नेपाली सेनाले आफ्नो संगठनका तीनवटा सेवातर्फका अधिकृतलाई तालिम नलिई र शैक्षिक योग्यता पूरा नगरी बढुवाको व्यवस्था गरेको छ ।
सैनिक मुख्यालयको सिफारिसलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट ३ वटा नियमावली परिवर्तन गरी तालिम र शैक्षिक योग्यता नपुगी बढुवाको प्रावधान तोकिएपछि आफूले रोजेका सैनिक अधिकृतलाई अवसर दिने बाटो खुलेको छ ।
पोखरेलले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्को २० माघको निर्णयबाट अनुमोदन गरिएको छ । स्रोतका अनुसार सैनिक प्राड सेवा (पहिलो संशोधन) नियमाली, २०७६, सैनिक हवाई सेवा (पहिलो संशोधन) नियमावली २०७६ र सैनिक विविध सेवा (पहिलो संशोधन) नियमावली २०७६ लागू भएको छ ।
नियमावली लागू भएपछि संविधान र सैनिक कानुन तथा अन्य कानुनी सेवामा कार्यरत नेपाली सेनाका अधिकृतका लागि सैनिक प्राड सेवा नियमावलीको अनुसूची २ को ङ लाई संशोधन गरी महासेनानी (फूल कर्णेल) पदमा बढुवा हुन हाल अनिवार्य गर्नुपर्ने तालिमको प्रावधान हटाइएको छ ।
सो नियमावली पारित भएसँगै अबदेखि प्राड सेवातर्फका प्रमुख सेनानीले ‘मिड क्यारियर म्यानेजमेण्ट कोर्स वा हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालिम’ नगरी महासेनानी (कर्णेल) मा बढुवा हुन पाउने भएका छन् ।
प्राड सेवातर्फका महासेनानी (फूल कर्णेल) ले सहायक रथीमा बढुवा हुन मात्र हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालिम गर्नुपर्ने भएको छ ।
त्यस्तै, नेपाली सेनाको सैनिक हवाई सेवा नियमावलीको अनुसूची २ को खण्ड १ को क को क्रमसंख्या ४ र सैनिक विविध सेवा नियमावलीको अनुसूची २ को खण्ड (३) लेखा समूहतर्फको क्रमसंख्या ५ लाई समेत संशोधन गरी महासेनानीमा बढुवा हुन मिड क्यारियर म्यानेजमेण्ट तालिम वा हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालिम लिनुपर्ने प्रावधानलाई हटाइएको छ ।
नेपाली सेनाको सैनिक हवाई सेवामा जवानतर्फ भर्ना भएका कुनै पनि सैनिक बढुवा हुँदै लेफ्टिनेण्ट (उपसेनानी) मा भर्ना हुँदा एसएलसी वा सोसरहको शैक्षिक योग्यता रहेछ भने प्रमुख सेनानी (कर्णेल) सम्म बढुवा हुन पाउने भएका छन् ।
नियमावली परिवर्तन भएसँगै पाइलट समूहका अधिकृतहरूको हकमा भौतिक विज्ञान वा अन्य विषयमा दश जोड दुई वा सोसरहको उत्तीर्ण गरेको भएमा पनि कर्णेल (प्रमुख सेनानी) को अवसर पाउने भएका छन् ।
त्यस्तै, हवाई सम्भार सेवाका अधिकृतहरुको हकमा आईएस्सी वा आईई उत्तीर्ण गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट एयरक्राफ्ट मेन्टिनेन्स बेसिक लाइसेन्स प्राप्त गरेका अधिकृतलाई आवश्यक शैक्षिक योग्ता नभए पनि कर्णेल (प्रमुख सेनानी) मा बढुवा हुन पाउने भएका छन् ।
यस्तै, सैनिक विविधि सेवामा कार्यरत सैनिक अधिकृत लेखा समूहमा सामूहिकृत भएका अधिकृतलाई भर्ना हुँदाको शैक्षिक योग्यता (दश जोड दुई) को आधारमै प्रमुख सेनानी (कर्णेल) हुन पाउने भएका छन् ।
विविध सेवातर्फको अधिकृतअन्तर्गत दश जोड दुई शैक्षिक योग्यता भएका सैनिक अधिकृतले तीन महिनाको कम्युटर आधारभूत तालिम र कम्तीमा दुई महिनाको कम्युटर एकाउन्टिङ तालिम उत्तीर्ण भएकाले प्रमुख सेनानी (कर्णेल) पदसम्म बढुवा हुन पाउनेछन् ।
सेनाले परिवर्तन गरेको विविध सेवा, हवाई सेवा र प्राड सेवा नियमावलीमा कुनै सैनिक अधिकृत ‘आर्थिक अनियमितता, भ्रष्टाचार वा बहुविवाहको कसुरमा सजाय पाएमा’ सेवाबाट अवकाश दिने प्रावधान राखिएको छ ।
नेपाली सेनातर्फका तीन नियमावली परिवर्तन गरी रक्षासचिव रेश्मीराज पाण्डेले कार्यान्वयनका लागि जंगी अड्डालाई पठाइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६ १६:५४