कोरोना माहामारीको दोस्रो लहरका कारण लगाइएको निषेधाज्ञा खुकुलो हुँदै गए पनि स्कुल/कलेजहरू खोल्न भने हतार नगर्न सरोकारवालाहरूले बताएका छन् । उनीहरूले शिक्षक विद्यार्थी सबैलाई खोपको व्यवस्था गरेर र महामारीको संक्रमणलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डहरू अपनाएर मात्र सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अध्यक्ष वैकुण्ठ अर्यालले तत्काल स्कुल खोल्ने सम्भावना नरहेको बताए । उनले भने, ‘खोल्ने नखोल्ने भन्ने परिस्थिति हेरेर सरकारले निर्णय गर्छ । शिक्षकहरूले पनि खोप नभई नपढाउने भनिरहँदा अब त्यसको व्यवस्थापन होला । अनि विस्तारै खुलाइन्छ ।'
शिक्षकहरूले पनि खोप उपलब्ध नगराए भौतिक उपस्थितिमा हुने शिक्षण सिकाइमा सक्रियता नदेखाउने बताइरहेका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आफ्नो स्वास्थ्यको जोखिम मोलेर शिक्षकहरू कक्षाकोठामा गएर पढाउन नसक्ने बताए । उनले भने, ‘शिक्षक/विद्यार्थी सबैलाई खोप लगाएको अवस्थामा मात्र हामी कक्षाकोठामा उपस्थित भएर पढाउँछौँ । अब स्कुल/कलेज खोल्न त शिक्षक पनि चाहिन्छ होला । हामीले नै नपढाउने भएपछि कसरी खुल्छन् स्कुल/कलेज ?'
शिक्षकले खोप नपाएको अवस्थामा स्कुल सञ्चालकलाई पनि आएर पढाइदेउ भन्न नैतिक आधार नभएको स्वीकार्छन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)का अध्यक्ष रीतुराज सापकोटा । त्यसैले शिक्षक र उमेर पुगेका विद्यार्थीलाई खोप लगाउन राज्यलाई दबाब दिनुपर्ने र विस्तारै स्कुल खुलाउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष सापकोटाले भने, 'बन्द भएका सबै क्षेत्र खुल्दै गएको अवस्था छ । अब स्कुल पनि लामो समयसम्म बन्द राख्न हुँदैन । विस्तारै खोल्नुपर्छ । स्कुल खोले पनि स्वास्थ्य मापदण्डको पालनामा ध्यान दिँदै कक्षा सञ्चालन गर्नुपर्छ ।'
सापकोटाले थपे, 'एकातिर अनलाइन कक्षाले सबै भूगोलका विद्यार्थीलाई समेट्न सकेको छैन । अर्कोतिर भौतिक उपस्थितिमा पढाउन थालिहाल्ने या नथाल्ने भन्ने अन्योल छ । अनलाइनकै मात्र भर पर्दा विगतको जस्तै धेरै विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित हुने देखिन्छ । तसर्थ, खोप व्यवस्थापनमा राज्यलार्ई दबाब दिँदै विस्तारै स्कुल/कलेज पनि खोल्नुपर्छ ।'
त्यस्तै, निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरी तत्काल वैकल्पिक विधिबाटै पढाउनुपर्ने तर्क गर्छन् । यदि भौतिक उपस्थितिमै पढाउनू भन्ने हो भने खोपको व्यवस्था गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
पुरी भन्छन्, ‘अनलाइन कक्षामा निजी विद्यालयबाट करिब ५० प्रतिशत विद्यार्थी र सरकारीबाट जम्मा २० प्रतिशत उपस्थित हुन्छन् । त्यसैले भौतिक रूपमा पढाउन हतारो त भइसक्यो । तर, खोप नलगाई कसरी पढाउने ?'
त्यस्तै, तत्काल विद्यालय खोल्ने वातावरण नरहेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । उनले भने, 'फेरि संक्रमण बढ्न थालेको र नयाँ भेरिएन्ट भेटिन थालेको अवस्था छ । त्यसैले खोपको व्यवस्था नभई विद्यालय खोल्नु हुँदैन ।'
सबै क्षेत्र खुल्दा पठनपाठनको कार्य पनि गराउन हतार भइसकेको र त्यसो भन्दैमा लापर्बाही तरिकाले स्कुल खोलिहाल्न नहुने भण्डारीको भनाइ छ ।
उनका अनुसार पहिला उमेर पुगेका विद्यार्थी, शिक्षक दुवैलाई खोप उपलब्ध गराउनुपर्छ । र, स्वास्थ्य मापदण्ड पूरा गरेर पठनपाठन सञ्चालन गर्ने तयारी गर्नुपर्छ । अहिलेको परिस्थितिमा निर्धक्क भएर पठनपाठन सुरु गरिहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।
स्कुल/कलेज खोल्ने हतारो नगरौँ : जनस्वास्थ्यविद् केदार बराल
विद्यालय र कलेज खोल्न हतार गर्न नहुने जनस्वास्थ्यविद् केदार बरालको भनाइ छ । उनका अनुसार अहिले पनि सोचेजस्तो गरी संक्रमण घटेको छैन । समुदायमा गहिरोसँग भइरस फैलिएको उनी बताउँछन् । यो कुरालाई मध्यनजर गर्दै विस्तारै खोल्दै जानुपर्ने उनको भनाइ छ ।
‘सक्दाखेरी पहिला त सबैलाई खोपको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अनि मात्र भाइरस केही हदसम्म नियन्त्रण होला । नत्र फेरि फैलिने डर हुन्छ ।’ खोप लगाएकाहरूले पनि जनस्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्ने उनको सुझाव छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ १८:४०