प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलगायतका दलसँग मिलेर नयाँ गठबन्धन सरकार बनाएपछि कांग्रेस सत्ताबाट प्रतिपक्षीमा धकेलिएको छ । पार्टी सत्ताबाट बाहिर पुगे पनि सभापति शेरबहादुर देउवा अहिले सहज अवस्थामा छन् । १० पुस २०७९ मा माओवादीले एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेको समयजस्तो चर्को आलोचना हुने अवस्थामा देउवा छैनन् । कारण इतर समूहका नेताहरू गुटगतभन्दा पनि पार्टीको रणनीति बनाउन सभापति देउवालाई सघाइरहेका छन् ।
इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतका नेताहरूले देउवासँग निरन्तर भेट गरिरहेका छन् । सत्ता पाउँदा र भागवण्डाका बेलामा इतर समूहलाई वास्ता नगरेका देउवाले अहिले भने इतर समूहको कुरा सुन्ने गरेका छन् । सरकारबाट सडकमा पुगे पनि अहिले कांग्रेसको तलाउ शान्त छ । एमालेसँगको सत्ता सहकार्यका बारेमा कांग्रेस नबोली तयारी गरिरहेको छ । पार्टीको आन्तरिक कारणले भन्दा पनि प्रधानमन्त्रीले धोका दिएकाले चुनावअघि गठबन्धन पाँच वर्ष जान्छ भनेर गरिएको वाचा तोडिएको कांग्रेसको निष्कर्ष छ ।
२० फागुनमा प्रधानमन्त्री प्रचण्डले सत्ताको काँध फेरेपछि प्रतिपक्षमा पुगेको कांग्रेस अहिले चुनावकेन्द्रित छ । २९ फागुनमा हुने राष्ट्रियसभा चुनाव, ३० गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र १५ वैशाख २०८१ मा हुने इलाम २ तथा बझाङ प्रदेशसभा १ मा हुने उपचुनावमा पार्टी केन्द्रित छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सोमबार ह्वीप जारी गरेको छ । उसले ३० फागुन बिहान ११ बजे बस्ने बैठकमा अनिवार्य उपस्थिति हुन पनि आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
कांग्रेसको आन्तरिक संरचना र संसदीय दलमा सभापति देउवाको बलियो पकड छ । केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी पकड देउवाको छ । संसदीय दलमा ७० प्रतिशतभन्दा बढी पकड देउवाको छ । पार्टी विधानमा सबै काम सभापतिको स्वीकृतिमा हुने व्यवस्थाले पार्टीका नियुक्तिदेखि अन्य आन्तरिक काममा उनको स्वीकृतिबिना केही चल्न सक्दैन ।
‘पार्टीभित्र सभापतिज्यूको जे पोजिसन छ, त्यो निरन्तर रहिनै रहन्छ । सरकारमा नजाने निश्चित भइहाल्यो, पार्टी प्रतिपक्षमा बस्छ, अन्य कुरालाई यसले प्रभाव पार्छजस्तो लाग्दैन,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शिलापत्रसँग भने । योपटक गठबन्धन टुट्नुमा सभापति देउवाको भूमिका नरहेको उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डको बेइमानीले गठबन्धन टुटेको हो भन्ने पार्टीको निष्कर्ष भएपछि यसले पार्टीको आन्तरिक समीकरण होस् या आन्तरिक नेतृत्वको प्रतिस्पर्धामा कसैलाई पनि सकारात्मक वा नकारात्मक असर पार्छ भन्ने म देख्दिनँ,’ उनले भने ।
इतर समूहका नेताहरू नै सभापतिसँग निरन्तर संवादमा रहेपछि समूहले आन्तरिक रणनीति बनाएको छैन । पछिल्लो महासमिति बैठकमा चुनावअघिको गठबन्धन गर्न नहुने प्रस्ताव पारित गराएका महामन्त्री थापा आफ्नो एजेन्डा सही भएकोमा खुसी छन् । रणनीतिक रूपमा अघि बढ्न रुचाउने शेखर पनि मौन छन् । उनले पार्टीको रणनीति बनाउन सभापतिलाई परामर्श दिइरहेका छन् ।
