नेकपा एमाले विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार बनाउन छलफल सुरू भएको छ । नयाँ सरकारमा मुख्यमन्त्री फेरिने छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसबीच दुई-दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको अवस्थामा प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो ।
अब बन्ने सरकारमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुने छ । जसपाका दुई जना सांसदले समेत आफूहरू आधिकारिक यादव पक्षमा रहेको स्पष्ट पारिसकेपछि उनीहरू पनि सत्ता साझेदार हुने छन् ।
सुदूरपश्चिम प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सरकार गठनका लागि छलफल भैरहेको बताए । ‘हामी केन्द्रको निर्णयको पर्खाइमा छौँ’, उनले भने,’ सम्भवत: छिट्टै नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।’
हाल प्रदेशमा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । केन्द्रको सहमति अनुसार उनले मुख्यमन्त्री पद छोड्ने तयारी भएको छ । सुदूरपश्चिममा नेकपा एमाले विभाजन नभएको अवस्थामा पनि माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद भए नयाँ सरकार बन्न सक्छ ।
माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।
सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ
जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् । प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी रानाले उनीहरूको साथ छाडेका हुन् ।
विगतमा महन्थ–राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य दुबैले उनीहरूको साथ छोडेका हुन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवै जनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् । केन्द्रीय कार्य समितिको प्रथम बैठकमा नगए पनि आफू आधिकारिक पक्षमा रहेको सांसद चौधरीले बताए । उनले अझैसम्म पार्टी विधिवत रूपमा नफुटेको भन्दै आफू जसपामै रहेको दाबी गरे । उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८ १६:०३