आगामी १५ वैशाखमा इलाम– २ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका २० जना उम्मेदवार घरदैलो अभियानमा छन् । उपनिर्वाचनबाट निर्वाचित हुने सांसदको कार्यकाल भने करिब साढे तीन वर्ष हुनेछ । उम्मेदवारहरू इलाम र बाहिरी जिल्लाका पनि छन् । उनै उम्मेदवारहरूलाई चुनावी एजेन्डा, मतदाताले मत दिनुपर्ने कारण, चुनाव जित्ने आधारलगायत विषयमा केन्द्रित रहेर ‘उम्मेदवारसँग पाँच प्रश्न’ शृङ्खला शिलापत्रले सुरु गरेको छ । दोस्रो शृङ्खलामा छन्– पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम ।
०००
आगामी १५ वैशाखमा इलाम–२ मा हुने चुनावमा तपाईंलाई मतदाताले किने मत दिने ?
प्रदेश १ को भूगोलमा बसोबास गर्ने विशेषतः आदिवासी/मूलवासी (भूमिपुत्रहरू)को वर्षौंदेखि दबाइएको पहिचान जोगाएर अस्तित्व रक्षा गर्नुपर्ने अवस्था छ । अर्को, यहाँको भूगोलमा बसोबास गर्ने आदिवासी/गैरआदिवासी बीचमा सह–अस्तित्व कायम गर्दै शान्ति र समृद्धिका लागि मुलुकलाई अगाडि बढाउनुपर्ने र आफ्नो जिल्ला/क्षेत्रलाई समृद्धि र विकासको दृष्टिले अगाडि बढाउनुपर्ने हुनाले मलाई मतदान गरिदिनुपर्नेछ । मूल रूपमा हाम्रो एजेन्डा अरुको भन्दा भिन्न पनि छ । त्यो हो– पहिचान र अस्तित्वको रक्षा गर्ने । त्यसका लागि पनि मलाई मतदान गर्नुपर्छ ।
चुनाव प्रदेशको नाम कोशी परिवर्तन गर्न जनताले चाहेका छन् कि छैनन् भन्ने जनमत परीक्षणकाे 'केस स्टडी' हाे भन्ने लाग्छ ?
एकदमै । मेरो जित निश्चित छ । यस (कोशी) प्रदेशका आदिवासी मात्रै नभएर गैरआदिवासीहरूबीच वर्तमान अवस्थामा शान्तिपूर्ण सह–अस्तित्व कायम राख्दै अघि बढ्नुपर्नेछ । आफ्नो समाज, समुदाय र देशमा स्थायी शान्तिका निमित्त यो आवश्यक छ । म भोलि निर्वाचित भएको खण्डमा यिनै एजेन्डाहरूको प्रतिनिधिसभामा बुलन्द आवाज उठाउनेछु, जसले गर्दा मेरो जित हुन्छ भन्ने जानकारी गराउँछु ।
पहिचान पक्षधरहरू सडक आन्दोलनमा चाहिँ देखिने तर भोट अन्तै हाल्ने गर्छन् पनि भनिन्छ नि !
