उहिले उहिले महामारी
इतिहासको लामो घुम्ती
हात समाइ सँगै हिँडी
सभ्यताको ओत लाग्ने छहारी
सँगसँगै बनाएपछि
टाङमुनि पुरुष जननेन्द्रिय बोकी आयो
ममताले संसार हाँकिरहेका आमाहरूलाई
निजी स्वास्नी बनाई कज्यायो
त्यो भयानक महामारीले
आजसम्मै संसारलाई टुहुरो बनायो
उहिले उहिले महामारी
अन्नको भण्डारमाथि पलेटी कसेर
हातमा कोर्रा नचाउँदै
मालिक बनेर आयो
पसिनाले संसार सजाइरहेका
यो धर्तीका सर्जकहरूको आङमा
मनपरी कोर्रा बर्सायो
नेल–हतकडी लगाएर
कहाँ कहाँ बेच्यो
त्यो भीषण महामारीले
एउटा घाम
सुनको थालीमा उदाउने बनायो
अर्को घाम
सिलाबरको बटुकोबाट चुहिने बनायो
उहिले उहिले महामारी
गाईको पुच्छर समाउँदै
उँभैउँभो पहाडको बाटो उक्लियो
फक्रिरहेको फूलबारीमाथि
मनलाग्दी गाई चरायो
त्यो हिंस्रक महामारीले
टोटोला, चिउरी, र सुनाखरी उखेलेर
सधैँका लागि उजाड बनायो
उहिले उहिले महामारी
मनुस्मृति बनेर आयो
संसार सिँगारिरहेका
महान् कलाकारहरूलाई
छुन नहुने भन्दै
एकलासमा बन्दी बनायो
त्यो अत्याचारी महामारीले
मान्छेको अन्तरमनभित्र
विभेदको भर्याङ ठढ्यायो
उहिले उहिले महामारी
गल्ला बनेर आयो
रोधीघरमा गाइरहेकालाई
च्याब्रुङ बजाई नाचिरहेकालाई
गाउँबस्ती, भन्ज्याङबाटै तानेर
राइफलम्यान बनायो
त्यो अपराधी महामारीले
भीरपाखा, रनवन
रित्तो रित्तो बनायो
हिजोआज महामारी
समृद्धिको धुलो उडाउँदै
डोजर चढेर आउँछ
गाउँको कमलो छातीमाथि
मनपरी छुरा धस्छ
कथा सुन्नुपर्ने चौतारा भत्काउँछ
इतिहास लेख्नुपर्ने डाँडाहरू चपाउँछ
अनि पहिरोको थाप्लोमा गाउँ राखिदिन्छ
यो विनाशकारी महामारीले पनि
डोजरको जयजयकारमा
भक्तिगान गाइरहने बनाउँछ
हिजोआज महामारी
पेयपदार्थ बनेर आउँछ
चोटा–कोठा, मर्दा–पर्दा
सबैतिर हुकुम चलाउँछ
यो विषालु महामारीले
सबथोक लुटिएर पनि
मदहोश मदहोश बनेर
दिनरात नाचिरहने बनाउँछ
हिजो आज महामारी
अनिकालले पिरोलेको
खर्क, देउराली अनि देहातहरूमा
दलाल बनेर आउँछ
घरबारी, पाखोबारी अनि
मनको एकान्त कुना पनि
बन्धकी राख्न लगाइ
हरियो पासपोर्ट थमाउँछ
यो अत्याचारी महामारीले पनि
आकाशमा उडाएर लैजान्छ
बाकसमा गुडाएर फर्काउँछ
महामारीका अनेक रूप हुँदा रहेछन्
महामारीका अनेक अवतार हुँदा रहेछन्
कहिलेकाहीँ महामारी
चुनावचिह्न बोकेर पनि आउन सक्छ
कहिलेकाहीं महामारी
देशको नक्सा बोकेर पनि आउन सक्छ ।
०००
शिलापत्रमा प्रकाशित राजु स्याङ्तानकाे कविताः बीमा
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ ०९:५४