कैलाली र कञ्चनपुरमा एकैदिन नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार कैलालीका ६ र कञ्चनपुरका तीन गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कैलालीकै लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय पुरुष र धनगढी उपमहानगपालिका-४ का ४० वर्षीय पुरुषको सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, गोदावरी नगरपालिकाकी ८७ वर्षीया वृद्धाको होम आइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ती वृद्धामा बुधबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीय महिलाको बिहीबार महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १५:५९