नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ सालमा गर्नका लागि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले पार्टीको महाधिवेशन २०८२ भित्र गर्नुपर्ने बताउँदै आएका छन् । संसदीय दलको नेता परिवर्तन गर्दा महाधिवेशन समयमा गर्नुपर्ने दबाब हुने र त्यसो नभएमा २०८४ सालसम्म महाधिवेशन नहुने महामन्त्री थापाको भनाइ रहेको बैठकमा सहभागी एक नेताले शिलापत्रलाई जानकारी दिए ।
‘जतिसक्दो छिटो शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनेतिर लागौं । समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,’ महामन्त्री थापको भनाइ उद्धत गर्दै ती नेताले भने, ‘म र शेखर दाइमा मनमुटाव छैन ।’
आजकाे बैठक नेता शेखर काेइराला र महामन्त्री गगन थापाबीच मनमुटाव बढेकाे बेला भयाे । र याे बैठकले उनीहरूबीच बढ्दाे दूरी घटाउने काम गरेकाे नेताहरूले बताएका छन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएकाे बैठककाे अन्त्यमा पुन: छलफल गर्ने र नयाँ अभ्यासका लागि तयार हुनुनर्पे शेखर काेइरालाको भनाइ थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शेखरले आफ्नो समूह ठीक ढंगले चलिरहेको बताए । समूहमा समस्या आएको हो भन्ने प्रश्नमा कोइरालाले भने, ‘समूहमा समस्या थिए र छैन पनि । ठीकठाक छ ।’ उनले समूह राम्रोसँग नचलेको भन्ने विषयमा कुरा उठाउने सबैले पाउने बताए ।
नेता कोइरालाले आफू र महामन्त्री थापाबीच कुनै मतभेद नरहेको बताए । ‘गगनजी र मबीच एजेन्डामा कुनै पनि मतभेद छैन,’ उनले भने । कोइरालाले गगनको उमेर र आफ्नो उमेर फरक भएकाले सोचाइमा भने फरकपन हुने बताए ।
‘उहाँको उमेर र मेरो उमेर फरक छ । त्यसैले उहाँको सोचाइ र मेरो सोचाइमा पनि फरक होला,’ उनले भने, ‘एजेन्डामा भने हामीबीच कुनै मतभेद छैन ।’
बैठकपछि महामन्त्री थापाले भने संवाद नहुँदा समस्या सिर्जना भएको बताए ।
महामन्त्री थापाले सभापति देउवाले समूह हेरेर निर्वाचनमा टिकट दिने र अवसर दिने गरेको पनि बताए ।
‘यो कार्यसमिति आएपछि तीनवटा तहको निर्वाचनमा हामीले टिकट वितरण गर्यौँ । तर, ती चुनावमा टिकट बाँड्दा सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । सभापति एउटा समूहको संरक्षकजस्तो बन्नुभयो । आफ्नो समूहमा जो छ त्योसँग एउटा व्यवहार, जो आफ्नो समूहमा छैन वा जसले हिजो अधिवेशनमा आफूलाई मत दिएन, उसलाई हेर्ने अर्को नजर बन्यो,’ उनले भने ।
महामन्त्री थापाले देउवा सिंगो कांग्रेसको सभापति बन्न नसकेको आरोप लगाए । उनले यसपटकको राष्ट्रियसभा निर्वाचनमा देउवा सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुँदैन त्यो परीक्षण हुने बताए । ‘सभापति सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुँदैन यसपटकको राष्ट्रियसभा निर्वाचनमा परीक्षण हुन्छ,’ उनले भने, ‘सभापतिलाई सिंगो कांग्रेसको सभापति बनाउने हो, हामीले त्यसका लागि प्रयत्न गर्ने हो ।’
बैठक महासमिति बैठक, राष्ट्रियसभा चुनाव, समूहको विवाद, समूहका नेताको कार्यशैली पार्टीको गतिविधि सम्बन्धमा केन्द्रित थियो । सबैको साझा धारणा सभापति देउवाको कार्यशैलीको विरोध गर्ने आफूमा रहेको गलत प्रवृति किन नसुधारेको भन्ने प्रश्न उठेको थियो ।
साझा प्रश्नहरूमा यस्ता थिए
बैठकमा नेताहरूले भनेका थिए, 'देउवालाई प्रश्न खराव भन्ने अनि हामी ठीक नहुने ? २ महिनामा केन्द्रीय समिति बस्ने, बसेन भनेर देउवालाई प्रश्न गर्ने अनि हामी महिना दुई महिनामा हामी पनि बैठक नबस्ने ? समीक्षा गर्नुपर्दैन । गगनजी लाई भोट कम गयो, यो समीक्षा भएन किन ? यस्ता धेरै विषय छन् । टिम एकढिक्का छैन भन्ने बाहिर छ के हो यो ? शेरबहादुर देउवालाई गाली गरेर मात्र गुट चल्छ ? हामी सिस्टममा चल्नु पर्दैन ? हामी देउवाभन्दा कसरी फरक भयौं ?'
