ताइवानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्थानीय मिडियाका अनुसार, ९ सय ३४ जना घाइते भएका छन् ।
बुधबार ताइवानको पूर्वी तटलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसलाई २५ वर्षयताकै शक्तिशाली मानिएको छ ।
भूकम्पका कारण भूस्खलन र ढलेका भवनभित्र दर्जनौं मानिस फसेका छन् । उनीहरूलाई बचाउन उद्धारकर्मी खटेका छन् । भूकम्पले १०० भन्दा धेरै भवन क्षतिग्रस्त पारेको छ ।
भूकम्पपछि ६ दशमलव ५ तीव्रताको परकम्पसहित विभिन्न जोडदार झड्का महसुस गरिएको थियो । आगामी दिनमा अझै शक्तिशाली झड्का आउन सक्ने आशंका गरिएको छ ।
ताइवान, जापान र फिलिपिन्सले भूकम्पपछि जारी गरिएको सुनामी चेतावनी खारेज गरेका छन् ।
भूकम्पको केन्द्र हुलिएन काउन्टीमा ताइवानका २३ मिलियन मानिसमध्ये करिब ३ लाखको मानिसको घर छ । ताइवान एक स्वशासित लोकतन्त्र हो, जसको वैश्विक व्यापारमा ठूलो प्रभाव छ ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १८:३१