सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चालित यात्रुबाहक सवारीसाधनले काेचाकाेच यात्रु बाेक्नुका साथै दाेब्बर बढी भाडा असुलिरहेका छन् । लामो अवधिको लकडाउनपछि सरकारले केही नियम बनाएर छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि अनुमति दिएको भए पनि सुदूरपहाडका यातायात व्यवसायीले सरकारी नियमको धज्जी उडाएका हुन् ।
यातायात व्यवसायीले मनोमानी भाडा असुलिरहेको गुनासो यात्रुहरूले गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा र दार्चुलामा यात्रुहरूले चर्को भाडा तिर्नुपरेको गुनासो गरेका हुन् ।
जिल्ला सदरमुकामबाट ग्रामिण भेगमा चल्ने सवारी साधनले यात्रु कोचाकोच हाल्नुको साथै भाडा दोब्बर बढी लिने गरेको यात्रुहरू बताउँछन् ।
सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि यहाँ सञ्चालन हुने जिपहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकिरहेका छन् ।
सार्वजनिक यातायातका साधनहरूले सरकारी नियम नमान्दा कोरोनाको जोखिम बढ्ने चिन्ता स्थानीयस्तरमा छ । यातायात व्यवसायीले गाडीमा यात्रु कोचेर हाल्दा पनि सम्बन्धित निकाय रमिते बनेका स्थानीयवासी बताउँछन् ।
बैतडीको पञ्चेस्वरबाट ३ सय रुपैयाँ तिरेर मेलौली, त्यहाँबाट फेरि ३ सय रुपैयाँ तिरेर पाटन र पाटनबाट १ सय ५० रुपैयाँमा खोड्पे पुग्ने गरेको भए पनि अहिले झन्डै दोब्बर भाडा अर्थात् १३ सय रुपैयाँ तिर्नुपरेको पञ्चेस्वरका स्थानीय रमेश तिवारीले बताए ।
‘सडकमा जाँच गर्न खटिएका प्रहरीले समेत वास्ता गर्दैनन् । गन्तव्यमा जान हतार भएकाले मैले पनि प्रहरीमा उजुरी दिन पाइनँ’, उनले भने, ‘मजस्ता थुप्रै यात्रुले समस्या भोग्नुपरेको छ । तर, कसैले पनि खुलेर बोल्न सक्दैनन् ।’
कोरोना भाइरसको जोखिम कायमै रहेकाले सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि गाडीमा यात्रुहरू कोच्ने गरिएकाले कोरोना लाग्ने डर बढेको डोटीको सायल गाउँपालिकाका तेज डुम्रलले बताए।
‘कतिपयले मास्क, स्यानिटाइजरको पनि प्रयोग गर्दैनन् । गाडी भरिभराउ हुन्छ । आफूलाई यात्रा गर्नैपर्ने हुन्छ । अर्कातिर, बर्खाको बेला क्षमताभन्दा बढी यात्रु बोकेर कच्ची सडकमा गाडी गुडाउँदा दुर्घटना हुने सम्भावना हुन्छ’, उनले भने ।
ग्रामीण भेगका कच्ची सडकमा चल्ले गाडीहरूले लिन पाउने भाडा दर नतोकिँदा यातायात व्यवसायीले मनलाग्दी भाडा असुलिरहेको भन्दै भाडादर निर्धारण गर्नुपर्ने बताउँछन्, बझाङको खप्तड छान्ना गाउँपालिकाका विमलराज जोशी ।
‘दिनरात त्यत्रा मान्छे लिएर दौडिने चालक नै मास्क लगाउँदैनन् । यसले यात्रुलाई कम जोखिम हुन्छ र ?’ उनले प्रश्न गरे ।
विद्यार्थी संगठनको विरोध

यातायात व्यवसायीले मनोमानी भाडा असुलेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकाम बागबजारमा प्रदर्शन गरेको छ ।यातायात व्यवसायीका अगाडि स्थानीय सरकार एवं प्रहरी प्रशासन निरीह भएको भन्दै नेविसंघ डडेल्धुराले भाडा दर तोक्न माग गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७ ०९:२३