हिजो चुनावको बेला प्रदेशको नाम पहिचानका आधारमा राख्ने दलहरूले भनेका थिए । यतिसम्म कि घोषणापत्रमा त ‘पहिचान पनि भेटिने, द्वन्द्व पनि मेटिने’ जस्ता प्रिय नारा लिएर पनि आए केही दल । जनता मक्ख परे । ढुक्क भए । तर, १७ फागुन २०७९ आयो, त्यस दिन कोशी नाम राखियो ।
यहाँको आदिवासी/मूलवासीहरूको चाहना र मर्मविपरीत सभ्यता, संस्कृति र इतिहासलाई नामेट गर्ने किसिमले एकल पहिचानका आधारमा कोशी नामाङ्कन गरियो । त्यसको विरोधमा जनता आन्दोलित भए । आन्दोलनकै क्रममा लाजेहाङ (पदम लिम्बू)ले सहादत प्राप्त गर्नुपर्यो । सयौँ घाइते भए । इलामको चुलाचुलीनिवासी गजेन्द्र फागो आजीवन अपाङ्गता भएर बस्नुपर्ने भयो । यसबाट वास्तवमा जति पनि पार्टीबाट जाने प्रतिनिधिले जहिल्यै ढाँट्छन् र षड्यन्त्र गर्छन् भन्ने गहिरो मनोविज्ञान जनतामा परिसक्यो । त्यसले गर्दा हिजो फागुन १७ गते जुन दिन कोशी घोषणा भयो, त्यही दिनदेखि निरन्तर रूपमा आफ्नो पहिचान र अस्तित्वलाई अघि सार्दै युद्धको मैदानमा निरन्तर आन्दोलित भइरहेको म ४१ घटकको साझा उम्मेदवार भइसकेपछि मलाई जनताले मतदान गर्छन् ।
तर, प्रदेश सरकार र तपाईं नै संयोजक रहेको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिबीच पटकपटक वार्ता भयो । पहिचान आन्दोलनको अग्रमोर्चामा देखिएका आशिष साम्बा अझै थुनामा छन् । यही बेला कतिपयले पहिचान पक्षधरले सरकारसँग आत्मसमर्पण गरे भनेका छन् । यस्तो अवस्थामा पनि पहिचान पक्षधरको मत पाउनुहुन्छ र तपाईंले ?
कानुनी जटिलताहरू केही छन् । अहिले हामीले अरु सबै टुङ्ग्याउँदै गएर आशिष साम्बालगायतविरुद्ध लगाइएका झुटा मुद्दा फिर्ता गर्न भनेका छौँ । प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरिसक्यो । सङ्घीय सरकारलाई प्रदेश सरकारले सिफारिस गरिसकेको छ । त्यसलाई अघि बढाउँदै अब तुरुन्त रिहाइ गर्ने पक्षमा सरकार छ ।
उसो भए तपाईंका चुनावी एजेन्डाहरूचाहिँ के–के हुन् ?
प्रदेश नम्बर १ को पुनः नामाङ्कनको मुद्दा प्रतिनिधिसभामा दर्ज गर्ने र पुनः नामङ्कनमा भूमिका निर्वाह गर्ने नै हो । अहिले मुलुकमा भइरहेको भ्रष्टाचार, घुसखोरी, अनियमितताको नियन्त्रण गर्ने पनि हो । मुलुकमा व्याप्त जातीय र लैङ्गिक, विभेदहरूको अन्त्य गर्न कानुन निर्माणमा अग्रसर हुने हो । नेपाली जनताले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू जस्तैः सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताबारे प्रतिनिधिसभामा प्रश्न घरीघरी उठ्छ । त्यसको पनि हामीले रक्षा गर्नुपर्नेछ र त्यसका लागि पनि प्रतिनिधिसभामा बुलन्द आवाज उठाउने, देशको दिगो शान्ति र समृद्धिका लागि पनि आवाज उठाउने मेरा एजेन्डा हुन् ।
इलामजस्तो सुन्दर जिल्लामा धेरै भौतिक पूर्वाधारको निर्माण गर्नुपर्नेछ । धार्मिक–सांस्कृतिक पर्यटकीयस्थलहरू छन्, तिनीहरूको समुचित विकास गरेर इलामे जनताको आर्थिक समृद्धिको ढोका खोल्ने र रोजगारीको सिर्जना गर्ने अर्को एजेन्डा हो । इलाम जिल्लाको पश्चिमी क्षेत्र जसलाई इलामको कर्णाली पनि भनिन्छ, यहाँचाहिँ पुलपुलेसादेखि बाटाघाटाहरू, खानेपानी र बिजुली अझै पनि व्यवस्थित हुन सकेको छैन । यसको सम्बोधन गर्ने मेरा एजेन्डा हुन् ।
शृङ्खला १ : मैले कसैलाई एक झापु हानेको छैन, मान्छे पिटेर हिँडिस् भन्नु अफवाह हाे : डम्बर खड्का (अन्तर्वार्ता)
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १७:४१