आर्थिक वर्षको बजेट ल्याउनु तीन महिनाअघि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्थासहितको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ यही चैत २१ गतेभित्र पारित हुनुपर्ने बाध्यता रहेको छ ।
तत्कालीन समयमा संसदको अधिवेशन सञ्चालन नभएकाले सरकारले गत माघ ४ गते ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश’ ल्याएको थियो । नेपालको संविधानको धारा, ११४ को उपधारा (२) बमोजिम उक्त अध्यादेश ६० दिनभित्र सङ्घीय संसदको दुवै सदनबाट स्वीकृत भई पारित हुनुपर्नेछ ।
दुवै सभाबाट फागुनको पहिलो साता उक्त अध्यादेश पारित भए पनि सरकारले यही चैत ९ गते मात्रै प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक दर्ता गराएकाले उक्त अवधिभित्र पारित गर्न चुनौती देखिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
प्रतिनिधिसभाको बैठक यही चैत १८ गतेयता बस्ने कार्यक्रम राखिएको छैन । त्यसपछिका तीन दिनमा छलफल र संशोधनका प्रक्रियाबाट दुवै सदनबाट पारित हुन समयको चाप परेको धमलाको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटको छलफल गर्दा बजेट ल्याउनु तीन महिनाअघि नै छलफल गर्नुपर्ने व्यवस्था बनाउनुपर्ने भनेपछि सरकार सहमत भएको थियो । अध्यादेशबाट तीन महिनापूर्व छलफल गर्नुपर्ने व्यवस्था कायम गरी सिद्धान्त र प्राथमिकताबारे छलफल गरिएको हो ।
यसअघि आर्थिक वर्षको बजेट ल्याउनु १५ दिनअघि मात्रै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्था थियो ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८० १३:४५