माघ २०७९ मा प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा सेटल गरिएको चर्चा थियो ।
महराकाण्डपछि असन्तुष्टि
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेका प्रयासलाई खुलेर प्रशंसा गरेका गजुरेलले सुनकाण्डपछि परिस्थिति फेरिएको बताउने गरेका छन् । सरकार नीतिगत समस्याका कारण भोलिका दिनमा प्रतिरक्षा गर्न नसकिने भएकै कारण छोडेकोसमेत उनले बताउने गरेका छन् । त्यसको अर्थ सरकार भ्रष्टाचारमा संलग्न रहेको र त्यसबाट सिर्जना हुने बदनामीको प्रतिरक्षा गर्न सकिँदैन भन्ने हो । हुन त, हरिबोललाई प्रमुख राजनीतिक सल्लाहकारमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गरे पनि प्रचण्डकी छोरी गंगा दाहाल भने खुसी थिइनन् ।
गंगाकै कारण गजुरेलको सिन्धुलीमा प्रतिनिधिसभाको चुनावमा टिकट खोसिएको थियो । त्यसले गर्दा गंगाले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा पनि खुम्च्याउने प्रयास गरेकी थिइन् । त्यसपछि पछिल्ला दिनमा गंगाको भूमिकामाथि सार्वजनिक वृत्तमै प्रश्न उठ्न थालेपछि गजुरेल थप रुष्ट भएको बताइन्छ । यद्यपि, त्यसलाई गजुरेलले कारण बनाएका छैनन् ।
पार्टी नेताहरू र उनका आफन्त सुनकाण्डमा जोडिएपछि सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसरी काम नगरेकाले असन्तुष्टि राख्दै आएकाले राजीनामा दिएको गजुरेलनिकट नेताहरू बताउँछन् । उनीनिकट स्रोतले शिलापत्रसँग भन्यो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले राम्रोसँग काम गर्दा सबै सन्तुष्ट थिए । प्रधानमन्त्री र उनको सिङ्गो टिम पनि सन्तुष्ट नहुने कुरा भएन । यसरी नै काम गर्दै गए सरकारको छवि आम जनमानसमा राम्रो हुने र माओवादी पार्टीका लागि पनि फाइदा हुने अवस्था आएको थियो । तर, जब सुन समातियो र त्यसमा माओवादी नेता कृष्णबहादुर महरा र उनका आफन्त जोडिँदै जाँदा गृहमन्त्री र प्रधानमन्त्रीले कडा रूपमा एक्सन नलिने नीति लिएपछि गजुरेल रुष्ट भएका हुन् ।’
विद्युतीय सिगरेट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन भन्सारमा समातिएपछि माओवादी केन्द्रका उपाध्यक्ष महरा र उनका छोरा राहुल नै जोडिएका थिए । उक्त सुन प्रकरणमा राहुल चिनियाँ तस्करसँग संलग्न भनिएको थियो । १३ भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहुललाई मात्र पक्राउ गर्यो । बाबु कृष्ण महरा भने छानबिनमा परेनन् । आफ्नै नेताहरू विवादमा मुछिएपछि सुनकाण्ड सेलाउन थालेको र माओवादी पार्टी अब सर्भाइब हुँदैन भन्ने बुझेपछि गजुरेलले प्रधानमन्त्री प्रचण्डसँग दूरी बढाउन थालेको बताइन्छ ।
सरकारले सही तरिकाले काम गर्न नचाहेपछि गजुरेलले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्टि पोखेको उनीनिकट एक नेता बताउँछन् । ती नेताले भने, ‘उहाँ पछिल्लो समयमा सरकारको कामप्रति असन्तुष्ट हुनुहुन्थ्यो । प्रधानमन्त्री र गृहमन्त्रीसँग उहाँले यो विषयमा कुरा राख्नु भयो । तर, दुवै नेताले नमानेपछि उहाँ असन्तुष्ट हुनु भएको हो । सुनकाण्डपछि उहाँ राजीनामा दिने मुडमा हुनुहुन्थ्यो, अहिले दिनुभयो ।’
