अहिले काेराेना आतंकले जनजीवन त्राहीमाम् छ । यही बेला बझाङमा धानको बेर्ना फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन् ।
रोपाइँ नजिकिएसँगै बेर्नामा फाैजी कीराको प्रकोप देखिएपछि जिल्लाको बुगल नगरपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा, दुर्गाथली गाँउपालिकाका कृषक चिन्तित बनेका हुन् ।
दिउँसो घाम लागैको बेला बेर्नाको फेदमा कीरा बसेको हुन्छ । धेरै किरा एकै पटक बेर्नाको पातमा बसेर टुप्पाबाट खान सुरू गरेको दुर्गाथली गाँउपालिका-१ का नारायण बडुले बताए । उनका अनुसार फौजी किरा बेलुकीको समयमा लाग्ने गरेको छ । धानको बेर्ना राम्रोसँग टुसाउन नपाउँदै किराले सखाप उनले बताए ।

अहिले जिल्लामा अमेरिकन फौजी किरा र रैथाने फौजी किराको प्रकोप फैलिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अर्का कृषक मदनराज चिमाडीले धानकाे बेर्ना फौजी किराले नष्ट गरेको बताए । 'पहिले त थाहै पाइएन, अब रोपाइँ गर्ने समय नजिक आउँदै गर्दा बेर्ना हेरेकाे सखाप भइसकेछ', उनले भने, 'तर, टाढाबाट हेर्दा राम्रै देखिन्छ ।'
भर्खरै टुसाउन थालेको बेर्ना कीराले खाएपछि यहाँका कृषक भोकमरी हुने चिन्तामा परेका छन् । जिल्लाका अधिकांस पालिकामा रोपाइँ गर्ने समय नजिकिँदै छ । रोपाइँको मुखमा बेर्ना सखाप पर्दा कृषकहरू रोपाइँ गर्ने कि मकै छर्ने भन्ने अन्यौलमा परेका छन् । स्थानीय किसान धर्मराज धामी, दिलबहादुर थापा, मदन थापालगायतका किसान बेर्नामा कीरा लागेपछि धान राेपाइँ गर्ने कि नगर्ने भन्ने अन्याेलमा परेकाे बताउँछन् ।

धेरै उत्पादनको आसमा किसानले हाइब्रीड जातको धानको बेर्ना लगाएका थिए । मानो लगाएर मुरी उब्जाउने यस क्षेत्रका कृषकहरूले लगाएकाे धानकाे बेर्नामा महामारी नै फैलिएको छ ।
अन्य ठाउँमा लगाइएको धानमा प्रकोप फैलिन नदिन विषादी छर्कने काम भइरहेको छ । प्रकोप फैलन नदिन तत्कालका लागि कीरा मार्ने औषधि हालिएको छ ।
सम्भावित प्रकोप रोक्न निमजन्य, मालाथीनलगायतका विषादी, वितरण गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख दिलबहादुर सिंहले जानकारी दिए ।
उनले भने अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीरा गरी दुई प्रकारका कीराको प्रकोप फैलिएको छ ।
यो कीराले ५ चोटी काँचुली फेर्छ । तेस्रो अवस्थासम्म मात्र विषादीले काम गर्छ । तेस्रो चरणपछि विषादीले काम नगर्दा यस्तो समस्या आउने गरेको छ । जिल्लामा धानको बेर्नामा मात्र नभई मकैमा पनि यस कीराको प्रकोप देखिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७ १८:३०