राष्ट्रियसभा उपाध्यक्षबाट राजीनामा दिएकी नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा भाइ मोह देखिएको टिप्पणी गरेकी छिन् ।
शुक्रबार शिलापत्रसँगको कुराकानीमा अर्यालले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन दिएको र अन्तिममा आफ्ना भाइ नारायण दाहाललाई अध्यक्ष बनाएको बताएकी हुन् ।
'अध्यक्ष प्रचण्डले राष्ट्रियसभा उपाध्यक्षबाट अध्यक्षमा अपग्रेड गर्छु भनेर मलाई आश्वासन दिनुभएको थियो । तर, आफ्ना भाइ नारायण दाहाललाई अध्यक्ष बनाउनुभयो । अन्तिममा उहाँमा भाइ मोह देखियो,' शिलापत्रसँगको कुराकानीमा उनले भनिन्, 'सुरुमै नारायणजीलाई बनाउँछु भनेको भए मैले विमति राख्ने थिइनँ ।'
अर्यालले आफूलाई अध्यक्ष नबनाउन प्रचण्डले पदाधिकारी बैठक बोलाउने भनेर बहाना बनाएको आरोप लगाइन् । ‘मैले प्रचण्डजीलाई भेटेर मलाई अध्यक्ष बनाउनु हुन्छ कि के गर्नुहुन्छ भनेर सोधेको थिएँ । उहाँले घोसेमुन्टो लगाएर पदाधिकारी बैठक बोलाउँछु भन्नुभयो’, उनले भनिन्, 'गठबन्धन फेर्दा पदाधिकारी बैठक नबोलाउने अनि मलाई अध्यक्षको उम्मेदवार बनाउँदाचाहिँ बोलाउनुपर्ने ? म अयोग्य थिइनँ । अहिले लाग्छ, उहाँमा भाइ मोह देखियो ।’
सदनको नेतृत्व महिलालाई दिन प्रधानमन्त्री प्रचण्ड अनुदार देखिएको पनि उनको आरोप छ । अर्यालले तत्काल मन्त्री बन्ने चाहना आफ्नो नरहेको स्पष्ट पारिन् । ‘प्रधानमन्त्रीले तपाईंलाई अब मन्त्री बनाउँछु पनि भन्नुभयो । तर, भर्खर मन्त्रिपरिषद् पुनर्गठन भएको छ । यस्तो बेला म मन्त्री बन्नु ठीक हुँदैन । बाहिर राम्रो सन्देश जाँदैन’, उनले भनिन् ।
उनले आफू राष्ट्रियसभामा माओवादी केन्द्रको संसदीय दलको नेता बन्न तयार रहेको बताइन् । ‘दलको नेता माननीय नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुहुन्छ । त्यसैले अहिले संसदीय दलको नेता रिक्त छ’, उनले भनिन्, ‘म उहाँपछिको सिनियर सदस्य पनि हुँ । त्यसले गर्दा मलाई उक्त पद ठीकै हुन्छ ।’
अर्यालले राष्ट्रियसभा उपाध्यक्षको १४ महिने कार्यकाल उपलब्धिमुलक भएको पनि दाबी गरिन् ।
हेर्नुस् अर्यालसँग गरिएको भिडियो अन्तर्वार्ता:
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १४:५३