गजुरेल भने घुमाउँरो भाषामा आफ्नो अपेक्षा अुनसार नभएकाले र यो एक-दुई महिनायताका सरकारको कामप्रति सन्तुष्ट हुन नसक्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘कतिपय कुरा आफूले अपेक्षा गरे अनुसार भएन र त्यसले पारेका असर छन् । भूमिकाबारे मेरो असहमति होइन । सल्लाहकारको काम डे-टु-डे हुँदैन । कहिलेकाहीँ हो । राजीनामा दिएपछि प्रधानमन्त्रीसँग एक दिन फोनमा कुराकानी भएको हो । राजीनामा दिएर मलाई अप्ठ्यारो भयो भन्नुभयो ।’ शिलापत्रसँग गजुरेलले थप भने, ‘प्रधानमन्त्रीले फर्कन भने पनि फर्किन्नँ । फर्कने गरी र घुर्की देखाउनलाई राजीनामा दिएको होइन ।’
प्रधानमन्त्री प्रचण्डको सचिवालयमा सिन्धुलीका नेता राजन दाहालको प्रभाव विस्तार भएकाले गजुरेल बाहिर पर्दै गएको पनि विश्लेषण भइरहेको छ । दाहाललाई सिन्धुलीबाट प्रतिनिधिसभाको टिकट दिलाउन प्रचण्डभन्दा पनि उनको सचिवालयबाट बढी बल गरिएको थियो । पहिला ओलीसँग निकट देखिएको आशंकामा गजुरेलको टिकट खोसिएको चर्चा पनि चलेको थियो । तर, राजन दाहाल र गंगा दाहालको सम्बन्धकै कारण गजुरेलको टिकट मात्र होइन, अहिले सल्लाहकारको भूमिकाबाट पनि बाहिरिनु परेको पार्टीभित्र टिप्पणी भइरहेको छ ।
पहिलादेखि नै असन्तुष्ट
गजुरेलले गत वर्ष ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुलीबाट टिकट पाएनन् । २९ असोज २०७९ अध्यक्ष प्रचण्डलाई र पार्टी कार्यालयमा पत्र बुझाएका थिए । आफूले टिकट नपाउनुको कारण बैठकमा दिनुपर्ने भन्दै गजुरेलले पत्र बुझाएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुली–२ बाट गजुरेल विजयी भएका थिए । संघीय संसदमा प्रतिनिधित्व गरेका उनी एक पटक मन्त्री भइसकेका छन् । तर, गत वर्ष अन्तिम समयमा आएर टिकट खोसिएपछि गजुरेल चुनावी प्रचारमा पनि नगएको आरोप सिन्धुलीका माओवादी नेताहरू लगाउँछन् ।
पार्टीको महाधिवेशनबाट गजुरेलले महासचिवमा दाबी गरेका थिए । तर, देव गुरुङलाई महासचिव बनाइएपछि पनि गजुरेल पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए । त्यतिबेला गजुरेलले पार्टी नेतृत्व र विचारकै विकल्प खोज्नुपर्ने प्रस्ताव पनि गरेका थिए । अर्थात्, प्रचण्डको विकल्प खोज्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका गजुरेललाई प्रचण्डले ३ महिनापछि प्रमुख राजनीतिक सल्लाहकार बनाए । त्यसको अर्थचाहिँ प्रचण्डले विरोधीलाई कमजोर बनाउन प्रमुख राजनीतिक सल्लाहकार बनाएको चर्चा चलेको थियो । त्यसो त, पार्टीभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने तर्क गरेका गजुरेल किन नियुक्ति बुझेर गए भन्ने नैतिक प्रश्न पनि उठेको थियो ।
३ वर्षअघि नै प्रचण्डको साथ छोड्ने मनस्थितिमा पुगेका थिए- गजुरेल । त्यतिबेला नेकपाको चरम विवादमा गजुरेलले प्रचण्डको साथ छोडेर केपी ओलीलाई साथ दिन थालेका थिए । त्यही समयमा गजुरेलले ओली र प्रचण्ड दुवैले राजीनामा दिएर निकास दिनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । विवादका समयमा आफूलाई साथ दिनुपर्ने गजुरेलले उल्टै राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रचण्ड रुष्ट बनेका थिए । विवादका बेला प्रचण्डले बोलाएका बैठकमा नगएर पनि गजुरेलले असन्तुष्टि पोख्ने गरेका थिए । कतिसम्म भने प्रचण्डलाई ६ बुँदे असहमति पत्र पनि बुझाएका थिए ।यद्यपि, नेकपा विभाजनमा भने अन्तिम समयमा गजुरेल ओलीको साथ छोडेर प्रचण्डसँगै लागेका थिए । त्यसले पनि प्रचण्ड र गजुरेलको दूरी बढाउने काम भने गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १८:१७