निर्वाचनको समयमा यहाँका नेताहरूले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण हुने भनेर आश्वासन बाँड्छन् । निर्वाचनमा हरेक राजनीतिक दलका उमेद्वारको जिब्रोमा पश्चिम सेती जलविद्युत्काे नारा झुण्डिन्छ ।
३० वर्षदेखि राजनीतिक दलले पश्चिम सेतीलाई भोटबैंक बनाए । तर, निर्वाचन जितिसकेपछि भने नेताहरू पश्चिम सेतीलाई चटक्कै बिर्सिन्छन् । यो क्रम अझै पनि निरन्तर चल्दै आएको छ । गृह जिल्लामा निर्वाचनको समयमा मात्रै पुग्ने कांग्रेस सभापति शेरबहादुर देउवाले त झन् अहिलेसम्म चुनाव जित्नुको कारण पश्चिम सेती नै हो ।

पश्चिम सेतीकै नारालाई अगाडि लिएर चुनावी मैदानमा होमिने देउवा पटक-पटक निर्वाचित भएर देशको बागडोर सम्हालिसकेका छन् । तर, अहिलेसम्म उनले चुनावमा दिएको पश्चिम सेतीको सपना पूरा गर्न सकेका छैनन् ।
पश्चिम सेतीको नाम लिएर चुनावमा भोट माग्न धेरै नेताहरू आएको तर अहिलेसम्म कसैले पनि पूरा गर्न कोसिससम्म नगरेको सिगास गाउँपालिका-५ का स्थानीय चक्रबहादुर महराले बताए । यो आयोजनाकै कारण आफूहरूले शुद्ध खानेपानीसमेत पिउन नपाएको उनको गुनासो छ ।
‘पश्चिम सेती सरकारले बनाउन सक्दैन । हामीहरूको भोट खेर गयो । अब जसले पश्चिम सेतीको नाम लिएर गाउँमा भोट माग्न आउँछ, त्यसलाई लखेट्छौँ,’ उनले भने, ‘अब हामी जनता पश्चिम सेती नबनाऊँ भनेर सरकारलाई भन्छौँ ।’

केही कम्पनीले आयोजनाको स्थलगत प्रतिवेदनसमेत तयार पारेको स्थानीय बताउँछन् । तर, प्रस्तावित ७५० मेगावाट क्षमताको जलाशययुक्त यो आयोजना निर्माण हुन्छ भनेको ३० वर्ष बितिसकेको छ ।
आश्वासन दिन प्रधानमन्त्री ओलीसमेत डडेल्धुरा पुगे
पश्चिम सेतीको निर्माणको पर्खाइमा बसेका यहाँका जनताको आशा निराशामा परिणत भएको अवस्थामा २०७५ को फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए ।
विगतदेखि नै नेताका चिल्ला गफ सुनेर वाक्कदिक्क भएका नागरिक दुईतिहाइको सरकारका प्रधानमन्त्रीले पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेपछि अब त बन्ने भयो भनेर आशा गरेका थिए । तर, प्रधानमन्त्री ओलीले दाबी गरेको दुई वर्ष पुग्नै लाग्दासमेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार कतै देखिएको छैन ।

यो परियोजना नबन्ने देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्यअघि बनाउनुपर्ने बताउँछन् । तर, मुख्यमन्त्री भट्टले अहिलेसम्म संघ सरकारसँग सहकार्य गर्ने कुरा राखेका छैनन् ।
पश्चिम सेती ढिला हुँदा गाउँको विकास रोकियो
पश्चिम सेती परियोजना बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजर्नौँ गाउँमा विकास निर्माणका काम हुन सकेकका छैनन् । पश्चिम सेती बन्ने आसपासका क्षेत्र डडेल्धुराको नवदुर्गा गाउँपालिका, बैतडीको सिगास गाउँपालिका, डोटीको आदर्श गाउँपालिका र बझाङका केही गाउँमा अहिलेसम्म विकास हुन नसकेको स्थानीय बताउँछन् ।

पश्चिम सेती बन्ने हल्लाले अन्य विकासबाट वञ्चित बन्नुपरेको बैतडीको सिगास गाउँपालिका-५ का स्थानीय दीपकराज अवस्थीले दुःखेसो पोखे । पश्चिम सेती बने निर्माण भएका विकास निर्माणका काममा अवरोध हुने तथा गाउँपालिकाको लगानीसमेत खेर जाने भन्दै गाउँमा विकास निर्माणको काम नगरिएको बताए ।

‘सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । विकास निर्माणका कामसमेत भएका छैनन्,’ उनले भने, ‘खानेपानी, सडक, विद्युत्, शिक्षाबाट समेत हामीले टाढा हुनुपरेको छ ।’
उनले पश्चिम सेती बन्छ भनेर आश्वासन दिनुभन्दा अब बन्दै भनेर सरकारले भनिदिए स्थानीय खुसी हुने बताए । ‘पश्चिम सेती त बन्छ की बन्दैन त्यो थाहा भएन । तर, पश्चिम सेतीकै कारणले हामीहरूले सास्ती खेप्नुपरेको छ । सेतीले गाउँतिर धार काटिरहेको छ । कहिले डुवानमा परेर मरिन्छ भन्ने चिन्ता छ,’ उनले भने ।
‘सेती सुदूरपश्चिम भएर बग्नु दुर्भाग्य’
सैपाल हिमालबाट बग्ने सेती सुदूरपश्चिममा भएर बग्नु दुर्भाग्य भएको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तारा जोशी बताउँछन् । काठमाडौं, चितवन, झापातिर भएर बगेको भए सेतीको भविश्य यस्तै रहन्थ्यो कि भनेर आफूलाई पटकपटक सोच्न बाध्य बनाउने गरेको उनले बताए ।
पश्चिम सेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्ने उनी बताउँछन् । पश्चिम सेती भने विद्युत् उत्पादनका साथै सिचाँइको पहुँच बढेर कृषि उत्पादनमा समेत टेवा पुग्नेछ । पटकपटक थुप्रै व्यक्तिले आश्वासन दिएको भए पनि अब स्थानीयस्तरबाटै सरकारलाई दबाब दिनुपर्ने नेता जोशीको भनाइ छ ।

पञ्चायतकालदेखि नै आयोजनाका बारेमा कुराहरूको सुरुवात भएको तर अहिलेसम्मसमेत पूरा हुन नसकेको डडेल्धुराको नवदुर्गा गाउँपालिका- ५ का वडाअध्यक्ष पदम बिष्टले बताए । उनले सेती परियोजना सञ्चालनका लागि केन्द्र सरकारबाट बजेट छुट्याउन आग्रह गरिएको बताए
पश्चिम सेतीका लागि ‘बोलन्या थली’
वर्षाैँदेखि गायत्री मन्त्रजस्तै बनेको बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै सरकारलाई दबाब दिनका लागि ‘बोलन्या थली’ धनगढीले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
यो परियोजना निर्माणका लागि दबाब दिन ‘बोलन्या थली’ धनगढीले माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफलसमेत गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए । त्यस्तै, दिउँसै सेती पुलमाथि ७ सय ५० टुकी बालेर सरकारको सांकेतिक विरोधसमेत गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७ १३:२७