सुगम काभ्रेपलाञ्चोकमा अजित मिजार मारिँदा परिवारले न्याय पाउन सकेन । दुर्गम बझाङको खिकालामा सम्झना विक बलात्कारपछि मन्दिरनेर मारिइन् । सुगम राजधानी काठमाडौंमा दुई साताअघि डेरा खोज्दा रूपा सुनारले छुवाछुत भोगिन् ।
दुर्गम जुम्लामा केही दिनअघि वडाध्यक्षका छोरा नवीन बुढाले विवेन्द्र नेपालीमाथि कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी लिन मानेन । आज शुक्रबार कैलाली भजनीको झलझलियामा प्रकाश विश्वकर्मा र मालती रावलले फेसबुकमा भिडियो हाल्दै ज्यानको याचना गरे । आफूहरू भर्खरै बिहे गरिसकेर पनि परिवार र समाजको असुरक्षा भोगिरहेको भन्दै उनीहरूले ज्यान बचाउन जंगलमै २१ दिन लुकेको खुलासा गरे । युवा अधिकारकर्मी जेबी विश्वकर्माको ट्वीटरमा त्यो भिडियो आएपछि बल्ल हामी सञ्चारक्षेत्रका मानिसहरूकाे ध्यान गयाे ।
कथित् उच्च जातकी मालतीको परिवारबाट रुकुमकाण्ड दोहोर्याउने धम्की पाएको उनीहरूले भिडियोमा खुलाएका छन् । रुकुमकाण्डमा पोहोर के भएको थियो, तपाईंहामीलाई थाहै छ । कथित् उच्च जातकी प्रेमिकाको घरमा साथीहरूसहित जाने हुँदा नवराज विक र उनका साथीहरू कुटीकुटी मारिएका थिए ।
प्रविधिलाई धन्यवाद, जसले सत्यलाई बाहिर ल्याउन सघाइदियो । तीन साताअघि बिहे गरेको मालती रावल–प्रकाश विश्वकर्माको जोडीले आफ्नो पीडा बाहिर ल्याउन सक्यो । तर, फेसबुक आफैँले न्याय दिन सक्दैन । उनीहरू न्यायका लागि राज्यकाे निकायमा उजुरी हाल्ने तयारीमा थिए । मालतीका नजिककाहरूले रुकुमकाण्ड दोहोर्याउने धम्की दिएपछि पीडितहरूले उजुरीसमेत गर्न सकेनन् ।
यी सबै दृश्यहरूले के बताउँछन् ? न्यायको गुहार माग्दा सामाजिक सद्भाव बिथोलिने धम्की दिन कतिपय भलाद्मीहरू पछि पर्दैनन् । जातिभेद सबैतिर छ । सुदूरपश्चिममा सायद अझै बढी छ कि ? तथ्यांकवेत्ताहरूले जान्ने कुरा हो ।
सुदूरपश्चिमका प्रबुद्ध नागरिकहरू सुदूरपश्चिम समग्रमा पिछडिएको छ भन्छन् । उनीहरूले, अरुसमेतले बुझ्नुपर्छ: दलित समुदाय यो अमानवीय जात व्यवस्थाको सुदूरपश्चिम हो । यो अन्यायकारी कृत्रिम जातव्यवस्था कुनै जन्मजात कुरो होइन, मान्छेले बनाएको हो । यो मान्छेले नै भत्काउन सक्छ । यो तपाईंले भत्काउन सक्नुहुन्छ । यो मैले भत्काउन सक्छु ।
२१ दिनसम्म जंगलमा गुहार मागिरहेका नवविवाहित दम्पतीले आफ्नो जीवनको पक्षमा वकालत गर्न पाउँदैनन् र ? मालती रावलको पेटमा आएको एक महिनाको बच्चाको जीवनको पक्षमा उनीहरूलाई उभिने हक छैन र ?
यो देशमा न्याय मरेको छैन भने कानुन कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरूले यसको जवाफ दिनुपर्छ । काभ्रेदेखि बझाङसम्म, चौरजहारी रुकुमदेखि काठमाडौंसम्म न्याय दिलाउने संस्थाहरू आफ्नो कर्तव्यपालनामा चुकेका छन् । समाज चुकेको छ । यस अर्थमा कैलाली भजनीमा भर्खरै भएको घटनाले न्यायलाई एकपल्ट प्रमाणित हुने अवसर दिएको छ ।
शिलापत्रले याे विषयलाई गहिराइमा गएर निरन्तर प्रस्तुत गर्नेछ ।
सम्बन्धित समाचार
फलोअप-४ : युवक प्रहरी सम्पर्कमा, परिवारले कुट्दै लगेकी युवती खोज्दै प्रहरी
फलोअप-३ : युवकलाई प्रहरी कार्यालय बोलाइयो
फलोअप-२ : रुकुमकाण्ड दोहोर्याउने धम्कीपछि पीडितले प्रहरीमा उजुरी गर्न सकेनन्
फलोअप-१: उपमेयरले घर फर्काउँछु भनिरहँदा केटालाई मरणासन्न हुनेगरी कुटियो
अन्तरजातीय विवाह गरेका जोडीको जंगलबाटै आग्रह- हामीलाई बचाउनुस् (भिडियो)
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८ १८:३३