कोरोना महामारीबाट जोगिनका लागि बुधबारदेखि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ‘फ्रन्टलाइनर’लाई खोप लगाउने गरी अभियानको सुरुवात गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा पहिलो दिन सात सय ५० जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेशमा तोकिएको १० खोप केन्द्रमध्ये पहिलो दिन नौ वटा खोप केन्द्रबाट खोप लगाइएको छ ।
बाजुरा खोप केन्द्रबाट भने बिहीबारदेखि मात्रै खोप अभियान सुरु हुने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले बाजुरामा खोप पुगिसकेको जानकारी दिए । बाजुरा सुदूरपश्चिम प्रदेशको विकट जिल्ला हो ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशभर पहिलो चरणमा खोप लगाउनका लागि १६ हजार २९३ जनाको तथ्यांक संकलन भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, एम्बुलेन्स/शववाहन चालकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ ।

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीलाई सबैभन्दा पहिले खोप लगाएर अभियानको सुरुवात गरिएको थियो । खोप अभियानको शुभारम्भ गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुनु अत्यन्त खुशीको कुरो रहेको बताए ।
मुख्यमन्त्रीले पहिलो चरणमा अग्रपङ्तिमा खट्दै आएकाहरूलाई मात्रै खोप दिइने उल्लेख गर्दै जनतालाई पनि चाँडै खोप उपलब्ध गराउनका लागि पहल गरिने बताए । मानव जीवनलाई समस्यामा पारेको कोरोना भाइरसविरुद्धको खोप अभियानलाई सफल पार्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको पनि मुख्यमन्त्रीको भनाइ थियो ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७ २०:२०