उपत्यकामा निषेधाज्ञा जारी भएको तेस्रो दिन शनिबार बल्खुको सडकमा रमाइलो दृश्य देखियो । दायाँबायाँ फाटफुट सवारी साधन गुडिरहेका थिए । अनि त्यसैको बीचमा फुटबल खेलिरहेका थिए, बालबालिका । चक्रपथलाई फन्को लगाउने क्रममा यस्तो दृश्य देखेपछि हामी एकछिन अडिएर हेर्यौँ ।
‘ए यता पास गर्न ।'
अरुबेला गाडीका कर्कस आवाजले केही नसुनिने सडकमा आज यस्तै आवाज सुनिन्थ्यो । उनीहरू रमाउँदै फुटबल खेल्दै थिए । बेलाबेला आपसमा झगडा पनि गर्थे ।
‘झेली नगर्न न !'
अनि उनीहरू कसले झेली गरेको हो त्यसको छिनोफानोमा लाग्थे । र, पीडितलाई न्याय दिलाएर फेरि खेल्नतर्फ लाग्थे, अब उपरान्त झेली नगर्ने सर्तसहित ।
निर्धक्क खेलिरहेका उनीहरूलाई गुडिरहेका गाडीको कुनै मतलब थिएन ।
‘गाडीले हान्देला, सडकमा किन खेलेको ?'
प्रश्न खस्न नपाउँदै जवाफ आयो, ‘गाडीहरू घरिघरि त आउँछ, त्योबेला छेउ लाग्छौँ नि !'
‘फुटबल त चौरमा पो खेल्छन् त ?'
निषेधाज्ञाका कारण सडक खुल्ला भएर खेल्न निक्लिएको उनीहरूले उत्तर थियो ।
‘त्यही पनि यता नजिकै खेल्ने चौर देखाइदिनु न त', उनीहरूले उल्टै प्रश्न सोधे, ‘चौरसौर केही छैन, अनि कहाँ खेल्नु त ? बरू लकडाउन भइरहे रोडमा भने पनि त खेल्न पाइन्छ ।'
बिहीबारदेखि सरकारले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाएपछि खाली देखिएको सडकमा बालबालिका फुटबल खेलिरहेका भेटिएका हुन् ।
फोटो फिचर :







प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८ १५:२७