कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ का वडा अध्यक्ष राम नाथकाे रिहाइको माग गर्दै सर्वसाधारण आन्दोलनमा उत्रेका छन् । व्यक्तिगत स्वार्थका कारण वडा अध्यक्षलाई फसाउन खोजिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा स–साना बालबालिकादेखि महिला र पुरुषहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । आफूहरूले राम नाथलाई सानैदेखि चिनेको र अध्यक्षको स्वभाव नराम्रो नभएको तर, निर्दोष हुँदाहुँदै व्यक्तिगत स्वार्थका कारणले फसाउन खाेजेको स्थानीय किसन नाथले बताए ।
उनका अनुसार ती महिलाका दाजु र वडा अध्यक्षबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । सोही मौका छोपेर फसाउन खोजिएको हो । नाथले ब्रम्हदेव बजारमा अतिक्रमण र शिद्धनाथ मन्दिरवरपर मदिराका पसल हटाउने अभियान फेरि थालेकाले सुनियोजित ढंगले उनलाई फसाउन खोजिएको उनको भनाइ छ।
अध्यक्षलाई स–सम्मान रिहाइ गरिएन भने फेरि सोमबारदेखि सशक्त आन्दोलन गर्ने स्थानीयको चेतावनी छ । गत बिहीबार राति एक स्थानीय महिलालाई मादक पर्दाथ सेवन गरी दुर्व्यवहार गरेको आरोप लगेपछि वडा अध्यक्ष नाथलाई प्रहरीले पक्राउ गरी ५ दिनसम्म अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७ १६:५५