राष्ट्रियसभामा पुराना अनुहार हुँदैहुँदैन
इतर समुहका बैठकमा राष्ट्रियसभामा कम्तीमा ३–४ सिट आफ्नो समूहले पाउनुपर्ने र त्यसमा पनि न्यायोचित रुपमा वितरण गर्नुपर्ने आवाज उठेको थियो ।
बैठकपछि महामन्त्री थापाले अघिल्लो निर्वाचनमा भाग नलिएका र अवसर नपाएकालाई राष्ट्रियसभामा मौका दिनुपर्ने बताए । ‘यसपटक राष्ट्रियसभा र संविधानको स्पिरिटअनुसार जो साथीहरू योग्य हुनुहन्छ, जसले अहिलेसम्म अवसर पाउनुभएको छैन र जसले अघिल्लो निर्वाचनमा भाग लिनुभएन ती साथीहरूलाई मौका दिने हो,’ थापाले भने, ‘यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि न्यायपूर्ण ढंगले उम्मेदवार बनाउने हो ।’
मापदण्ड बनाएर उम्मेदवार उठाउनुपर्ने र यो कुरा पार्टीमा दबाब दिनुपर्ने आवाज नेताहरूको थियो ।
महासमिति बैठक सार्न हुँदैन
इतर समूहका नेता महासमिति बैठक सार्न नहुने पक्षमा एकमत देखिए । कांग्रेसको नीति अधिवेशनको रुपमा हेरिएको महामिति बैठक पुस १६ देखि १९ सम्म हुने तालिका छ । संगठन र अन्य काममा ध्यान दिनुपरेको र जाडो भएकाले महासमिति बैठक सार्नुपर्ने अवाज पार्टीको संस्थापन पक्षले उठाउँदै आएको छ भने सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिके बैठकम पुसको ठण्डीमा बैठक नराखौँ भनेका थिए ।
‘महासमिति बैठक पुसमा तोकिएको छ । जाडो हुन्छ भन्ने तिक्ने बेलामा थाहा थियो । बैठक तोकिएको समयमा हुनुपर्छ भन्ने कुरा सबै साथीहरूले बैठकमा राख्नुभयो,’ कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले भने ।
देउवालाई गाली गरेर हुन्न
बैठकमा सभापति देउवालाई गाली गरेर गुटको अर्थ नहुने सन्दर्भ पनि आएको थियो । राष्ट्रियसभामा अवसर पाएर चुनाव हारेका व्यक्तिलाई पठाइए देउवा समूह र शेखर समूहमा फरक नुहने नेता सुनील शर्माले बताए । ‘उस्तै काम गर्ने हो भने देउवा समूह र हाम्रो समूहको फरक के ,’ उनले भने ।
त्यस्तै, नेता अर्जुन केसीले पनि देउवालाई गाली गरेर गुटको अर्थ नहुने बताए । ‘देउवालाइ गाली गरेर मात्र गुटको अर्थ भएन नि । सो समूहभन्दा फरक त हुनुपर्याे । हामीले पाएको भागमा प्रष्ट रुपमा अवसर दिनुपर्याे,’ नेता केसीले भने ।
बैठकमा नेता गुरुराज घिमिरेले पनि यहि विषय उठाए । ‘शेदबहादुर दाइको कार्यशैली भएन भन्छौं । उस्तै कार्यशैली अपनाउने हो भने उहाँ र हामीमा के फरक भयो ?,’ उनले प्रश्न गरे ।
उनले महासमिति बैठकको तयारी के छ ? त्यसमा बहसमा आउने भनिएको महिला पदाधिकारी समावेश गरेर समावेशी पदाधिकारी बनाउने सन्दर्भ, पदाधिकारीको संख्या, पार्टी र भ्रातृ संगठनको भद्रगोलका बारेमा प्रश्न गरेका थिए ।
‘हामीभित्रको समस्या भित्रै समाधान गर्ने प्रयास नगरेर गाली गर्दै हिँड्ने सुविधा कसले दियो ?’ उनले भने, ‘गिरिजादेखि अन्य नेतृत्वले पनि गुटको सामना गर्नुभएको थियो । गुटको कुराभित्र व्यवस्थापन गर्ने हो कि बाहिर भन्दै हिँड्ने ?’
समूहको विवाद के हो ?
बैठकमा सबैको जिज्ञासा समूहमा नेता शेखर कोइराला र महामन्त्री थापाबीचको विवाद के हो भन्ने प्रश्न गरेका थिए । त्यसमा दुवै नेताले असहमति नरहेको बताएका थिए ।
‘गुटभित्र समस्या छ । १४ औं महाधिवेशनकाे समूह एक राखेर अरुलाई जोड्ने हो । शेखर बिना पनि समूह रहँदैन । गगन बिना पनि समूह रहँदैन । नेताहरूले समस्या छैन भन्नुभएको छ । तर समस्या छ नि,’ नेता शर्माले भने ।
त्यस्तै नेता जगदिश्वर केसीले कार्यकर्तामा भएको अन्योल हटाउनुपर्ने बताए । ‘समूहभित्र केही विवाद छैन । १५ औँ महाधिवेशनमा एक भएर उभिन्छ । विवाद केही होइन भनेर शेखर दाइले भन्नुभयो । हामीले कार्यकर्तामा भएको अन्योल हटाउनपर्छ भन्यौँ,’ केसीले भने ।
बैठकमा नेता शेखर र महामन्त्री थापालाई गाली गर्ने प्रवृत्ति हुन नहुने भन्ने अवाज पनि उठेको थियो । नेता अजयबाबु शिवाकोटीले महामन्त्री थापालाई समूहभित्रबाट गाली गर्ने गरेको र यसले समूह स्वस्थ नुहने बताएका थिए । त्यस्तै, नेता रञ्जित कर्णले शेखरलाई गाली गरेर नहुने र उनलाई देउवाको कित्तामा राख्न नहुने बताए । इतर समूहलाई वैचारिक समूह बनाउन कर्णको प्रस्ताव थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० १९:०१