‘अहिले हाम्रोबाट यो गर्ने वा त्यो गर्ने भन्ने केही छैन । पर्ख र हेरको अवस्थामा छौँ,’ शेखरनिकट एक नेताले शिलापत्रसँग भने । उनले केही गर्न नचाहेर होला, समूहगत बेठक पनि राखेका छैनन् । ‘अहिले इतर समूह भनेर केही कुरा भएको छैन । शीर्ष नेताहरू नियमित छलफलमा हुनुहुन्छ,’ सहमहामन्त्री जीवन परियारले शिलापत्रसँत भने ।
इतर समूहका नेता शेखर कोइरालाले संसदीय दलको चुनावमा महामन्त्री थापासँग एउटा सहमति गरेर सभापति देउवासँग चुनाव लड्न दिएका थिए । बीचमा संसदीय दलको नेता परिवर्तन गर्नुपरेमा शेखर उम्मेदवार हुने भन्ने सहमति गरेका शेखरले प्रयास पनि गरेका थिए । आन्तरिक रूपमा बहुमत नहुने देखेपछि उनी पछि हटेका थिए । त्यो प्रयासलाई उनले थाती राखेका छन् ।
‘राष्ट्रियसभा चुनाव, प्रधानमन्त्रीको विश्वासको मतमा पार्टी व्यस्त छ । अहिले संगठन र टिममा नेताहरू धेरै सक्रिय हुनु हुन्न,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले शिलापत्रसँग भने । पार्टी सरकारबाट बाहिरिएपछि सभापति देउवालाई कस्तो क्षति गर्छ भन्ने आकलन गर्ने अवस्था नरहेको उनले बताए । ‘पहिलाजस्तो सभापतिमाथि सिधा आरोप लागेको अवस्था छैन । अहिले गठबन्धन टुट्दा पनि खुसी नै देखिन्छन् । पहिला निराश देखिन्थे,’ उनले भने ।
मन्त्री हुन्छु भनेर लागेका मानिसहरूमा निराशा देखिएको शिवाकोटी बताउँछन् । विभिन्न पेसा व्यवसायमा रहेका र पार्टी सरकारमा छ भन्दा राहत महसुस गर्नेहरू केही मर्कामा रहेको देखिने उनले बताए । ‘आममानिसमा कार्यकर्तामा धेरै निराशा देखिँदैन । त्यसको बलमा हेर्ने हो भने सभापति देउवालाई पनि रक्षात्मक हुनुपर्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘यद्यपि गठबन्धनविरुद्ध महासमिति बैठकमा महामन्त्रीविरुद्ध घेराबन्दी गर्ने प्रयास भएको थियो त्यो व्यर्थ रहेछ भन्ने कुरा घटनाक्रमले देखायो ।’
पार्टीभित्र सभापतिको शक्ति नघट्ने विश्लेषण भइरहँदा विश्लेषक भने कांग्रेस अझ बलियो बन्न सभापति देउवाको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सभापति देउवालाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्न ठूला दलहरू तयार नहुने विश्लेषण विश्लेषक तथा कांग्रेस मामिलाका जानकार सुदर्शन आचार्य बताउँछन् ।
‘उहाँलाई प्रधानमन्त्री मान्न तोडिएको गठबन्धनबाट न प्रचण्ड, न माधव नेपाल तयार छन्,’ आचार्यले शिलापत्रसँग भने, ‘हिजो प्रतिपक्षी र अहिले सत्तापक्षमा रहेको एमाले नै तयार छ । कांग्रेसको नेतृत्वमा भोलिका दिनमा सरकार निर्माण हुने तहमा पुग्न कांग्रेसले संसदीय दलको नेता परिवर्तन गरेर जनताको बीचमा देखाउन लायक व्यक्तिलाई संसदीय दलको नेता बनाउन सक्दा मात्र कांग्रेसको नेतृत्व सम्भव छ । कांग्रेसले आफ्नो संसदीय दलको नेता परिवर्तन नगरी सुखै छैन ।’
देउवा र उनकी पत्नी आरजु देउवा राणा भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएकाले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आचार्यले बताए । कांग्रेसका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, केन्द्रीय सदस्य सबैले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको आचार्यले बताए ।
‘पार्टीबाट पाएको मतलाई सभापति देउवाले सदुपयोग गरेर देशको हितमा लगाउन सक्नु भएन । गुट, परिवार र अर्थोपार्जनमा केन्द्रित हुनुभयो । देशको हितका लागि कांग्रेस पार्टी सभापति र संसदीय दलको नेता पनि परिवर्तन गर्नुपर्ने देखिन्छ,’ आचार्यले भने ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १६:५०