पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा पानी परेको छ । शुक्रबार बिहानैदेखि तराईमा वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको छ । बिहीबार रातिदेखि बढेको चिसोले जनजीवन प्रभावित बनेको छ ।
कर्णालीलगायत सुदूर पश्चिमका हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । विद्यालय भने बन्द गरिएको छ ।
बझाङको मस्टा, सुर्मा, तल्कोट, छबिसपाथिभेरा, केदारस्युँ, साईपाल, खप्तड छान्ना, बुङ्गल, जयपृथ्वी नगरपालिकाका अधिकांश उच्च भेगमा हिमपात भइरहेको छ भने गहिरो भेगमा वर्षा भइरहेको छ । हिमापातले जिल्लामा नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको छ ।
एनएसेल मात्रै काम गरिरहेकाले आपत्कालीन फोन गर्न सहज भएको केदारस्युँ– ८ का हरिलाल बोहराले बताए । त्यस्तै, जिल्लामा रहेका केही एफएम रेडियो पनि बन्द भएका छन् ।
सदरमुकाम चैनपुर, खप्तडछान्ना, बित्थडचिरको धारीमा रहेको नेपाल टेलिकमका टावरले काम गरिरहेका छन् । यस्तै, सुर्खेत, नेपालगन्ज, दाङलगायतका जिल्लामा पनि बिहानदेखि पानी पर्न सुरु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६ ०८:५२