विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रुपमा घोषित गरिसकेको छ ।
सरकारले यसको संक्रमण हुन नदिन सोमबारदेखि देश नै लक डाउन गरेको छ । बझाङमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको यहाँका निकायले बताइरहँदा बजारमा हुने चहलपहल, सवारीआवागमन, मेलापर्व र भाकल निर्वाधरुपमा भइरहेका छन् ।
बझाङ जिल्ला अन्य जिल्लाभन्दा कोराना संक्रमणको जोखिममा छ । बझाङबासीहरु प्रायः भारतका विभिन्न शहर, खाडी मुलुक र नेपालकै विभिन्न शहरी क्षेत्रमा काम काजका क्रममा पुग्ने गरेका छन् ।
सरकारले देशभर नै लकडाउन गरेपछि अहिले शहर केन्द्रित रहेका उनीहरु सुरक्षित हुने आशामा जिल्ला फर्किएका छन् । जिल्लाभर २८ स्थानमा हेल्थ डेस्क स्थापना गरिएपनि भिडभाड र जनशक्ति अभावले राम्रोसँग चेकजाँक हुन सकेको छैन ।
यहाँका १२ वटै स्थानीय तहले आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरे पनि बझाङबासी भने अटेरी गर्दै पसल, उद्योग व्यवसाय, सवारीसाधन निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् ।
भारत लगायतका ठाउँबाट आएका बझाङबासीले धनगढी र महेन्द्रनगरबाट भरिएका १५ यात्रुबाहक बस मंगलबार मात्रै बझाङ भित्रिएका छन् ।
बजार क्षेत्रमा मानिसको चहलपहल उतिकै बढिरहेको छ । बढी भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।
मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुमा उच्च निगरानीसहित सेवा प्रवाह भइरहेको छ । लामो दुरीका सवारीसाधन बन्द गरिएको भए पनि ग्रामीण सडकहरुमा जाने यातायातका साधनहरु भने चलिरहेका छन ।
स्थानीय सरकारले नागरिकहरुलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिरहेका छन् ।
जनप्रतिनिधिहरु घरघरमै पुगेर मास्क र सेनीटाइजर वितरण गरिरहेका छन् । ‘कोरोनाको संक्रमण हुन नदिन नागरिकहरु सचेत बनाउन सबै सञ्चार माध्यमहरुमा जानकारी गराएको जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले बताए ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पनि जति सम्झाउ पनि यहाँका स्थानीय नमान्ने र अझें थाहा नपाएको हुनाले मंगलबार पनि अरुदिन जस्तै सामान्य भएको बताए ।
सुर्मा गाउँपालिकामा महिलाहरुको भाकल
सुर्मागाउँपालिकाले पनि अत्यावश्यकीय काम बाहेकका सबै सेवाहरु २१ चैतसम्मका लागि बन्द गरेको छ । तर सुर्मा गाउँपालिका–२ का महिलाहरु भने कोराना भाइरसलाई आफ्नो गाउँपालिकामा भित्रन नदिन भन्दै संयुक्त रुपमा सुर्मादेवी मन्दिर विभिन्न स्थानीय मन्दिरमा गइ भाकल गरिरहेका छन् ।
आफूले पटक–पटक भेला, जमघट नहुन आग्रह गरेपनि स्थानीय अटेरी गरिरहेका सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।
छबिसमा काँक्रे औंसी
छविसपाथिभेरा गाउँपालिकामा लाग्ने सुदूरपश्चिमको बान्नी मेलाको तयारीका लागि स्थानीय तयार भइ काँकर ल्याउन जङ्गल तर्फ लागेको बताइएको छ ।
परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मादेवी प्रकट भइ महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।
होली पूर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । मष्टा मन्दिरमा काँकर चढाउने प्रचलन रहेकाले काँकर ल्याउन ठूलो संङख्यामा युवाहरु जङगल तर्फ लागेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष राधिका रताला जोशीलेस्थानीयले परापूर्वकालमा मेला अलि पछि सारौं भन्दा ती व्यक्तिको वंश नाश भएको उदाहरण दिदै उपाध्यक्ष जोशीले मेलालाई रोक्न नमिल्ने बताइन् ।
यता त्यस क्षेत्रकै बासिन्दा समेत रहेका पूर्व वनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य भानुझक्त जोशीले भने मेला नगर्न आफूले आग्रह गर्दा पनि अटेरी गरेको भन्दै दुख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६ १६:१४