यतिखेर नेपाली सिनेमा बजार जात्रामय बनेको छ । चलचित्र महाजात्राले तहल्का पिटिरहेको छ । महाजात्राले सिनेमा घरमा प्रदर्शनको दोस्रो हप्ता मनाइरहँदासमेत दर्शकको बलियो उपस्थितिले निरन्तरता पाइरहेको छ ।
सिनेमाघरमा लागेका धेरैजसो नेपाली चलचित्रले दर्शकको साथ नपाउने अवस्थामा यो चलचित्रले दर्शकको राम्रो साथ पाउनु समग्र नेपाली चलचित्र बजारका लागि सुखद पक्ष हो ।
नेपाली सिनेमा बजारमा उत्साह छाउनु स्वाभाविक हो । उसो त 'महाजात्रा' नेपाली दर्शकका लागि नौलो कथावस्तु भने होइन । नेपाली समाजमा पैसा, सत्ता र शक्तिको सेरोफेरोको कथावस्तुमा २०७२ सालमा तयार भएको सफल चलचित्र 'जात्रा'कै तेस्रो शृंखला हो, जसका लेखक तथा निर्देशक हुन् प्रदीप भट्टराई ।
महाजात्राको यो सफलताले प्रदीप असफल हुन नजान्ने निर्देशकका रूपमा फेरि एकपल्ट स्थापित गराएको छ । उसो त एसएलसी उत्तीर्ण गर्दासम्म प्रदीप स्वयम्ले आफू भविष्यमा चलचित्रमा लाग्छु भन्ने कल्पनासम्म गरेका थिएनन् ।
सलार्हीमा जन्मिएका प्रदीप एसएलसी उत्तीर्ण गरेसँगै थप अध्ययनको सिलसिलामा २०५४ सालमा काठमाडौं प्रवेश गरेका थिए । काठमाडौं आएर उनी लैनचौरस्थित सरस्वती क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भए । पुल्चोक बस्ने उनी लैनचौरमा रहेको म्याम्पस पढ्ने रहरले हिँडेरै पुग्थे ।
तर, क्याम्पस पढाइभन्दा विद्यार्थी युनियनहरूले राजनीति गर्ने थलो बनेको देखेर प्रदीप आजित बने । पढाइ हुनुपर्नेमा महिनौँसम्म क्याम्पस राजनीतिक अखडा बनेको देखेका उनमा बिस्तारै पढाइप्रतिको मन मर्न थाल्यो ।
क्याम्पस जान छाडेर त्यत्तिकै बरालिइरहेका प्रदीप एक दिन पत्रिका हेररिहेका थिए । पत्रिकामा गुण सिनेमा हलको पाँचौँ वार्षिक उत्सवको अवसरमा धेरै चलचित्र निर्देशकको शुभकामना छापिएको थियो । सो पत्रिकामा उनले त्यतिबेलाका सफल निर्देशक तयब शाहको सम्पर्क नम्बर देखे । त्यस नम्बरमा सम्पर्क गरेर तयबको कार्यालयमा पुगे, जतिबेला तयब चलचित्र ‘बेइमानी’मा काम गरिरहेका थिए । उनी हरेक दिनजसो तयबको कार्यालय धाउन थाले । कार्यालयमा उनले कहिले श्रीकृष्ण श्रेष्ठ, कहिले शिव श्रेष्ठ त कहिले विपना थापा आएको देख्थे । त्यसबेलाका स्टार कलाकार देख्न थालेका प्रदीप चलचित्रप्रति कतिखेर आकर्षित भए, उनलाई नै पत्तो भएन ।
तयबकै ‘बेइमानी’पछिको चलचित्र ‘मुक्तिदाता’मा काम गर्ने अवसर पाएका प्रदीपले त्यसपछि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘चाहना मनको’ टेलिसिरियलमा चिफ एसिस्टेन्टका रूपमा काम गर्ने अवसर पाए । ‘मह सञ्चार’सँग काम गर्न पाउनु त्यसबेला सबैका लागि सपना हुन्थ्यो ।
टेलिभिजन कार्यक्रममा काम गरिरहेका प्रदीपले २०६० सालमा ‘महसञ्चार’सँग चौथो तहको निर्देशकका रूपमा जोडिएर काम गर्ने अवसर पाए । कामको लगाव र मिहिनेतकै कारण एउटा प्रोजेक्ट सकिनेबित्तिकै उनले ‘महसञ्चार’को चिफ एसिस्टेन्टको जिम्मेवारी पाए । उनले त्यसपछिका १६ वर्ष निरन्तर ‘महसञ्चार’ मा बिताए ।
२०७२ सालमा चलचित्र ‘जात्रा’ मार्फत निर्देशकका रूपमा डेब्यु गर्दै गर्दा प्रदीप स्वयम्लाई ‘जात्रा’ सफल होला कि नहोला भन्ने ठूलो चिन्ता थियो । तर ‘जात्रा’ले हजारौँ दर्शकलाई सिनेमा हलसम्म तानेन मात्र, समीक्षकको तारिफसमेत पायो ।
डेब्यु चलचित्रमार्फत नै समीक्षक र दर्शकको मन जितेर सफल निर्देशकका रूपमा आफूलाई उभ्याउन उनी सफल बने । ‘जात्रा’ पछि उनीद्वारा नै लिखित तथा निर्देशित चलचित्र ‘शत्रु गते’, ‘जात्रैजात्रा’, ‘महापुरुष’ सम्मले सिनेमाघरमा ५१ दिन मनाएसँगै प्रदीप असफल हुन नजान्ने निर्देशका रूपमा स्थापित बने ।
यतिखेर ‘महाजात्रा’ले पाएको दर्शकको साथले प्रदीपको परिचयलाई झनै बल्लियोसँग स्थापित गराइदिएको छ । उनी भन्छन्, ‘आफैँसँग यो सफलता र दर्शकको विश्वासलाई कहिल्यै मर्न दिनु नपरोस् भन्ने चिन्तनका साथ आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता गरेर अगाडि बढ्नेछु ।’
भिडियो:
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० ०६:५८